भ्रष्टाचारको चपेटामा देश सार्वजनिक


काठमाडौं ।

भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले भ्रष्टाचारको चपेटामा देश बोलको भ्रष्टाचार विरोधी गीत भिडियोसहित सार्वजनिक गरेका छन्। गीत राजधानीमा एक समारोहको आयोजना गर्दै सार्वजनिक गरिएको हो।

पूर्वमुख्य सचिव लीला गड्तौला र ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठले अभियन्ता पाठकको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए। गीतमा हेम–सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक रहेका पाठकको रचना तथा गायक–गायिका शिशिर योगी र कुन्ती मोक्तानको स्वर र बीबी अनुरागीको संगीत रहेको छ। सुदन केसीको निर्देशन रहेको गीतको भिडियोमा संस्थाका भ्रष्टाचारविरुद्धका अभिव्यक्ति दूत एवं हास्य कलाकार किरण केसी, विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू, आरके मानन्धरले अभिनय गरेका छन्।

कार्यक्रममा गीतकार पाठकले गीत सिर्जना र संस्थाको उदेश्य र महत्वमाथि प्रकाश पार्दै आफू नेपालमा रह“दा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचारविरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गरे।

फाउन्डेसनकी संरक्षक सरिता पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए। हेम–सरिता फाउण्डेशनले लामो समयदेखि भ्रष्टाचारविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ भने भ्रष्टाचारविरोधी अभियानकै लागि पाठक दम्पत्तिले अमेरिकामा फाउण्डेशन स्थापना गरेका छन्। सो फाउन्डेसनले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकार तथा कविहरुलाई पुरस्कृत गर्दै आएको छ।