७० प्रतिशत कर्मचारी खराब, असल ३० प्रतिशत सधैं नै थिचोमिचोमा

निजामती प्रशासन कोमामै गएको हो ?

3.95k
Shares

काठमाडौं ।

विभिन्न संक्रामक रोगले ग्रसित भइरहेको र जनताको काममा ध्यानै नदिने आरोप खेपिरहेको नेपालको निजामती प्रशासन (कर्मचारीतन्त्र) कोमामा पुग्न लागिरहेको विश्लेषण जनस्तरमा भइरहेको छ।

यसो त विश्वस्तरमा नै कर्मचारीतन्त्रका बढ्दोे अकर्मण्यताका कारण यसको विकल्पहरूको बारेमा पनि विभिन्न खाले बहसहरू नभएका होइनन्। ठ्याक्कै नेपालको निजामती प्रशासनमा पनि विश्वस्तरमा देखिएका जस्तै अकर्मण्यताहरू देखिन थालेको विज्ञहरूको तर्क छ। विभिन्न अध्ययनले निजामतीमा रहेकामध्ये ७० प्रतिशत कर्मचारी खराब प्रवृत्ति र कामचोर चरित्रका रहेको देखाएको छ । तिनै कामचोर र खराब प्रवृत्तिका कर्मचारीले नै यसलाई कोमामा पुर्‍याउन भूमिका खेलेको देखिन्छ।

उता, जनस्तरबाट समेत निजामती प्रशासन कोमामा पुग्न लागेको भन्दै सञ्जीवनी बुटी खुवाएर तङ्ग्य्राउनुपर्ने आवाज उठ्न थालेको छ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले समेत शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै जनस्तरबाट निजामती प्रशासन कोमामा पुग्न लागेको भन्ने गुनासाहरू आएको भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

सुशासनसम्बन्धी एक कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले कर्मचारीतन्त्रको अकर्मण्यताकै कारण निजामती प्रशासन कोमामा पुग्न लागेको घुमाउरो पाराले स्वीकार्दै भन्नुभयो– ‘अब नेपालको ब्युरोक्रेसी कोमामा नै गएको हो भनेर स्वीकार गर्ने हो भने पनि यसलाई जुनसुकै हालतमा कोमाबाट स्वस्थ बनाएर फर्काउनुपर्छ र हामी फर्काउँछौं ।’ मुख्य सचिव अर्यालले कोमामा गएर फर्किएका कैयौं मानिसहरू पछि राम्रो र स्वस्थ बनेको स्मरण गर्दै आफू सक्षम तथा योग्य राष्ट्रसेवक कर्मचारीको विशेष टिम बनाएर अघि बढ्ने र ब्युरोक्रेसीलाई जनप्रिय बनाउने दाबी गर्नुभयो । अब सबै राष्ट्रसेवक कर्मचारीले जनतालाई असन्तुष्टि हुने खालका कुनै पनि कार्य नगर्न उहाँले निर्देशन दिनुभयो ।

निजामती प्रशासनले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न नसक्दा जनस्तमा यसप्रति व्यापक असन्तुष्टि सिर्जना भइरहेको तथा कर्मचारी र जनताबीच ठूलो ग्याप सिर्जना भइरहेको भन्दै उहाँले भन्नुभयो– ‘सबै राष्ट्रसेवकले जनताको पक्षमा काम गर्दा कतैबाट कुनै समस्या भएमा त्यसको समाधान म गर्छु, मलाई भन्नुहोस् तर जनहितमा काम गर्न कसैसँग कहिल्यै नडराउनुहोस् ।’
मुख्य सचिव अर्यालले निजामती प्रशासनलाई सक्षम बनाउने दृढता व्यक्त गरिरहेको अवस्थामा नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिका रहेको यसअघिकै विभिन्न अध्ययनले देखाएको छ।

ती अध्ययनका अनुसार हाल रहेका ८५ हजार ५ सय निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारीमात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। नेपालको सरकारी सेवा प्रवाह र सुशासनमा गरिएका विभिन्न अध्ययनलाई आधार मान्दा ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थसिद्धीमा मात्रै रमाउने गरेको पाइएको हो । जसअनुसार जनहित उनीहरूको शब्दकोषमा पर्नै छोडेको छ । यिनै जनविरोधी ७० प्रतिशत कर्मचारीकै कारण ब्युरोक्रेसी संक्रामक बन्दै गएको र कोमामा जाने अवस्था आउन लागेको विज्ञहरूको दाबी छ ।

यहाँको निजामती प्रशासनमा देखिएका विभिन्न संक्रामक रोगहरूलाई ब्युरो प्याथोलोजिक्सका रूपमा लिइएको छ । ती संक्रामक रोगहरूमा नातावाद, कृपावाद, चाकडीवाद, फरियावाद, संकुचितता, सामन्तीपन, सेवक नभएर शासक प्रवृत्ति, दलवाद, ढिलोपन, काम पन्छाउने, जिम्मेवारी नलिने तर अर्काको टाउकोमा बजार्ने, भेदभाव गर्ने, निश्चित मनसाय राखी राय दिने, पदेन विद्वान्, सिर्जनशीलता देखिनसहने, उत्साह दिनेभन्दा दबाउनेलगायत रहेका छन्।

विभिन्न अध्ययनलाई आधार मान्दा नेपालमा विशेष गरी सात प्रकारका कर्मचारी रहेका छन् । जसअनुसार पहिलो प्रकारमा गफगाफ दिने, काम नगर्ने र गफले नै सबैलाई भ्रमित पार्ने कर्मचारी छन् । उनीहरूले आफ्नो जिम्मेवारी के हो भन्नेबारेमा समेत खासै जानकारी राख्दैनन् । दोस्रो प्रकारका कर्मचारीमा सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्नुभन्दा पनि आफ्नै स्वार्थपूर्तिमा रमाउने र आफ्नै काममा व्यस्त हुने कर्मचारी रहेका छन् । उनीहरूले सरकारी काममा खासै सरोकार र चासो दिँदैनन् ।

तेस्रो प्रकारमा कुनै काम नगर्ने ट्रेड युनियनमा लम्पट भएर अतिरिक्त आर्जन पनि गरिरहने, चौथो प्रकारमा सधैं आकर्षक स्थानमा मात्रै सरुवा तथा पदस्थापन भई घूस खाने र खुवाउने, पाँचौं प्रकारमा कुनै निर्णय नगर्ने कुरामात्रै धेरै गरिरहने तर काम भने नगर्ने प्रकारका कर्मचारी रहेका छन् ।

अध्ययन अनुसार छैटौं प्रकारमा भने ध्याउनै पढ्ने र पढाउने तथा जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिका कर्मचारी रहेका छन्। सातौं प्रकारमा भने सरकारले दिएको काम जिम्मेवारीपूर्वक बहन गर्ने र अरूभन्दा इमान्दार र कर्तव्यनिष्ठ प्रकृतिका रहेका छन्। अघिल्ला ६ प्रकारका कामचोर र भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत रहेको भए पनि उनीहरूको प्रकारअनुसार छुट्टाछुटट्टै प्रतिशत भने निक्र्यौल गर्न नसकिएको बताइएको छ ।

केही असल मनसायका प्रशासकहरूले निजामती सेवामा काम गर्दाको झन्डै ३०–३५ वर्षको अनुभव र भोग्नुपरेका यथार्थका आधारमा यस्तो अध्ययन र निष्कर्ष निकालिएको हो । सो निष्कर्षअनुसार ३० प्रतिशत कर्मचारी कामप्रति जिम्मेवार र इमानदार रहेको भए पनि उनीहरूमाथि नै बढी थिचोमिचो, शोषण र अत्याचार हुने गरेको बताइन्छ । अवसरबाट सबैभन्दा बढी विमुख उनीहरू नै हुने गरेका छन्।

‘निजामती प्रशासनमा जसले बढी इमानदारितापूर्वक काम गर्छ उहीमाथि बढी विभेद र थिचोमिचो छ’ –सरकारका एक बहालवाला सहसचिवले नेपाल समाचारपत्रसँग भने । सरकारी कोटाबाट विदेश जाने, विभिन्नखाले तालिमहरू लिने, क्षमता अभिवृद्धि, विदेशमा अध्ययन गर्न जानेहरू पनि बढी कामचोर प्रवृत्तिकै कर्मचारी छन् । ३० प्रतिशतमा रहेका इमानदारले ती सबै अवसर खासै नपाउने बताइएको छ ।

यस्तै, सरकारबाट दिइने पुरस्कारहरू पनि बढी चाटुकार र चाकडीमा लिप्त हुने कामचोर कर्मचारीले नै पाउने र इमानदारहरू प्रायः ‘बाइकट’ हुने गरेको अधिकारीहरूको भनाइ छ। ‘कामचोर सधैं चाकडी चाप्लुसीमा रमाउने र अतिरिक्त कमाइ गर्नेहरूकै बढी रजगज हुने गरेको छ’ – ती सहसचिवले भने। उनले निजामती प्रशासन सुधार हुन नसक्नुमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै उत्तिकै दोषी रहेको बताए।

प्रशासनविद्हरूका अनुसार नेपाली कर्मचारीतन्त्रमा दण्डहीनताको संस्कृति मौलाउँदो छ । जतिसुकै गल्ती र अनियमितता गरे पनि माथिल्लो तहबाट मातहतका कर्मचारीमाथि खासै कारबाही नहुने प्रवृत्ति व्याप्त छ । निजामती सेवा ऐन र नियमावलीमा सरकारले दिएको जिम्मेवारीअनुसार काम नगर्ने, असल आचरण देखाउन नसक्ने र अनियमितता गर्ने कर्मचारीमाथि विभिन्न प्रकारको कारबाहीको व्यवस्था भए पनि सो अनुसारको कारबाही खासै हुन सकेको छैन ।

मुख्य सचिव अर्यालले अब आम कर्मचारीले आत्मसमीक्षा गर्दै सच्चिएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । ‘ब्युरोक्रेसीमाथि ठूलो प्रश्न चिह्न खडा भइरहेको छ, जनता र हामीबीच ठूलो ग्याप भइरहेको छ, यो किन भयो भनेर सबैले आत्मसमीक्षा गर्दै जनहितलाई केन्द्रबिन्दुमा राखेर कार्यथलोमा खट्नु अहिलेको अहम् आवश्यकता हो’ –मुख्य सचिव अर्यालले भन्नुभयो।


यस्ता छन् सात प्रकारका कर्मचारी
१. गफगाफ दिने, काम नगर्ने र गफले नै सबैलाई भ्रमित पारी स्वार्थसिद्ध गर्ने
२.सरकारी कामभन्दा पनि आफ्नै काममा बढी व्यस्त हुने
३. आफैं पढ्ने र पढाउने मात्रै गर्ने, सरकारी कामै नगर्ने
४. ट्रेड युनियनमा आबद्ध भई कामचोर प्रवृत्ति अपनाउने र स्वार्थसिद्ध गर्ने
५.सधैं आकर्षक ठाउँमा सरुवा भइरहने र घूस खाने
६. नेताको घरदैलोमा चाहर्ने र अनुकूल ठाउँमा गएर कमाउने
७. इमानदारितापूर्वक काम गर्ने तर सधैं अपहेलित (३० प्रतिशत मात्रै)

आमकर्मचारीले आत्मसमीक्षा गर्दै सच्चिएर अघि बढ्नुको विकल्प छैन ब्युरोक्रेसीमाथि ठूलो प्रश्न चिह्न छ, जनता र हामीबीच ठूलो ग्याप भइरहेको छ, यो किन भयो भनेर सबैले आत्मसमीक्षा गर्दै जनहितलाई केन्द्रबिन्दुमा राखेर कार्यथलोमा खट्नु अहिलेको अहम् आवश्यकता हो । निजामती प्रशासन यदि कोमामै गएको मान्ने हो भने पनि हामी यसलाई स्वस्थ बनाएर फर्काउँछौं र जनहितमा लगाउँछौं, अब सक्षम र योग्य राष्ट्रसेवकको टिम बनाएर निजामती प्रशासनलाई जनताको हितमा समर्पित गराउँछौं ।
एक नारायण अर्याल
मुख्य सचिव, नेपाल सरकार