‘नियमविपरित कर्मचारी सरुवा गर्दा कारवाही भोग्नुपर्ला नी ’

प्रधानमन्त्री कार्यालयद्धारा सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र


काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै हरेक मन्त्रालय र निकायमा कर्मचारी सरुवा गर्दा दरवन्दि भित्रै रहेर गर्न र जथाभावी नगर्न सचेत पारेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कर्मचारी सरुवा गर्दा दरवन्दि भन्दा बढि सरुवा गरेको र सरुवा भएकालाई सम्वन्धित निकायमा पठाउन नसकेको भन्दै प्रधानमन्त्री कार्यालयले मन्त्रालयको जिम्मेवारी र क्षेत्राधिकार अनुसार काम गर्न समेत मन्त्रालयलाई भनेको छ ।

सामान्य प्रशासन मन्त्रालयले जथाभावी सरुवा गर्दा र खटाएका ठाउमा कर्मचारी पठाउन नसक्दा सिहदरबार भित्रै विभिन्न मन्त्रालयमा ढेड सय भन्दा बढि कर्मचारी बेकामे बन्दै आइरहेका छन् । सिहदरबार भित्रै ढेड सय कर्मचारी बेकामे बनेको पाइएपछि मुख्य सचिव एक नारायण अर्यालले त्यस्ता कर्मचारीलाई खोजी गर्दै तत्काल तोकिएको ठाउमा पठाउन सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिदै आउनुभएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई नै पत्र लेख्दै दरवन्दि भन्दा बढि कर्मचारी नखटाउन र तोकिएको निकायमा सरुवा भएकालाई सोही ठाउमा नै पठाउन भनेको हो । प्रधानमन्त्री कार्यालयले उता प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने तर केन्द्रमा नियम विपरित आवश्यक भन्दा धेरै कर्मचारी राख्नु गलत भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले स्थानीय तह र प्रदेशमा कर्मचारी रिक्त हुन नदिई तत्काल उचित व्यवस्थापन गर्न समेत ध्यानाकृष्ट गराएको छ ।

निजामती सेवा ऐन र नियमावलीमा कुनै पनि कर्मचारीलाई नियम विपरित काजमा खटाएमा सो कर्मचारीले खाइपाई आएको तलब काज खटाउने अधिकारीबाट असुल उपर गराउनुपर्ने प्रावधान छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान्यलाई लेखेको पत्रमा असुल उपर गर्ने प्रावधान रहेको भन्दै सचिवलाई गम्भीर ध्यानाकृष्ट गराइएको छ ।

साथै प्रधानमन्त्री कार्यालयले सामान्य प्रशासन मन्त्रालय सरकारको केन्द्रिय कर्मचारी निकाय (सिपिए) भएको हुनाले दरबन्दि बमोजिम कर्मचारी व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने भएकाले सो जिम्मेवारीलाई प्रभावकारी रुपमा बहन गर्न समेत ध्यानाकृष्ट गराइएको छ ।

प्रधामन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पारेको सचेत पत्रका मुख्य ५ बुँदा
–विभिन्न मन्त्रालय र निकायमा दरवन्दि भन्दा बढी कर्मचारी नखटाउ
–हचुवामा सरुवा गर्ने प्रवृत्ति बन्द गर
–कर्मचारी सरुवा गर्दा निजामती सेवा ऐन र नियमावली पालना गर
–केन्द्रका निकायमा बढी कर्मचारी खटाउने तर प्रदेश र स्थानीय तहमा भने रिक्त राख्ने काम नगर
–सिपिएको जिम्मेवारी कुशलतपुर्वक निर्वाह गर