पशुपाल र तरकारी खेतीबाट गाउँका विपन्नको अवस्था फेरिँदै

2.54k
Shares

उदयपुर ।

उदयपुरको ग्रामीण क्षेत्रका विपन्न परिवारको अवस्था विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको छ भने आर्थिक तथा सामाजिक रुपले पनि सबल बन्दै गएको पाइएको छ ।

पहिले वर्षभरी खान नपुग्ने परिवार अहिले खान पुग्ने भएका छन् , आर्थिक रुपले र सामाजिक रुपले पनि सुधार भएको छ भने संस्थागत रुपमा भएको सामूहिक सहयोग र लक्षित वर्गका रुपमा स्थानीय जनताको श्रमले नै यो सफलता प्राप्त भएको हो । 

उदयपुरको बेलका नगरपालिका वडा नं ५ को घुमाउने चौरी गाउँमा सामूहिक रुपमा पशुपालन, तरकारी खेती करेसाबारी तथा गोठ सुधार कार्यक्रम हुरण्डेकको साझेदारी संस्था वल्र्ड नेवर्सको सहयोगमा एकीकृत विकास कार्यक्रम संचालन गरेपछि स्थानीय विपन्न परिवारको अवस्थामा सुधार आएको वल्र्ड नेवर्सकी कार्यक्रम संयोजक विनु सुवेदीले बताइन ।

स्थानीय विपन्न परिवारकी महिला कृषक समूहकी अध्यक्ष नर्वदा खवासले संस्थाको समूहमा आबद्ध भएपछि धेरै कुरामा सुधार भएको र खास गरी करेसाबारी, गोठ सुधार कार्यक्रम, पशुपालन व्यवसाय तथा बचत तथा अन्य सहकारीका कार्यक्रम संचालन गर्न थालेपछि सामाजिक आर्थिक सुधार हुन थालेको बताइन ।
ग्रामीण क्षेत्रमा तरकारी खेती गर्दा अर्ग्यानिक उत्पादनलाई बढी ध्यान दिने,बालबालिका , ज्येष्ठ नागरिकको र समाजका प्रत्येक वर्गको स्वास्थ्यको हितमा ध्यान दिएर तरकारी बाली तथा अन्य बालीमा विषादी रासायनिक पदार्थको प्रयोग नगरी अर्ग्यानिक मल तथा विषादी प्रयोग गरेर उत्पादन बढाएका कारण सामाजिक तथा आर्थिक सुधार हुँदै गएको खवासले बताइन् ।

सोही वडाकी लालकुमारी बरुवाल पनि समूहमा आबद्ध भएर पशुपालन तथा तरकारी खेतीमा लागेकी छिन । उनले आफूले पालेका गाई भैसीकालागि आवश्यक पर्ने घाँस आफ्नै घरबारीमा घरवरपर नै लगाएकी छिन । उनलाई घाँस काट्न बाहिर जान पर्दैन । उनी भन्छिन् — बारीमा मकै घाँस, मेण्डुला लगायतका विभिन्न जातका घाँस लगाएकोले गाई, भैसी तथा खसी,बाख्रालाई घाँस काट्न बाहिर जान पर्दैन । समयको बचत र आफ्नै बारीमा सबै प्रकारको घाँस उत्पादन हुने भएकोले पशुपालनमा सहज भएको र तरकारी खेती तथा बाख्रा खसी पालनबाट समूहमा आबद्ध भएपछि राम्रै फाइदा भएको छ । यस बाहेक फलफूल केरा, कागती, आँप, कटहर, भुइकटहर, केरा लगायतका पलmफूल बिक्रीबाट वार्षिक ३ लाखसम्म आम्दानी हुने गरेको बताइन ।

सोही वडाका अति विपन्न परिवारका रेखा परियार, सिर्जना पाण्डे, मिरा खत्री लगायतकाको अवस्था पहिले अत्यन्त दयनीय थियो । खेतबारीको उत्पादनले खान पुग्दैन थियो । तर, अहिले समूहमा संलग्न भएपछि संस्थाको नीति, सिद्धान्त अनुसार नियम कानुनको परिधिमा रहेर काम गर्न थालेको र खेतीपाती तथा करेसाबारी, तरकारी खेती, पशुपालन, गोठसुधार कार्यक्रम, बचत कार्यक्रममा सहभागी भएपछि आर्थिक तथा सामाजिक अवस्थामा सुधार आएको छ । तरकारी बिक्री गर्ने, पशुपालनबाट दूध, दही घिउ कुराउनी आदि बिक्री गर्ने, खसी बोका बिक्री गर्ने, उत्पादित अन्य फलफूल तथा बाली बिक्री गरेर आम्दानी गरेको पाइएको छ । सो आम्दानीले छोराछोरी पढाउने, बिरामी भएका बेलामा उपचार गर्ने तथा घरायसी अन्य आर्थिक समस्याहरु समाधान गर्दे आएका छन् ।

हुरण्डेकका अध्यक्ष शंकर बहादुर थापाका अनुसार संस्थागत रुपमा भएका यस्ता कार्यक्रमले राज्यलाई केही मात्रामा भएपनि विकास तथा समृद्धिको कार्यक्रममा सहयोग पुगेको छ भने खासगरी यो सबै लगानी समाजमा रहेका महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपले लगानी हुने गरेको छ । 

समाजमा संस्थागत रुपमा भएका यस्ता खाले सहयोग बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पोषणमा सहयोग पुग्ने भएकोले पनि र ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारको आर्थिक सामाजिक रुपान्तरणमा गरिने सहयोगले आर्थिक, सामाजिक समृद्धि र बालबालिका, महिला ज्येष्ठ नागरिकको क्षेत्रमा पनि ठूलो सहयोग हुने अध्यक्ष थापाको दावी छ ।