गृह प्रवक्तामा ऋषिराम तिवारी , कारागार महानिर्देशकमा भट्टराई


काठमाडौं ।

गृह मन्त्रालयले मन्त्रालयको शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिएको छ । तिवारी गृहकै अनुभवी क्याडर हुन् । उनले रुपन्देही लगायत आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् भने अध्यागमन विभागका महानिर्देशक समेत भएका थिए ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै तिवारीलाई शान्ति सुरक्षा महाशाखा र प्रवक्ताको जिम्मेवारी दिएका हुन् । गृह मन्त्रालयले हाल गृह प्रवक्ता रहेका नारायण प्रसाद भट्टराईलाई कारागार व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

यसैगरी मन्त्रालयको नीति तथा योजना महाशाखाको जिम्मेवारी डा टोकराज पाण्डेलाई दिइएको छ । गृह मन्त्रालयले शुक्रबार कार्य अवधि पुगेका केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवाको गृहकार्य गरेपनि मन्त्री तथा सचिवको कार्यव्यस्तताका कारण अन्तिम निर्णय हुन नसकेको बताइएको छ ।

करिब करिब एक दर्जन बढि सिडिओको सरुवा हुने प्रस्ताव तयार भइसकेको भएपनि अन्य केहि सिडिआकोे सरुवा थप्नुपर्ने भएकाले निर्णय हुन ढिलाई भएको गृह स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सिडिओको न्यूनतम सेवा अवधि पुगेका ललितपुर, स्याङजा, रामेछाप, दोलखा, रुपन्देही, दाङ, पर्सा, बारा, कपिलवस्तु, डोटी, लगायतका जिल्लामा नयाँ सिडिओ पठाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ । थप केहि जिल्लामा समेत सिडिओ हेरफेर हुन सक्ने बताइएको छ ।