वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सुचारू


काठमाडाैं ।

वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ। शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा। केडी जोशी जलन उपचार केन्द्रको उद्घाटन गरे ।

यसअघि विवसं २०७२ सालको भूकम्प पछि वीर अस्पतालको बर्न वार्ड बन्द रहेको थियो । नेपालमै जलनको उपचारको सुरूवात गर्ने वरिष्ठ प्लाष्टिक सर्जन डा। केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले जलन उपचार केन्द्रको नामकरण गरेको हो ।

आजबाट सञ्चालनमा आएको जलन उपचार केन्द्रका लागि तीनवटा अप्रेसन थिएटरसहित पाँच आइसियू बेड र १० वटा जनरल बेड सहित कुल १५ बेड रहेको छ । अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ भन्दै जलेका बिरामीलाई अन्यत्र रिफर गर्नु नपर्ने गरी सेवा दिने बताए ।

सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०र८१ मा बजेट विनियोजन गरेको थियो। दुई करोड ८० लाख हाराहारीमा जलन उपचार केन्द्रको निर्माण गरिएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा रोकिएको जलन उपचार वार्डलाई सबै सुविधा सहितको उपचार केन्द्रको रुपमा विकास गरेको बताए । ‘यहाँ अब जलन उपचारका लागि शल्यक्रिया मात्रै होइन, फिजियोथेरापी, रिहाव तथा बिरामीको लागि मनोपरामर्शका सुविधा समेत राखिएको छ,’ उनले भने ।

डा. बस्नेतले वीर अस्पताल सबै किसिमको स्वास्थ्य समस्याहरुको उत्कृष्ठ ढंगले उपचार दिने थलोको रुपमा विकास हुने क्रमलाई आजबाट सञ्चालनमा आएको सेवाले थप मद्धत पुगेको बताए । हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ ।

अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ। उद्घाटनपछि बिरामीको उपचारका लागि २४ सै घन्टा जलन उपचार केन्द्र खुला भएको छ।

जलनका बिरामीलाई एक लाख रुपैयाँ सहुलियत दिने सरकारको तयारी

शुक्रबार वीर अस्पतालको जलन केन्द्र उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका गम्भीर घाईते बिरामीको उपचारमा १ लाख रुपैया दिने तयारीमा सरकार अघि बढेको बताएका छन् । ‘अहिलेसम्म हामीले ८ वटा कडा रोगका लागि उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेका थियौँ । अब त्यसमा जलन उपचार पनि थपेर ९ लाख रुपैयाँ पु¥याउँदै छौँ । यस सम्वन्धी प्रस्ताव स्वास्थ्यले अघि बढाईसकेको छ,’ मन्त्री पौडेलले भने ।

त्यसो त अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् ।निर्देशक डा पौडेलले १ लाख रुपैयाँ सहुलियत पाए, बिरामीका लागि ठूलो राहत हुने पनि बताए ।
उदघाटनको अवसरमा मन्त्री पौडेलसंगै जलनमा परेकी सांसद विन्दवासिनी कंसाकार, डा केडी जोशी, त्रिवि शिक्षण अस्पतालका प्राडा ईश्वर लोहनी लगायतको उपस्थिति थियो ।