‘घुस्याहा’ कार्यालयमा ‘घुस्याहा’ कर्मचारीकै हैकम

घुस खान पाइने कार्यालयमा दैनिक ३० हजार सम्म अतिरिक्त  आम्दानी !

2.91k
Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अन्तरमन्त्रलयगत सरुवा माग्न आउनेहरू मध्य अधिकांश कर्मचारीले  अहिले पनि घुस खान पाइने निकायमा जानकै लागि  सोर्सफोर्स लगाउने र मरिहत्ते गर्ने  गरेको पाइएको छ । 

ती कर्मचारीले आर्थिक तथा अन्य  प्रलोभनमा पारेर उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वबाटै सोर्सफोर्स लगाई  घुस्याहा कार्यालयमा जाने गरेको मन्त्रालयकै केही कर्मचारीको भनाई छ ।  

विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम लामो समय देखि जारी नै रहँदै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं अन्य केही विकासे मन्त्रालयमा घुस खाने कर्मचारीहरूको सरुवा पत्तै नपाई गोप्य सेटिङका आधारमा समेत गर्ने गरिएको स्रोतको दाबी छ । अझै केही समय अघि सम्म त सरुवामा व्रिफकेशको समेत चर्चा चल्ने गर्थ्यो । अहिले व्रिफकेशको चर्चा कम भएपनि केही लेनदेन भने  हुने गरेको बताइएको छ । 

जनस्तरमा केही सरकारी कार्यालयहरू  ‘घुस्याहा ’कार्यालयको रूपमा चिनिन्छन् । जहाँ घुस नदिई जनताका कुनै काम हुँदैन् । ती कार्यालयमा जान त्यस्तै प्रकृतिका घुस्याहा कर्मचारीहरू मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकृतहरुको अनुभव छ ।‘ जो  सेटिङ मिलाएर मजाले घुस खान सक्छ , उनीहरू नै प्राय ती निकायमा जाने आउने र घुमिरहने गर्छन् ।’मन्त्रालयका एक अधिकृतले भने । 

मन्त्रालयका अधिकारीहरुका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय,  श्रम कार्यालय, राजश्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय , सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिष्टार कार्यालयहरू, भौतिक तथा पूर्वाधार मन्त्रालय अन्र्तगतका कार्यालयहरू, केही जिल्ला प्रशासन कार्यालयहरू  छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार  मनग्ये रूपमा अतिरिक्त कमाई हुने र कमिसन पनि राम्रै हाता पर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुने क्रममा कमी आएको छैन । त्यस्ता कर्मचारीहरू नेता देखि उच्च प्रशासक सम्ममा नै सेटिङ मिलाउन समेत खप्पिस रहेको अधिकारीहरूको दाबी छ । यस कार्यमा कर्मचारी र कर्मचारीका केही नेताहरू समेत संलग्न हुने गरेको स्रोतको भनाई छ ।  स्रोतका अनुसार आसेपासे तथा केही उच्च पदस्थ प्रसासकहरुको नाम भजाएर बिचौलिया बनेकाहरू सरुवाको सुची लिएर सिंहदरबार धाउने गरेका छन् । 

राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न समयमा गरेको अनौपचारिक अध्ययनले  घुस्याहा र आकर्षक  कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ। यातायात कार्यालयहरू पनि निकै आकर्षक कार्यालयको रूपमा रहे पनि हाल ती कार्यालयहरू प्रदेश मातहत रहेकाले यातायात कार्यालयमा सरुवा माग्नेहरूको भीड हिजो आज प्रदेश तर्फ सरेको छ । 

आकर्षक र घुस्याहा मानिएका सरकारी कार्यालयमा मनग्यै रूपमा आर्थिक कमाई हुने गरेको छ । कतिपय कर्मचारीले त दैनिक रूपमा नै १० देखि ३० हजार सम्म अतिरिक्त कमाई गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकै अध्ययनले  देखाएको छ।  त्यहाँ कार्यरत कर्मचारीहरूको उठबस शक्तिकेन्द्रहरू सँग समेत हुने गरेको छ । उनीहरूमा पैसाको प्रयोग गरी उच्च तहमा पहुँच राख्न सक्ने खुबी विकास हुने गरेको सतर्कता केन्द्रका अधिकारीहरूको भनाई छ ।