व्यवसायीले फुकाए समस्याका पोका


हेटौँडा  ।

 मकवानपुर उद्योग वाणिज्य संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुलाई एकै ठाउँमा राखेर ससम्मान आफ्ना समस्याका पोका फुकाएको छ । उनीहरुलाई बुधवार हेटौंडामा सम्मान गरिएको हो ।

कार्यक्रममा संघ अध्यक्ष कृष्णकुमार गुप्ताले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मानपत्रसहित उद्योगी-व्यवसायी र स्थानीयका माग प्रस्तुत गरेका थिए । उनले मयुरधाप विस्तारित औद्योगिक क्षेत्रलाई प्रदेश सरकारमातहत ल्याइ प्रदेशका उद्योग वाणिज्य संघहरुसँग सहकार्य गरी पीपीपी अवधारणामा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने, क्रसरजन्य उद्योग कच्चापदार्थ अभाव तथा विभिन्न बहानामा विभिन्न निकायबाट बन्द हुने र खुल्ने अनिश्चितता अन्त्य गर्दै प्रस्ट मापदण्ड तयार गरी स्थायीरुपमा सुचारु गर्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

हेटौंडाको राप्ती खोलाबाट पश्चिमतर्फ अवस्थित उद्योगहरु सञ्चालनमा विद्युत् आपूर्तिका कारण बाधा परेको हुँदा उक्त क्षेत्रमामा अलग औद्योगिक फिडर व्यवस्था, कुनै प्रकृतिका व्यवसाय सुरु गर्नुपूर्व र नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस पुनः अनिवार्य गर्ने व्यवस्था, प्रदेश राजधानी हेटौंडामा नापतौल कार्यालय स्थापना, स्वदेशी उत्पादनलाई प्राथमिकतासाथ प्रयोग गर्ने कार्यक्रम ल्याइ लघु, घरेलु तथा साना उद्योग संरक्षण तथा उत्थानका लागि छुट्टै नीति बनाइ लागु, प्राविधिक क्षेत्र (फर्निचर, मुद्रण, सुनचाँदी, सिलाइकटाइलगायत) व्यवसायमा देखापरेका दक्ष जनशक्ति अभाव पूरा गर्न आवश्यक तालिम सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघमार्फत प्रदान गर्ने व्यवस्था, कृषिमा आत्मनिर्भर हुनसक्ने गरी स्पष्ट नीति बनाइ सम्पूर्णरुपमा सहजीकरण तथा सुविधाको प्रत्याभूति गरिनुपर्ने संघको माग छ ।

‘प्रभावकारी बजार व्यवस्थापनका लागि अटोभिलेज, तरकारी बजार, कृषि हाटबजार, स्त्र्mयाप भिलेज तथा अन्य सम्पूर्ण साना उद्योग तथा व्यवसायको निश्चित क्षेत्र निर्धारण गरी व्यवस्थापन गर्दै निजी क्षेत्रसँग पीपीपी अवधारणामा साझेदारी, व्यावसायिक प्रतिष्ठानलाई आवश्यक दक्ष जनशक्ति निर्माणका लागि स्थलगत तालिम सञ्चालन जरुरी छ,’ उनले भने–प्रदेश सरकारमार्फत औद्योगिक वातावरण प्रोत्साहित गर्ने उद्धेश्यले उत्पादनमूलक उद्योग प्रोत्साहित गर्न उद्योग स्थापनाको पहिलो ५ वर्षसम्म करछुट व्यवस्था, सरकार र राष्ट्रबैंकले आर्थिक मन्दीको प्रभावलाई मध्यनजर गरी विभिन्न सहुलियत व्यवस्था गर्दै गर्दा हेटौँडा उपमहानगरपालिकाले भने उद्योगी-व्यवसायीलाई १ सय ५० प्रतिशतसम्म र केही क्षेत्रमा अझ थप करका दरबृद्धि गरेकाले अर्थतन्त्रमा मन्दीले पारेको संकटबारे उपमहानगर पूर्ण बेखबर देखियो ।

पहिला अर्थतन्त्र सुदृढ बनाउन योगदान गरी उद्योगी-व्यवसायीलाई कर तिर्न सक्षम बनाएर कर उठाउने सुझाव हेटौँडा उपमहानगरलाई दिन उनले बागमती प्रदेश सरकारसमक्ष अनुरोध गरे । उनले सरकारी मर्यादाक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरुको मर्यादाक्रम निर्धारण, हेटौंडामा उद्योग वाणिज्य संघ, पालिका र प्रदेश सरकारबीच पीपीपी अवधारणामा व्यावसायिक मल्टिकम्प्लेक्स निर्माण, हेटौंडाको मुख्य बजारलाई चार राजमार्गले भेट्ने भएकाले यातायात चाप बढ्ने देखिँदा राजमार्गको बीचबाट दायाँबायाँ २५ मिटरभित्र अवस्थित निजी-घरजमिन राज्यले कानुन बमोजिममुआब्जा र क्षतिपूर्ति दिएरमात्र सडक विस्तार गर्न संघको आग्रह छ ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लामाले उद्योग-व्यवसाय क्षेत्र संरक्षण गर्नुपर्ने भन्दै रोजगारी सिर्जना गर्न उद्योग महत्वपूर्ण रहने, लगानीकर्तालाई सुरक्षा र सुबिधा महसुस गराइ लगानी बढाउनुपर्ने भएकाले उद्योग दर्ता तथा नियमहरुमा सरकारले सहजीकरण गर्ने बताए ।

कागजमा मात्र उद्योग हुने अवस्था निरुत्साहित गर्दै उद्योग क्षेत्रका झमेलाहरु न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ । ‘उद्योग चल्दामात्र रोजगारी रहने र सरकार करबाट चल्ने भएकाले लगानी भएका उद्योगको संरक्षण गर्नुपर्छ,’ उहाँले उद्योग क्षेत्रले योगदान गरेको करको दश प्रतिशत उद्योग क्षेत्रकै विकासमा राज्यले लगानी गर्नुपर्ने धारणा राखे ।

‘हामीले के गर्दा रोजगारी बढ्छ भनेर पहिला निक्र्यौल गर्नु जरुरी छ । उद्योगीका लागि लगानीमैत्री कानुन निर्माण गर्नु हालको आवश्यकता हो,’ उनले उद्योग दर्ता गर्ने समयबाट उद्योगीले दुःख पाउने गरेको गुनासो गरे ।

अध्यक्ष गुप्ताले मुख्यमन्त्री लामा, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्का, स्वास्थ्य मन्त्री किरण थापामगर, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङलगायतलाई स्वागत र सम्मान गरे ।