नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ- प्रधानमन्त्री ओली


काठमाडौं ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्धनले पारा ओलम्पिकमा कांस्य पदक जित्नु एक कोशेढुङ्गा साबित भएको बताए । 

पलेसालाई दिइने  ६५ लाख पुरस्कार कर नकटाई छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट गरे ।

“मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ । पुराना रेकर्डहरु तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।” परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस्  भन्न चाहन्छु ।”

प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।