काठमाडौँका नयाँ सिडिओ आचार्यद्वारा पदबहाली 

सेवा प्रवाह, सुशासन र शान्ति सुरक्षा कायम गर्नुपर्नेमा विशेष जोड 


काठमाडौँ। 

काठमाडौँका नवनियुक्त प्रमुख जिल्ला अधिकारी(सिडिओ) जयनारायण आचार्यले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर पदबहाली गर्दै कार्य प्रारम्भ गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी आचार्यलाई निवर्तमान प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्वागत गर्दै वार्षिक कार्यविवरण समेटिएको प्रतिवेदन तथा हया्ण्ड ओभर नोट समेत  हस्तान्तरण गरे  । गृह मन्त्रालयले मंगलबार मात्रै आचार्यलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको थियो भने बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरेको थियो । कार्यक्रममा निवर्तमान प्रमुख जिल्ला अधिकारी बस्नेतलाई बिदाइ समेत गरियो । 

 पदबहालीका क्रममा बोल्दै नवनियुक्त सिडिओ आचार्यले  जिल्लाको शान्ति सुरक्षा सुदृढ राख्ने, सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्ने लगायतका विषय आफ्नो  उच्च प्राथमिकतामा रहेको बताए । उनले टिमवर्क बलियो बनाएर अगाडि बढ्न सके उपलब्धि हासिल हुन सक्ने बताउँदै विगतमा सुरु भएका असल कार्यहरुलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइने बताए । उनले काठमाडौँ निकै संवेदनशील जिल्ला भएकाले सबै कर्मचारीहरु विशेष सतर्क हुँदै सेवामैत्रीपूर्ण भावनाका साथ कार्य थलोमा खट्नुपर्ने आवश्यकता औँल्याए ।

 कार्यक्रममा निवर्तमान प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौँमा रहँदा  आफूले इमानदारीपूर्वकता काम गरेको र सबैको सहयोगले उपलब्धि हासिल गर्न सकेको बताए । बस्नेतले गत १४ महिनाको अवधिमा आफूले काठमाडौँको सेवा प्रवाहको अवस्थालाई नयाँ उचाइमा पु¥याउन सफल भएको बताए । बस्नेतको पालामा काठमाडौँमा सेवा प्रवाहको अवस्था राम्रो रहेको थियो । उहाँले शान्ति सुरक्षा मजबुत बनाउन समेत आफू सफल भएको बताए ।