उपसभामुख प्रकरणमा वेट एण्ड वाचको सिचुयसनमा छौं- रास्वपा


काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । 

बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले भने- ‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ । उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ । त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ। गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’

उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए ।  झाले आफूहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउँदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए ।