विभिन्न रिक्त गाउँपालिकामा १ सय प्रमुख प्रशासकीय  अधिकृत आज पठाइँदै

सबै नयाँ शाखा अधिकृतलाई स्थानीय तहमा पठाउने नीति 

8.27k
Shares

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरूमा आज बुधवार सय जना शाखा अधिकृतहरुलाई सरुवा गरेर पठाउँदै छ ।

सामान्यले बुधवार एकै  पटक सय शाखा अधिकृतको सरुवा गर्दै रिक्त रहेका ती गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटाउने भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विभिन्न  गाउँपालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति गर्ने गरी १ सय जना शाखा अधिकृतको सरुवा टिप्पणी तयार भइसकेको छ । सो सरुवा टिप्पणीमा मन्त्रालयका सचिव भरतमणि सुवेदीले आज सदर गरेसँगै १ सय रिक्त गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउने छन् । ती गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका थिए भने कैयौँ गाउँपालिकाहरू निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका थिए ।

देशभरमा १२३ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रिक्त थिए । सो मध्ये १ सय गाउँपालिकाले बुधवार नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन लागेका हुन् । अझै २३ गाउँपालिका भने रिक्त अवस्थामा नै हुनेछन् ।

सामान्यले स्टाफ कलेजको तालिम सकेर आएका नयाँ शाखा अधिकृतलाई एकै पटक स्थानीय तहमा पठाउने नीति अख्तियार गर्न लागेको हो । यसलाई सकारात्मक रूपमा हेरिएको छ । मन्त्रालयले सरुवा गरेसँगै तत्काल पत्र दिएर उनीहरूलाई गाउँपालिकामा हाजिर गराउने जनाएको छ । सयौँ  स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा सेवा प्रवाह कमजोर भएको भन्दै जनस्तरबाट व्यापक गुनासाहरू आइरहेका थिए । 

 गाउँपालिकामा एकै पटक १ सय शाखा अधिकृत खटाउने तयारी गरेको मन्त्रालयले रिक्त नगरपालिकामा भने उपसचिवहरू खटाउन सकेको छैन । हाल देशभरमा १२० वटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । मन्त्रालयमा ३० जना उपसचिवहरू जगेडामा रहे पनि उनीहरूलाई नगरपालिकामा खटाउन नसक्दा ३० जना उपसचिवहरू मन्त्रालय आउने र हाजिर गरेर फर्कने गरेका छन् ।

केही आकर्षक मानिएका निकायमा  प्रमुख प्रशासकीय अधिकृत खटाउँदा भने  ठुलै सोर्सफोर्स चल्ने गर्छ । आकर्षक मानिएका स्थानीय तहमा जान केही  प्रमुख प्रशासकीय अधिकृतहरू शक्तिकेन्द्रकहाँ धाउने समेत गरेको बताइएको छ । यद्यपि गाउँपालिकामा जान भने यस किसिमको दौडधुप हुँदैन् । कतिपय शाखा अधिकृतहरू गाउँपालिकामा जान चाहँदैनन् । त्यसमा पनि तराईका गाउँपालिकामा काम गर्न असहज हुने भन्दै खासै आकर्षण हुँदैन् । 

  सामान्यले बुधवार सय शाखा अधिकृतलाई गाउँपालिकामा पठाएसँगै कोसी,मधेस , वाग्मती र गण्डकी प्रदेशका सबै गाउँपालिकाहरूले प्रमुख   प्रशासकीय अधिकृत पाउने भएका हुन् । कर्णाली र सुदूर पश्चिम प्रदेशका केही गाउँपालिका भने रिक्त नै हुनेछन्  ।