कर्णालीमा ललितकला


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा कर्णालीमा ललितकला छलफल कार्यक्रम भएको छ।

कर्णाली प्रदेशबाट काठमाडौं उपत्यकामा रही कला कर्म गरिरहेका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको सहभागितामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोगका लागि पहल गर्ने बताए।

‘प्रदेशका विभिन्न कला, संस्कृति, भाषा, साहित्य तथा ललितकला लोप हुँदै गएको अहिलेको परिवेशमा यसको संरक्षण र संवर्धन गर्नु हामी सबै लाग्नु आवश्यक छ। यिनको अनुसन्धान गर्न सकेमा हाम्रो देशलाई ठुलो योगदान पुग्ने छ,’ मन्त्री ठकुरीले भने। प्रतिनिधिसभा सदस्य विनिता कठायतले कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण जे जस्तो भए पनि प्रतिष्ठानको अग्रसरतामा भएको कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताए।

प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ) ले कर्णाली प्रदेशमा विकास भएका ललितकलालाई केन्द्र हुँदै विश्वस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए। उपकुलपति लालकाजी लामाले कर्णालीमा रहेका रैथाने कला, ज्ञान, सिपलाई समाजसँग जोडेर लाने प्रयत्न गरेको र समाजलाई प्राज्ञिक हिसाबले अगाडि बढाउन ललितकला सधैँ तयार रहेको बताए।


प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानको विविध विषयमा चर्चा गरे। प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले प्रदेशका परम्परादेखिका कला, संस्कृतिलाई खोज, अनुसन्धान गरी स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ललितकलाको काम अघि बढाउन सके कर्णालीको थुप्रै विषय बाहिर आउने बताए।