ह्यारिसबर्गबाट सकियो नेपथ्यको अमेरिका कन्सर्ट

1.03k
Shares

लोकप्रिय सागीतिक समूह नेपथ्य ब्यान्डले पेन्सिलभानियाको राजधानी ह्यारिसबर्गमा कन्सर्ट गरेसँगै झन्डै डेढ महिना लामो अमेरिका कन्सर्ट सम्पन्न गरेको छ।

पहिलोपटक ह्यारिसबर्ग सहरमा कन्सर्ट गरेको नेपथ्य ब्यान्ड झन्डै एक सय वर्षको इतिहास बोकेको द फोरम हलमा प्रस्तुत भएको थियो। यसपालिको अमेरिका कन्सर्टअन्र्तगतको अन्तिम कन्सर्टस्वरुप उक्त शहरमा प्रस्तुत हुने क्रममा नेपथ्यको आँगनैभरि भर्खरै रेकर्ड भएको पचासै वर्षमा जुग कहाँ पुग्यो नि सम्मजस्ता सबै गीतमा दर्शकले नाचेर र गाएर साथ दिएका थिए।

दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हँुदै गएको देखिएको नेपथ्यले जनाएको छ। ‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ,’ कन्सर्टमा भोकलिस्ट अमृत गुरुङको आग्रह थियो, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है।’

ब्यान्डले रातो र चन्द्रसुर्य गीतमार्फत नेपालको गौरवगाथादेखि सामाजिक चेतका सन्देशसहित सार्वकालिक हिट लोकरक गीत कन्सर्टमा समेटेको थियो। कार्यक्रमभरि पटकपटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहो¥याए। कन्सर्टका क्रममा उनले पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि सुनाए। पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्वीरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो।

‘गत १० वर्षमा हामीले कैयौँ नेपाली कार्यक्रम आयोजना र संयोजन गर्यौं तर नेपथ्यको यो टुर, निःशन्देह हालसम्मकै अब्बल अनुभव रह्यो’ नेपथ्यको अमेरिका यात्राको केन्द्रीय संयोजन गर्ने मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने,‘सबै सहरमा कायम रहेको उत्कृष्ट प्रस्तुति र हलको क्षमताअनुसारको दर्शकको उल्लेख्य उपस्थितिले हामी यहाँका आयोजकको साख र मनोबल बढाएको छ।’

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गीतारमा सुबिन शाक्य, गीतारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। कोलोराडोको डेनभरबाट शुरू भएको नेपथ्यको अमेरिका कन्सर्ट क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्ग पुगेर समापन भएको थियो।