दिगो पर्यटन प्रवद्र्धन गर्न फुटबल

376
Shares

मनाङ ।

मनाङमा आगामी असोज ३ देखि ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । प्रतियोगिता हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना हुन लागेको हो ।

जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउन्डेसनको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना हुनेछ । साथै, चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्यमा विभिन्न संघ संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता हुनेछन् ।

नमस्ते मनाङको संयोजनमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । मैत्रीपूर्ण फुटबल खेलमार्फत दिगो पर्यटन, खेल पर्यटन तथा चलचित्र पर्यटन प्रवद्र्धनको अपेक्षा गरिएको उनले बताए ।

हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्वपूर्ण भुमिका खेल्ने मात्र नभई हिउँ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापनगर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

त्यस्तै बायोकोस नेपालका संस्थापक तथा संरक्षणविद् डा. पारसविक्रम सिंहले संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको स्मरण गर्दै यस वर्ष पनि मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको बताए ।

समुद्री सतहबाट २६०० मिटर उचाइमा रहेको तिमाङ र ३२०० मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटी टिम हिमालयन स्नो लिवपर्ड र स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याकबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउन्डेसनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टिमका जर्सी पनि सार्वजनिक गरिएको थियो ।