आर्मीले गोलको वर्षा गर्‍याे


काठमाडौं ।

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जारी एन्फा महिला लिगमा गोलको वर्षा गरेको छ । मंगलबार एन्फा मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशको पोस्टमा १४ गोल प्रहार गरेका हुन् । सुदूरले मात्र १ गोल गर्न सकेको थियो ।
तीन खेलमा दोस्रो जितसँगै ६ अंकसहित आर्मी चौथो स्थानमा उक्लिएको छ ।

आर्मीले अघिल्लो खेलमा नेपाल एपीएफ क्लबसँग २–१ ले पराजित भएको थियो । तर, पहिलो खेलमा भने वालिङ नगरपालिकालाई ४–० ले हराएको थियो । सृुदूरपश्चिमले भने लगातार तीन खेलमा हार बेहोर्दै अंक जोड्न सकेको छैन । यसअघि पनि सुदूरपश्चिम अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग ९–० ले हारेको थियो । पहिलो खेलमा भने वागमती युथ क्लबसँग ५–१ को हार बेहोरेको थियो ।

यो नतिजाले के देखाउँछ भने प्रतियोगितामा विभागिय टिमहरु र अन्य टिमहरुबीच स्तर निकै फरक छ । विभागिय टिमसँग खेल्दा प्रदेशस्तरीय टिमले निकै लज्जास्पद पराजय बेहोर्नु परेको छ । सुदूरपश्चिमले तीन खेलमा २८ गोल बेहोरिसकेको छ भने विपक्षीको पोस्टमा २ गोल मात्रै प्रहार गर्न सकेको छ । एक गोल त आत्मघातीको थियो ।

आर्मीको जितमा दीपा शाही एक्लीले ५ गोल प्रहार गरिन् । यस्तै, अनिता लम्जेलले २ गोल गर्दा विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोलको योगदान दिए । एक गोल आत्मघातीको थियो ।
आर्मीको १४ गोल /पहिलो हाफमा ८–० को अग्रता
छैटौं मिनेटमा विमला चौधरी १–०
१५औं मिनेटमा हिमा चौधरी २–०
२१ औं मिनेटमा शान्ति विकको आत्मघाती गोल ३–०
२४ औं मिनेटमा दीपा शाही ४–०
२५ औं मिनेटमा चन्द्रा भण्डारी ५–०
३० औं मिनेटमा दीपा शाही ६–०
४५ औं मिनेटमा सन्जु कुमाल ७–०
इन्जुरी समयमा दीपा शाही ८–०
दोस्रो हाफमा थप ७ गोल
५३ औं मिनेटमा दीपा शाही ९–०
६१ औं मिनेटमा दीपा शाही १०–०
६३ औं मिनेटमा विमला विक ११–०
६७ औं मिनेटमा निलम सिंहको आत्मघाती गोल ११–१
८१ औं मिनेटमा अनिता लम्जेल १२–१
८७ औं मिनेटमा सावित्रीदेवी मगर १३–१
इन्जुरी समयमा अनिता लम्जेल १४–१