युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका छनोट खेल सम्पन्न


काठमाडौं, (नेस) ।


आउँदो कार्तिक ४ गतेदेखि मोन्टेनेग्रोको बुद्वा शहरमा हुन गईरहेको आईबा युथ मेन्स एण्ड वुमेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपअन्तर्गत सबै खेलहरु सम्पन्न भएका छन् ।

बुद्वामा च्याम्पियनसिप कार्तिक २१ गतेसम्म संचालन हुनेछ ।
यही भाद्र २४ र २५ गते सम्पन्न भएका खेलहरुमा महिलातर्फ ५२ केजी तौल समुहमा जेनेक्सकी स्वस्तीका तिरुवाले जित हासिल गरिन् । उनले ५–० अंकको आधारमा नक्सालकी दिव्या लिम्बुलाई पराजित गरेकी हुन् । ६० केजी तौल समुहमा कास्कीकी निसिका गुरुङले ५–० अंकको आधारमा ललितपुरकी प्रीक्क्षा लामालाई हराएकी हुन् ।

त्यस्तै, पुरुषतर्फ ५१ केजी तौल समुहमा एचटूओका अर्पिल रानाले ५–० अंकको आधारमा एबीसीका पारस बोम्जन तामाङलाई पराजित गरेका थिए । ५४ केजी तौल समुहमा आरडीएसका रोसिस्की शाहीले ५–० अंकको आधारमा एचटूओकै संजय पुनमगरलाई हराए ।

यस्तै, ५७ केजी तौल समुहमा एचटूओका छेवाङ तामाङले ४–० इस्पीलिटको आधारमा कास्कीका साहिल लिम्बुलाई पराजित गरे । ६३.५ केजी तौल समुहमा ललितपुरका रोविन केसीले भाइबका आसिष रिजालबाट वाकओभर पाए । ६७ केजी तौल समुहमा एसएसबीसीका भूगोल बम ठकुरीले केवाईबीसीका आर्दश कार्कीलाई युनानिमस ५–० को आधारमा पराजित गर्दै छनौट चरण पार गरे ।