नर्वेको जितमा हालान्ड नायक

2.54k
Shares

लन्डन, (एजेन्सी) ।

युईएफए नेसन्स लिग फुटबलमा नर्वेले जित्दा अर्लिंग हालाण्ड नायक बनेका छन् ।
सोमबार राति भएको लिग ‘बी’ ग्रुप ३ को दोस्रो खेलमा नर्वेले आफ्नो घरेलु मैदानमा पाहुना टोली अस्ट्रियालाई २–१ गोलअन्तरले हराएको थियो ।

नर्वेका लागि पहिलो गोल नवौं मिनेटमा फेलिक्स होर्नले गरेका थिए । तर, ३७औं मिनेटमा अस्ट्रियाका मार्सेल साबिज्टारले गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि थप रोमाञ्चक बनेको खेलमा नर्वेका लागि ८०औं मिनेटमा हालान्डले गोल गरेर टिमको जित २–१ ले सुनिश्चित पारे ।

नर्वेका लागि नेसन्स लिगमा यो राम्रो सुरुआत हो । पहिलो खेल बराबरी खेलेको नर्वेले दोस्रो खेल जितेर शीर्ष स्थानका लागि प्रतिस्पर्धालाई कायमै राखेको छ । यो जितपछि नर्वे २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । समान ४ अंक नै भएको स्लोभेनिया शीर्ष स्थानमा छ भने एक अंक मात्र भएको अस्ट्रिया तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्लोभेनियाले कजाखस्तानलाई ३–० ले पराजित गर्दै दुई खेलबाट ४ अंक जोड्न सफल भएको हो । स्लोभानियाको जितमा बेन्जामिन सिस्कोले ह्याट्रिक गरेका थिए । उनले खेलको २२औं, २८औं र ६३औं मिनेटमा गरी तीन गोल गरेका थिए ।
इटाली र फ्रान्सको जित

युईएफए नेसन्स लिग फुटबलकै लिग ‘ए’ ग्रुप २ को खेलमा इटाली र फ्रान्सले जितको नतिजा निकालेका छन् । लिगमा इटालीले लगातार दोस्रो जित निकालेको हो । इटालीले इजरायलमाथि २–१ गोलअन्तरको जित निकाल्दै शतप्रतिशत नतिजा हात पारेको छ । पहिलो खेलमा इटालीले फ्रान्सलाई उनीहरूकै घरेलु मैदानमा ३–१ गोलअन्तरले हराएको थियो ।
इजरायलको घरेलु मैदानमा हुनुपर्ने सो खेल हंगेरीमा भएको थियो । इजरायल अहिले युद्धबाट गुज्रिरहेकाले सो देशमा खेल आयोजना गर्न फिफाले अनुमति दिएको छैन । त्यसैकारण इजरायको घरेलु मैदानमा हुने सबै खेल ‘न्यूट्रल भेन्यू’ मा आयोजना भइरहेका छन् ।

इटालीको जितमा पहिलो गोल ३८ औं मिनेटमा डेभिड फ्राटेसीले गरेर अग्रता दिलाए ।र दोस्रो गोल ६२ औं मिनेटमा मोइसे किनले गरेका थिए । पराजित इजरायलका लागि सान्त्वना गोल ९०औं मिनेटमा मोहमद अबु फानीले गरेका थिए । यो जितपछि इटाली ६ अंकका साथ शीर्ष स्थानमा रहँदा फ्रान्स र बेल्जियम दोस्रो तथा तेस्रो स्थानमा छन् ।

इटालीको यो जितले सो समूहका अन्य टिम फ्रान्स र बेल्जियममाथि दवाब बढेको छ । इटालीले दुई खेल जितिसक्दा फ्रान्स र बेल्जियमले भने एक–एक खेल मात्रै जितेका छन् । तीन शीर्ष टोली रहेको यो समूहबाट समूहको विजेता बनेर सेमिफाइनल प्रवेश गर्नका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जारी प्रतियोगितामा फ्रान्सले पनि पहिलो जित निकाल्ने क्रममा बेल्जियमलाई २–० गोलअन्तरले पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा फ्रान्सले आक्रामक खेल खेल्दा बेल्जियमको रक्षापंक्ति निराश बन्यो । शुरुदेखि अन्तिमसम्म नै फ्रान्सले बेल्जिमविरुद्ध लगातार आक्रामक प्रदर्शन गरेर पाहुना टोलीमाथि एकतर्फी दवाब बनाएको थियो ।

फ्रान्सको जितमा पहिलो गोल २९औं मिनेटमा रोनडाल कोलो मुआनीले गरेर अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो गोल ५७औं मिनेटमा उसामान डेम्बेलेले गरेर टिमको २–० को जित पक्का गरे । उनको गोलमा एन्गोलो कान्टेले असिस्ट गरेका थिए ।
पहिलो खेलमा इटालीसँग ३–१ ले हार्दा आलोचित बनेको फ्रान्सले दोस्रो खेलमा बलियो बेल्जियममाथि जित निकाल्दै प्रतिस्पर्धामा फर्किएको छ । बेल्जियमले भने पहिलो खेल जितेको थियो । अब सुरुआती दुई खेलपछि इटाली दुवै खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा छ भने फ्रान्स र बेल्जियम दुवैको समान तीन–तीन अंक रहेको छ ।