आत्महत्या र रोकथामका उपायहरु

4.51k
Shares

कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुन्डिनु आदि पर्दछन् । नेपालमा बर्सेनि यस्ता कारणबाट धेरै मानिसले आत्महत्या गरेका हुन्छन् । नेपालमा सरदर प्रतिवर्ष ७ हजार मानिसले आत्महत्या गरेको देखिन्छ । विस्तृतरुपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक हेर्दा यस्तो पाइन्छ:
आ.व. २०७८/०७९– ६८३० जना
आ.व. २०७९/०८०– ६९९३ जना
आ.व. २०८०/०८१– ७२२१ जना

माथिको तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आ.व. अर्थात् आ.व. २०८०÷०८१ को तथ्यांकलाई हेर्दा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको पाइन्छ । गत आ.व.को आत्महत्याको दरलाई निम्नानुसार प्रस्तुत गरिएको छ ः
झुन्डिएर– ८५ प्रतिशत
विष खाएर– १३ प्रतिशत
हामफालेर– ०.७ प्रतिशत
डुबेर– ०.६६ प्रतिशत
हतियारबाट– ०.२५ प्रतिशत
आगो लगाएर– ०.०९ प्रतिशत
करेन्ट लगाएर– ०.०१ प्रतिशत
आत्महत्या किन गर्छन् ?
महिलाहरुमा आत्महत्याको सोचाइ धेरै आएको देखिए पनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ । यसरी आत्महत्या गर्ने कारण धेरै छन् । सबैभन्दा महत्वपूर्ण कारणका रुपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण डिप्रेसन नै हुने गर्दछ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटना रोक्न सकिन्छ ।
डिप्रेसनका प्रमुख तीन लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरीर थकित महसुस हुने गर्दछ । अरु लक्षणहरुमा निद्रा नलाग्नु, खाना रुचि नहुनु, कुनै कुराको पश्चात्ताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन् ।
डिप्रेसन किन हुन्छ ?
(१) आर्थिक समस्या: अहिलेको कोभिडपछिको समयमा मानिसको आम्दानी घट्नु, बैँकको ऋण तिर्न नसक्नु, घरखर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाइन्छ ।
(२) पारिवारिक कलह:श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानु पनि डिप्रेसनको कारण हुन सक्छ ।
३) कडा रोगको सिकार हुनु: ब्रेन स्टोक, क्यान्सरजस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुन सक्छ ।
४) सोचेजस्तो गर्न नसक्नु: परीक्षा वा कुनै काममा आफूले सोचेजस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ । यसबाहेक स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डरजस्ता रोगहरुमा पनि आत्महत्या गरेको देखिएको छ ।
आत्महत्या गर्दै छ भन्ने कसरी थाहा पाउने ?
कसैले आत्महत्या गर्छ कि गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाहीँ हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ । यदि कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्कारुपमा लिनुहुँदैन । उसलाई कुन समस्याले यस्तो भयो ? त्यो बुझ्ने कोशिश गर्नुपर्छ ।
कोही परिवारभन्दा अलग बस्न थाल्यो, स–साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ । कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरु राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ ।
हालसालै कठिन परिस्थितिबाट गुज्रिएको छ भने जस्तै– नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए । आफूलाई मन पर्ने कुराहरु पनि अरुलाई दिएको, पुराना कुराहरुमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरुको बारेमा खोज गरेको र भविष्यको बारेमा कुनै पनि योजना नबनाएको छ भने पनि याद गर्नुपर्ने हुन्छ । यी संकेतहरु बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न पनि सकिन्छ ।
मनोचिकित्सकसँग भेट र मनोपरामर्श:
मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तै– डिपे्रसन, स्क्रिजोफ्रेनिया, रक्सी–गाँजाको कुलत आदिको सही पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् । मनोचिकित्सकले विरामीको समस्याको बारेमा बुझेर आवश्यक औषधिहरु र उचित परामर्श दिने काम गर्दछन् ।
मनोविद्ले पनि साइकोथेरापीको माध्यमबाट बिरामीको मनोबल उच्च गर्ने काम गर्दछन् । नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।
मानसिक रोगहरुमा मानिसहरु अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसको लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले पनि इन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्न सक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुन सक्छ ।
(लेखक डा. पोख्रेल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ ।)