नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेनाको तर्फबाट १९ जना अधिकृतको सहभागिता

2.26k
Shares

काठमाडौं ।

लामो समयको प्रतीक्षापछि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । चीन र नेपालबीच संयुक्त सैन्य अभ्यास शुरू भएदेखि नै दक्षिणी छिमेकी मुलुक भारत, अमेरिका र युरोपियन युनियनले चासो दिने गरेका छन् ।

सगरमाथा फ्रेन्डसिप नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यास आउँदो असोज ५ देखि १५ गतेसम्म चीनको सिचुवान प्रान्तको छोङछिङ सहरमा आयोेजना हुने भएको छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट १९ जना अधिकृतहरूको सहभागिता रहने भएको छ ।

नेपालबाट १९ जनाको टोली तीन समूहमा गरेर चीनको छोङछिङ सहर पुग्ने छ । नेपाली सेनाको अन्तिम कमान्ड मध्यपृतनापति उपरथी प्रदीपजंग केसीले गर्नुहुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । नेपाल चीनबीच यसअघि ३ पटक संयुक्त सैन्य अभ्यास भए पनि २०७६ सालदेखि कोरोना संक्रमणलाई कारण देखाउँदै दुई मुलुकबीच सैन्य अभ्यास हुन सकेको थिएन ।

नेपालले यस्तै प्रकारको संयुक्त सैन्य अभ्यास, भारत, अमेरिका, बेलायतलगायतका मुलुकका सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । कोरोना महामारीपछि भारत, अमेरिका, बेलायतलगायतका देशका सेनासँग संयुक्त सैन्य अभ्यास भए पनि चीनसँग भने हुन सकेको थिएन ।

‘नेपाली पक्षले चीनसँगको संयुक्त सैन्य अभ्यासका लागि पहल गरेको भए पनि चिनियाँ पक्षले भने स्पष्ट जवाफ नदिँदा अभ्यास रोकिएको थियो अब शुरू हुने भयो’ –सैनिक मुख्यालय स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो ।
सगरमाथा संयुक्त फ्रेन्डसिप संयुक्त सैन्य अभ्यास २०७४ सालमा पहिलोपटक नेपालमा भएको थियो भने २०७५ मा दोस्रो सैन्य अभ्यास चीन र तेस्रो सैन्य अभ्यास २०७६ सालमा नेपालमा भएको थियो ।

उक्त संयुक्त सैन्य अभ्यासमा प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलगायतका विषयमा केन्द्रित भएर अभ्यास हुने सैनिक प्रवक्ता केसीले जानकारी दिनुभयो । मुलुकका सैनिक अधिकारीबीच सैन्य अभ्यास हुँदै आएकोलाई विश्वका शक्ति राष्ट्रहरूले अनावश्यक चासोको रूपमा हेर्दै आएका छन् । यस्तो सैन्य अभ्यासलाई भूराजनीतिसँग जोडेरसमेत हेरिने गरिएको छ ।

चीनले सैन्य अभ्यास वा विकासका लागि भन्दै एकपछि अर्को परियोजना नेपालमा कार्यान्वयन गर्न खोजेपछि अर्को छिमेकी मुलुक भारतलगायत पश्चिमा मुलुकहरू पनि चीनको भूमिकाप्रति सशंकित हुँदै आएका छन् ।