रानामाथि मानव तस्करीको अभियोग लगाउने तयारी

1.6k
Shares

काठमाडौं ।


चार दलीय गठबन्धन सम्मिलित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुख इन्दिरा रानामगरमाथि मानव तस्करी अभियोग लगाएर हटाउने रणनीतिक तयारी गरेको छ । असम्बन्धित व्यक्तिलाई अमेरिकी भिसामागको अन्तर्वार्ताका लागि समय मिलाउन अमेरिकी दूतावासलाई लेखेर मानव तस्करीमा संलग्न भएको आरोपमा उहाँलाई सरकार र सरकारलाई समर्थन गरेका दलहरूले हटाउने तयारी गरेका हुन् ।

उपसभामुख रानाले नैतिक आचरणहीन काम गरेको प्रश्न उठाउँदै सत्तारुढ दलहरूले संविधानको धारा ९१ को उपधारा (६) अनुसार हटाउने तयारीका भइरहँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसको प्रतिवाद गरेका छन् । उहाँलाई हटाउँदा संवैधानिक परिषद्मा पनि आफ्नो बहुमत पुग्ने र निर्णय प्रक्रियामा सहज हुने सत्ता गठबन्धनमा आबद्ध दलहरूको रणनीति छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस सभापतिसहितको बैठकले रानालाई उपसभामुखबाट हटाउने विषयमा छलफल भएको थियो । उहाँ मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै संविधानबमोजिम हटाउने उपाय खोजिरहेका सत्तारुढ दलका सांसदहरूले मंगलबारको संसद् बैठकमै राजीनामाको माग गरे । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएको स्मरण गराउँदै उपसभामुखलाई इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गर्नुभयो । आचरणमा गम्भीर प्रश्न उठेपछि ठूलो पदकाले मात्रै नभएर सांसदहरूले पनि राजीनामा दिनसक्ने उहाँको तर्क छ ।

त्यस्तै, एमाले सांसद सूर्यप्रसाद ढकालले पनि उपसभामुख रानामाथि नैतिकताको प्रश्न उठेकाले राजीनामा दिनु उचित हुने धारणा राख्नुभयो । ढकालले भन्नुभयो– ‘अहिले सदनभित्र र बाहिर उपसभामुखको बारेमा कुरा उठिरहेको छ । नैतिकता र पदीय मर्यादाको कुरा उठेको छ । मानव तस्करीको कुरा उठेको छ । उपसभामुखजस्तो व्यक्तिमाथि प्रश्न उठेपछि राजीनामा दिन माग गर्छु ।’

सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाबारे धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठक बोलाएको छ । बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाइएको कांग्रेसका एक पदाधिकारीले पुष्टि गरे । तर, उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा सत्ता गठबन्धनलाई कम्फर्टेबल हुने भएकाले सरकारले उहाँमाथि अनेकन आरोप लगाएर हटाउन खोजेकोप्रति विपक्षी दलहरूले विरोध जनाएका छन् ।

मंगलबारको संसद् बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहित नेताहरूले उपसभामुख रानालाई पदबाट हटाउने सरकारको तयारीको विरोध जनाए । माओवादीले उक्त विषयमा तीव्र प्रतिवाद गर्ने भन्दै पाण्डेले भन्नुभयो– ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुराको हाम्रो दल तीव्र प्रतिवाद गर्छ ।

विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु ।’ माओवादीका सांसद हितबहादुर तामाङ र सांसद सूर्यमान तामाङले पनि उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताउनुभयो । ‘उहाँलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ’, माओवादी सांसदहरूले भने– ‘यो हामीलाई स्वीकार्य छैन । उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई आग्रह गर्दछौं ।’

संसद्को चौथो दल रास्वपा सांसद सोविता गौतमले सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको भन्दै उपसभामुख हटाउन खोजिएको कुराप्रति आपत्ति जनाउनुभएको छ । रास्वपाबाट उपसभामुख हुनुभएकी रानालाई हटाउनेबारे सोमबारको सत्ता गठबन्धनको बैठकमै छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै हटाउनुपर्ने प्रस्ताव गर्नुभएको र सोही अनुसार गठबन्धनका दलहरू छलफलमा जुटेको उच्च स्रोतको दाबी छ ।