गृहमा कर्मचारी सरुवा र पदस्थापन कार्य सुरु

–काठमाडौ सिडिओमा जयनारायण आचार्य, रिक्त तीन जिल्लामा पनि पठाइए


काठमाडौं ।

गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ । आचार्य गृह प्रशासनमा अनुभवी र इमान्दार कर्मचारीका रुपमा परिचित छन् । यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।

नयाँ गृहसचिवको रुपमा गोकर्णमणि दुवाडी आएलगत्तै गृहमन्त्रालयले कर्मचारीको सरुवा, व्यवस्थापन र पदस्थापन थालेको हो । मन्त्रालयले मंगलबार राती सरुवाको निर्णय गरेको हो । गृह स्रोतका अनुसार यो सरुवा पहिलो चरणको हो । अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ ।

मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा लामो समय देखि सिडिओ रिक्त रहदै आएको सिन्धुलीको सिडिओमा गृहमन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ । यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ ।

प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक सिडिओ मेघनाथ उपाध्यायलाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा ल्याइएको छ । यसैगरी गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव डा टोक राज पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ, उहाँलाई महाशाखा भने तोकिएको छैन् ।

यसैगरी दोस्रो चरणमा समेत केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्ने आन्तरिक तयारी जारी राखिएको छ । गृहस्रोतका अनुसार थप एक दर्जन सिडिओको सरुवा गर्ने गरी थप गृहकार्य जारी राखिएको हो । अन्य केहि जिल्लामा सिडिओको न्यूनतम कार्यअवधि ८ देखि १० महिना अवधि पुरा गरेका अधिकांशको सरुवा हुने गरी थप गृहकार्य अघि बढाइएको गृह स्रोतले जानकारी दिएको छ ।

यसैगरी ललितपुरमा पनि प्रमुख जिल्ला अधिकारी बन्न केहि सहसचिवहरुको दौडधूप चलिरहेको छ । ललितपुरमा गृह मन्त्रालयकै आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव गोगन बहादुर हमाल, गृहप्रवक्ता नारायण प्रसाद भट्ट्राई , तीर्थ भट्टराई लगायतका सहसचिवहरु दौडधूपमा हुनुुहुन्छ तर सो जिल्लामा भने केहि निर्णय भएको छैन् ।

सिडिओको न्यूनतम सेवा अवधि पुगेका स्याङजा, रामेछाप, दोलखा, रुपन्देही, दाङ, पर्सा, बारा, कपिलवस्तु, डोटी, लगायतका जिल्लामा नयाँ सिडिओ पठाउने गृहकार्य जारी राखिएको बताइएको छ । गृह मन्त्रालयको सचिवमा बहाली भएलगत्तै गृहसचिव गोकर्णमणि दुवाडीले मन्त्रालयमा केहि समय देखि थाती रहदै आएको कर्मचारी पदस्थापन, सरुवा व्यवस्थापन तथा गृहप्रशासन सुधार लगायतका महत्वपूर्ण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको थियो ।

सो अनुसार गृहसचिव दुवाडीले गृहमन्त्री रमेश लेखक सँग समन्वय गरी कर्मचारी व्यवस्थापनको गृहकार्य थाल्नुभएको हो ।
मुलुकको समग्र शान्ति सुरक्षा तथा आन्तरिक सुरक्षा अवस्थालाई सुदृढ गर्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्न मन्त्रालयका अधिकारीहरु २४ सै घण्टा खट्नुपर्ने हुन्छ । त्यसैले गृह र मातहतका निकायलाई रिक्त राख्न नहुने भन्दै सचिव दुवाडी कर्मचारी व्यवस्थापनमा सक्रियतापूर्वक जुट्न थाल्नुभएको छ । यसलाई नीकै सकारात्मक रुपमा हेरिएको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय समेत हेर्ने गरी गृहमन्त्रालयको विभिन्न ५१ वटा महत्वपूण जिम्मेवारी रहेको छ । गृहसचिव दुवाडीले पदबहालीकै क्रममा सो ५१ वटा जिम्मेवारी अनुसार गृहमन्त्रालयले आवश्यक काम गर्ने समेत बताउनुभएको थियो ।