प्रधान सेनापति सिग्देलबाट सकलदर्जालाई पहिलो सम्बोधन


काठमाडौं ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलले जङ्गी अड्डास्थित सभामण्डपमा सकलदर्जालाई पहिलो पटक सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरू र आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिएका छन् । उनले सम्बोधनको शुभारम्भमा कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिनु हुने सम्पूर्ण वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सैनिक सेवाको दौरान घाइते भई उपचाररत सकलदर्जाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेपालको संविधान बमोजिम गौरवशाली इतिहास भएको नेपाली सेनाको प्रधान सेनापतिमा आफू नियुक्त भएकोमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, नेपाल सरकार लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

त्यसै गरी सम्बोधनको अन्त्यमा उनले नेपाली सेनालाई साथ र सहयोग गर्नु हुने मित्र राष्ट्रहरू, नेपाल स्थित मित्र राष्ट्रका नियोगहरू, मित्र राष्ट्रका सेनाहरू र नेपाल स्थित सैनिक सहचारीहरूप्रति आभार व्यक्त गरे ।

नेपाली सेनाका सबै युनिटहरूमा लाइभ मल्टीकास्ट गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।