प्रधान सेनापति सिग्देलद्वारा सम्मान तथा पुरस्कार वितरण


काठमाडौँ।

प्रधान सेनापति अशोकराज सिग्देलले विगत द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकहरुलाई सम्मान गरेका छन् । मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबिच प्रधान सेनापति सिग्देलले एक जनालाई चारपाङ्‍ग्रे स्कुटर र ३४ जनालाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहायता प्रदान गरेका छन् ।

सोही अवसरमा प्रधान सेनापतिले २०८० चैत्र २६ गते डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका वडा नं.४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणको क्रममा वीरगति प्राप्त गरेका जमदार केशव जार्गा मगर, सिपाही हेमन्त रावत र सिपाही आशिक बुढाको परिवारलाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहयोगसहित सम्मान गरेका छन् ।

सोही अवसरमा गिनिज वल्ड रेकर्डमा विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राखी नेपाल र नेपाली सेनाको गरिमा उच्च राख्न सफल भएका नेपाली सेनाका प्युठ हरिचन्द्र गिरीलाई प्रधान सेनापतिले १ लाख ५० हजार नगद पुरस्कार सहित सम्मान गरेका छन् ।

उक्त समारोहमा प्रधान सेनापतिले विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आईष्मा आचार्यलाई प्रशंसा पत्र र नगद ५१ हजार सहित सम्मान गरेका छन् । छात्रा आचार्यले २०८० सालको SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुका साथै राष्ट्रिय स्तरको खेलकुद (एथलेटिक्स विधा) मा विभिन्न समयमा २ स्वर्ण, १ रजत र १ कांस्य पदक हासिल गर्न सफल भएकी छन् ।