‘नेपालमा अखडा जमाएर विदेशी व्यापारी बसेका छन्’

शिवजी यादव अध्यक्ष, नेपाल रसिया उद्योग वाणिज्य संघ

सरकारले आयात निर्यातको अवस्था सहज पार्न सकेको छैन । सहज नपार्दा सिजनमा उत्पादन हुने हुम्लाको स्याउ, तराईको आँपलगायतले बजार पाउन सकेको छैन । सरकारको नीतिका कारण स्वदेशी व्यापारी पलायन र विदेशी व्यापारीले जरा गाडेर बसेका छन् । निर्यातभन्दा आयातको अवस्था चिन्ताजनक छ । यस्तो अवस्थामा नेपालले कस्तो नीति अवलम्बन गर्नुपर्दछ, नेपालको सम्भावना कुन क्षेत्रमा छ, जस्ता विषयमा कन्द्रित रहेर नेपाल रसिया उद्योग वाणिज्य संघका अध्यक्ष शिवजी यादवसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानी ।

रसियामा व्यापार कसरी सुरुवात गर्नुभयो ?
म नेपालमा इन्जिनियरिङ कलेजको अभावका कारण ईसं १९९८ सालमा रसिया गएको थिएँ । रसियामा नेपालले सहयोग पनि गरेको हुनाले पढ्न जानका लागि सजिलो नै भयो । मैले नेपालमा हुँदा जति बुझेको थिएँ, त्यहाँ गएपछि एकाएक व्यापारिक सम्भावना देखें । देश र समाजको विकासमा व्यापारको सम्भावना देखेपछि मैले व्यापार थालेको हुँ । इसं १९८९ तिर रसियामा राजनीतिक परिवर्तन भएपछि दलीय व्यवस्था आएको हो । पहिले सरकारले एकलौटी रूपमा व्यापार गरिरहेको थियो । राजनीतिक परिवर्तन भइसकेपछि खुला व्यापारको सुरुआत भयो । पहिला सरकारको आफ्नै उद्योग र व्यापार पनि गर्दथ्यो । खुला व्यापार भएपछि व्यापारीहरू विदेश जान पाउने र विदेशबाट पनि व्यापारका लागि आउन पाउने व्यवस्था भयो । रसियामा संसारभरबाट पढ्नका लागि विद्यार्थी गएका थिए । उनीहरूलाई भाषाको ज्ञान भएको हुनाले व्यापार गर्न सजिलो भयो । त्यसमा मैले पनि अवसर पाएँ र व्यापार गरें । म इन्जिनियर पढ्न गएको विद्यार्थी विद्यावारिधिसँगै व्यापार पनि गर्दै अगाडि बढेको हुँ ।

कति नेपालीले रसियामा व्यापार गरेका थिए ?
केही सीमितमात्र नेपालीले व्यपार गर्ने अवसर पाएका थिए । भारतका व्यापारीको भने सिधै रसियासँग सम्बन्ध भएको हुनाले राम्रो व्यापारको अवसर पाएका थिए । विदेशमा कमाएको रकम स्वदेशमा ल्याउन नसकिने भएको हुनाले व्यापार गर्नसक्ने अवस्था नेपालको थिएन । त्यसैले नेपालबाट पढ्न गएका विद्यार्थीले मात्र व्यापार गर्ने अवसरमा सजिलो भएर व्यापार गरेका हुन्। विदेशीहरूले ज्वाइन्ड भेन्चर खोल्न पाउने व्यवस्था थियो । त्यसले गर्दा नेपाली विद्यार्थीले अवसर पाएका थिए । हामीभन्दा अगाडिको पुस्ता अहिले पनि रसियामा व्यापार गरेर बसिरहेको छ।

रसियामा केको व्यापार गर्नुभएको थियो ?
हामीले आयात निर्यातको व्यापार गरेका थियौँ । सिंगापुर, हङकङ, जर्मनीजस्ता मुलुकबाट सामान लगेर होलसेल बजारमा दिने काम गर्ने गरिएको थियो ।
लगानी कसरी जुटाउनुभयो ?
शुरूमा आफैँ गई सामान लिएर आउने गर्दथ्यौँ । विस्तारै पुँजीको विकास गरी व्यापार पनि बढाउँदै लगेका थियौँ । विस्तारै हाम्रो अन्तर्राष्ट्रिय व्यापारीसँग सम्बन्ध हुन थाल्यो र हामीले ठुलो भोलममा व्यापार गरेका थियौँ ।
त्यतिबेला फाइदा धेरै हुन्थ्यो ?
त्यतिबेला सयौँ प्रतिशत फाइदा हुने गर्दथ्यो । धेरै फाइदा हुने भएरै पुँजीको विकास पनि छिटो भएको थियो । डब्बलै फाइदा हुन्थ्यो ।
रसियालीहरू व्यापार गर्न सक्दैन थिए ?
लामो समय एकतन्त्रीय शासन थियो । त्यसले गर्दा विदेशीसँग सम्बन्ध थिएन । व्यवस्था परिवर्तन भएपछि दोस्रो विश्वयुद्धमा हुमिएका थिए । सरकारले व्यापार गर्ने भएको हुनाले नागरिकले कसरी व्यापार गर्ने भन्ने विषय थाहा थिएन । विस्तारै राज्यले व्यापार गर्ने वातावरण दिएपछि उनीहरूले नै व्यापार गरेका थिए । पछि उनीहरू मुख्य देशको व्यक्ति भएको हुनाले हामीलाइ प्रयोग गरेर व्यापार गर्ने गरेका थिए ।
रसियाको व्यापारमा कति वर्ष रहनुभयो ?
मैले १५ वर्षजति रसियामा व्यापार गरें । १२ वर्षसम्म क्रियाशील र ३ वर्षजति सामान्यरूपमा व्यापार गरें । त्यसपछि म नेपालको राजनीतिमा लागें । अनि मैले उताको व्यापार छोडिदिएँ ।
नेपालमा आएर व्यापार गर्नुभएन ?
नेपालमा पनि व्यापार गर्न खोजें । तर नेपालमा म सफल हुन सकिनँ । नेपाल र रसियाको संगठन बनाएर लगानी ल्याउन लागेको थिएँ । तर, पनि सफल भने हुन सकिनँ । संस्था निर्माण भए पनि राज्यको असहयोगका कारण अगाडि बढ्न सकिएन । अहिले पनि रसियासँग कसरी व्यापार गर्न सकिन्छ भनेर कुरा अगाडि बढिरहेको छ ।
रसियामा कुनकुन वस्तु निर्यात गर्न सकिन्छ ?
रसियामा सीमित महिनामात्र मौसम सफा हुन्छ । देशलाई हिउँले ढाकेको हुनाले एक सिजनमात्र अन्न उत्पादन हुन्छ । नेपालमा बाह्रै महिना उत्पादन हुन्छ । हिमाली क्षेत्रमा प्रयोग हुने जुनसुकै वस्तु पठाउन सक्यौँ भने व्यापार राम्रो हुन्छ । चिया, कफी, फापर, अदुवा, जडिबुटीजस्ता वस्तुको व्यापार गर्न सकिन्छ । युक्रेनको क्षेत्रमा केही चामल उत्पादन हुन्छ । अहिले भियतनाम, थाइल्याल्डजस्ता मुलुकबाट चामल आयात भइरहेको छ। यदि त्यो चामल नेपालबाट जाने हो भने राम्रो मूल्यमा बेच्न सकिन्छ । तराईको आँप पनि महँगो मूल्यमा बेच्न सकिन्छ । रसियामा दक्षिण अमेरिकाबाट आँप आउने गर्दछ । त्यति टाढाबाट आँप लानु भन्दा नेपालबाट लाँदा सस्तो हुने थियो । थाइल्यान्डबाट सुकाएको फलफूल रसिया लाने गरिएको छ । नेपालबाट पनि आँपको जुस वा काँचो आँप सुकाएर लाने हो भने राम्रो आम्दानी गर्न सकिने थियो
नेपालभन्दा भियतनाम र थाइल्याल्ड नजिक होला नि ?
यसमा नजिक र टाढाभन्दा पनि सरकारको नीति उचित हुनुपर्दछ । सरकारले सहयोग गरेमा विदेशी मुद्रा आर्जन गर्न सजिलो हुने थियो । ढुवानीका कारणले मात्र सस्तो र महँगो हुँदैन । भारतको बिहार र नेपालबाट रसियामा लानु एकै हो । नेपाल र रसियाको दौत्य सम्बन्ध भए पनि व्यापारिक सम्बन्ध भने भएको छैन ।
राज्यले के गर्नुपर्दछ ?
राज्यले व्यापारीले कुनै पनि सामान लान र बेच्न सक्ने नीति बनाइदिनु आवश्यक छ । दुई देशबीच व्यापार गरेपछि पैसा ल्याउन सहज हुनुपर्ने विषय महत्वपूर्ण हो । अहिले रसियामा नाकाबन्दी भए पनि भारतले सामान बेचिरहेको छ । तर, हामीले व्यापार गर्न सकेका छैनौँ । सानो देश भएको हुनाले अमेरिकासँग डराउनुपर्दछ ।
युद्ध हुनुभन्दा पहिले नेपालबाट कुनकुन वस्तु गइरहेका थिए ?
नेपालबाट चिया गइरहेको थियो । राज्यको नीति नभएका कारण भारतीय कम्पनीबाट सामान गइरहेको थियो । नेपालबाट भारत र भारतबाट रसिया सामान गइरहेको थिए ।
नेपालबाट अन्य देशमा सामान निर्यात भइरहे पनि रसियामा मात्र नभएको हो ?
शुरूमा जर्मनी, बेल्जिएममा कार्पेटको व्यापार भएको थियो । त्यसमा नेपालले गुणस्तर व्यवस्थापन गर्न सकेन । त्यसको फाइदा भारत, श्रीलंकाजस्ता मुलुकले लियो । नेपालीको ब्रन्डमा अन्य देशले व्यापार ग¥यो । त्यसमा नेपालले निगरानी पनि गर्न सकेन । नेपालको ब्राजिलसँग दौत्त सम्बन्ध भएको छ । दक्षिण अमेरिकाजस्ता मुलुकमा सामान लान र ल्याउन सक्छौँ ।
देशका युवालाई व्यापारसँग कसरी जोड्न सकिन्छ ?
प्रविधिको विकासले खुला बजारको नीतिअनुसार अर्थतन्त्रमा अगाडि बढिरहेको छ । राज्यका नीतिका कारण युवाले रोजगारी पाउन सकेका छैनन् । देश औद्योगिककरणमा जानै सकेन । कृषिमा देश आत्मनिर्भर हुनुपर्दछ । युवालाई कृषिमा र उद्योगमा आकर्षित गर्नुपर्छ । भारतबाट मेसिन ल्याएर भारतमा सामान बेच्छु भनेर नचिताए हुन्छ ।
नेपालमा केको सम्भावना देख्नुहुन्छ ?
नेपाललाई कृषि र पर्यटनलाई जोड्न सकिन्छ । नेपालमा बाह्रै महिना खुला आकासमा हिड्ने वातावरण छ । अन्य धेरै देशमा बन्द कोठामा बस्नुपर्ने अवस्था छ । घाममा बस्नु उनीहरूको रुचि हुन्छ । त्यसबाट नेपालले धेरै फाइदा लिन सक्छ ।
पर्यटन भित्र्याउन कसरी सकिन्छ ?
विदेशी मापदण्डको होटेल आवश्यक छ । धेरै धनी व्यापारीहरू हुन्छन् । उनीहरूलाई दिनमा लाखौं डलर खर्च गर्नुपर्ने हुन्छ । त्यसको सुविधा नेपाल भन्दा थाइल्यान्ड, बालीजस्ता देशमा छन् । होटलमा पुग्ने बाटो, एअरपोर्टजस्ता क्षेत्रको सरसफाइ वातावरणले विदेशीलाई प्रभाव पर्दछ । एकपटक सांसद नेपाल आउँदा बागमतीको पानी गन्हाएको कुरा गरेका थिए । राजधानीलाई राम्रो बनाउनुपर्दछ । नेपालको हवाइ सेवा सुरक्षित छैन । यो संसारका मानिसले प्रयोग गर्ने हो । संसारमा प्रयोग भइसकेका जहाज नेपालले चलाइरहेको छ । जहाज सस्तोको नाममा डम्पिङ साइड भइरहेको छ । यस्ता डम्पिङ साइड हट्नुपर्छ । अर्को विषय भनेको साहसी खेललाई पनि अगाडि बढाउनुपर्दछ ।
नेपालमा औद्योगीकरण किन हुन सकेन ?
उद्योगमा चाहिने अनुसन्धान र आविष्कारमा युवालाई आकर्षण गर्न नसकेका कारण औद्योगिककरण हुन नसकेको हो । हाम्रो पढाइ भनेको साक्षर हुन मात्र पढेजस्तो देखिन्छ । अनुसन्धानमा काम भएको छैन । सुरक्षाको विषयमा पनि ध्यान दिन आवश्यक छ । हामीले भारत, चीन र बंगलादेशले गरेको विकासलाई आधार बनाएर अगाडि बढ्नुपर्दछ । शोधमूलक र सीपमूलक शिक्षाको आवश्यकता छ ।
युवालाई कस्तो व्यापार गर्न सुझाव दिनुहुन्छ ?
व्यापारका लागि सबै बन्द छ । माडवारीलाई गाली गर्ने चलन रहेको छ । व्यापार माडवारीकै हातमा छ । तिनीहरूको मूलथलो भनेको भारत नै हो । व्यापारी संस्कार माडवारीबाटै शुरू भएको हो । रुसमा हामीले व्यापार गरेका थियौँ । रसियाका नागरिक बाहिर गएर सामान ल्याएर व्यापार गर्न सक्ने अवस्था थिएन । हामीसँग अरू देशमा गएर व्यापार गर्न सक्ने अवस्था थियो । छोटो समयमा उनीहरूले आफैं व्यापार गर्नसक्ने अवस्था सिर्जाना राज्यले गरायो । माडवारीले नेपालमा आएर व्यापार गर्नु नेपालीका लागि अवसर थियो । तर, विडम्बना राज्यले यहीँका व्यक्तिलाई अवसर दिनु सक्नुपर्नेमा अहिलेसम्म पनि अवसर दिएको छैन । अहिलेसम्म अखडा जमाएर माडवारी बसिरहेका छन् भने रसियामा भने चाँडै अन्य देशका व्यापारी पलायन हुनुप¥यो । रसियामा सबै राज्यले नै व्यवस्था मिलाइ दिएको हो । पेप्सी म्यकडोना, कोकाकोलाजस्ता पेयपदार्थ नेपालमा खुलेआम बिक्री भइरहेका छन् । यसको सट्टामा नेपालले नै आफ्नो ब्रान्ड उत्पादन गर्नुपर्ने थियो । रसियामा भने उनीहरूको हेरेर आफैंले उत्पादन गरिरहेका छन् । नेपालका स्याउ, मधेसको आँप कुहिरहेको छ । त्यसलाई प्रयोग गरेर स्वदेशमै उत्पादन गर्नुपर्ने थियो । तर त्यो हुन सकेन । जसले गर्दा नेपालको पानी र विदेशको केमिकलको पैसा विदेशमा पुगिरहेको छ । जुन नेपाली रोगी बनिरहेका छन् । रोग उपचार गर्ने पैसा पनि उनीहरूले नै लगिरहेका छन् ।
नेपालको राजनीति कस्तो खालको हो ?
यसलाई एक शब्दमा राजनेता बन्न नसकेको, राष्ट्रियताको कमी, राजनीतिको सुरुवात रोजीरोटीका लागि भएको जस्तो देखिन्छ । त्यो रोजीरोटीका कारण विदेशीको चङ्गलमा फसेर रगतै विदेशीसँग मिसिएको जस्तो छ । शुद्ध नेपाली रगतै छैन । सच्चा नेपाली आत्माले नै देशका लागि केही गरौँ भन्ने भावना हुनपर्छ ।
देशमा परिवर्तन कसरी सम्भव छ ?
यस्ता गलत राजनीतिक मानसिकता रहेका ३ दलमा ३ हजारजति मानिस रहेका छन् । तीन करोड जनता नेपालमा रहेका छन् । सच्चा नेपाली नेता निकाल्नु पर्दछ ।
अनुभव रोड इन्जिनियरिङ र काम अर्कै भएन ?
विश्वस्तरीय रोड नै निर्माण हुन सकेको छैन । बजेटमात्र सक्ने किसिमको प्रणालीबाट बनेको रोडको अवस्था नाजुक नै रहेको छ। बिनाडिजाइन रोड बनिरहेको छ। समाजलाई चेतनशील बनाउन आवश्यक छ । भूगोलअनुसार रोपवेको अवधारण उपयुक्त देखिन्छ । तराईमा रेलको सम्भावना छ । जुन बिजुलीबाट चल्ने हुनुपर्दछ ।
तपाईंले रसियाबाट आएपछि निर्माण क्षेत्रमा पनि हात हाल्नुभएको थियो । के सफल हुन सक्नुभएन ?
मैले विदेशी ज्वाइन्ट भेन्चरबाट काम शुरू गर्न थालेको थिएँ । सुरुवातमा मैले बिचौलिया, दलाल, सीप, ज्ञान नै नभएको व्यक्तिले चलाएका निर्माण क्षेत्र चलाएको पाएँ । कमिसन खुवाएर काम गरेका पाएँ । रुसबाट कानुनी बाटोबाट नेपालमा व्यापारी ल्याउन नसक्ने भएको हुनाले व्यापार बन्द गर्नुपर्ने अवस्था आयो ।
तपाईंको राजनीतिक जीवनबारे बताइदिनुहोस् ।
म पूर्वपश्चिम राजमार्ग बनाएको देखेर रुसमा रोड इन्जिनियर पढ्न गएँ । त्यतिबेला समाजवाद र कम्युनिजममा मेरो आकर्षण थियो । उनीहरूले योजनाबद्ध विकास गरेका थिए । राजनीतिबाट नै परिवर्तन संभव हुनसक्छ भन्ने धारणा रहेको हुनाले राजनीतिमा आएको हुँ ।
देश बन्न केके आवश्य छ ?
देश बन्न सुरुआत नै हुन सकेको छैन । राजनीति नै फोहोरी छ । लिडरसिप नै छैन । छोटो समयमा पनि बंगलादेशमा परिवर्तन भएको छ । नेपालको जग पुरानो छ । नेपालमा इमान्दारीरूपमा काम गर्ने हो भने एक दशकमा नै देशले फड्को मार्न सक्छ ।
तपाईंको काम र पढाइको तादाम्यता मिलेको जस्तो देखिँदैन त ?
मैले सबै काम गरिसकेँ । व्यापार, निर्माण व्यापार गरिसकेको छु । गलत तरिकाले २ कक्षा पढेको मानिसले पैसा कमाएर मन्त्री बनेको छु । यो तपाईंको नश्लीय सोच हो । मधेसका मानिसलाई माथि जान दिइएको छैन । पहाडी ठेकेदार गलत तरिकाले पैसा कमाएर मन्त्री बनेका छन् । मेरो कम्पनीमाथि जान दिइएन । मैले कमिसन नखुवाएको हुनाले निर्माण व्यावसाय अगाडि बढाउन सकिनँ ।
रसिया र नेपालको राजनीतिलाई कसरी हेर्नुभएको छ ?
रसिया र अमेरिका सधैं लडिरहेका हुन्छन् । हामी भने शुरूदेखि अमेरिकानिकट रहेका छौँ । हामी बेलायत नजिक भएको इतिहास छ । गरिबी जहाँ रहन्छ त्यहाँ भोट जम्मा हुन्छ । कम्युनिस्ट पार्टी बनाउन सजिलो हुन्छ । जबसम्म कम्युनिजमको धङधगी रहन्छ, तबसम्म देश माथि जाँदैन ।
तपाईंको पार्टीको बारेमा बताइदिनुहोस् ?
‘जनता प्रगतिशित पार्टी’ हो । अनुभवले खारिएको हृदेश त्रिपाठी अध्यक्ष हुनुहुन्छ । उहाँ गजेन्द्रनारायण सिंहको सिद्धान्त मन परेर लागेको व्यक्ति हुनुहुन्छ । मधेस आन्दोलनमा अगाडि देखिएका उपेन्द्र यादवभन्दा अगाडि हृदयेश त्रिपाठी महान हुन् ।