गण्डकीका मन्त्री थापाको १०० दिन : सामाजिक र स्वास्थ्यमा उल्लेखिय सुधार 


गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् ।

२०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए ।

प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन अन्तर्गत प्रदेशका २५ वटा विद्यालयहरुमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम संचालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको उनले उल्लेख गरे । फ्राइडे फर फियुचर कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले बताए ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको उनले उल्लेख गरे । मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृतिहरुको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशिल बनाई महत्वपूर्ण काम गरिरहेको बताए । मनकामना क्षेत्रको संचालन, संरक्षण, विकास एवम् प्रवद्र्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको जानकारी उनले गराए ।

श्रम तथा रोजगार तर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको उनले बताए । व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सिपमुलक क्षेत्रको पहिचान गरि स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए । “गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् ।

खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ ।”, उनले भने । सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशिल बनाउन काम गरिएको उनले बताए । खेलकुदका विभिन्न संघसंस्थासँग समन्वय गर्दै आवश्यक कार्यक्रमलाई अगाडि बढाउने काम भएको मन्त्री थापाको भनाई छ ।


द्वन्द्वपीडित बेपत्ता, घाईते, अपाङ्ग, शहिद परिवार र विपन्न महिलाहरुको उद्यम, व्यवसाय तथा रोजगारी प्रवद्र्धनमूलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको उनले बताए । न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकहरुलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवम् पुनस्थापना कार्यक्रम मन्त्रालयले संचालन गरेको छ ।

क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले विरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार गराउने गरि विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए । बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई विस्तार गरिएको जनाए ।


गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालनमा ल्याइएको उनले उल्लेख गरे । क्षयरोग जस्ता विभिन्न सर्ने रोगहरू एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालनमा गरिएको उनले बताए ।