प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित विदाइ

1.41k
Shares

काठमाडौं ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ गर्नुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गर्नुभएको हो । उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको चर्चा गर्दै देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्‍याएको योगदान उल्लखनीय रहेको बताउनुभयो ।

नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टी गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।