मधेसको माटो प्यारो तर मधेसीहरुचाहिँ अपमानित !

1.5k
Shares

नागरिकताले मधेसीलाई नेपालको नागरिक भएको दाबी गर्छ तर मधेसी अझै पनि भयरहित नागरिक हुन सकेका छैनन् । मधेसबाट पहाड चढ्नेबित्तिकै मधेसीको राष्ट्रियताउपर सन्दिग्धको चिह्न तेस्र्याइन्छ । कालो छाला हुने र शुद्ध नेपाली बोल्न नसक्ने मधेसी अझै पनि कतिको नजरमा विदेशीसरह छन्। मधेसी विदेशी होइनन् । शरणार्थी पनि होइनन् । मधेसी मधेसका मूलवासी हुन् ।

नयाँ नेपालको निर्माण हुनुभन्दा पहिलादेखि नै मधेसको अस्तित्व थियो । मधेसको आफ्नै पहिचान थियो । तत्कालीन गोरखा राज्यका शासकले अरू राज्यहरूजस्तै मधेसका राज्यहरूलाई पनि आफ्नो कब्जामा लिएदेखि नै मधेसीलाई दोयम नागरिको रूपमा हेरिन थालियो । मधेसको पहिचान खोसियो । मधेसीको अस्तित्वलाई मेटाउन खोजियो । मधेसको भूमिलाई नेपालको भूमि ठान्ने तर मधेसीलाई विदेशी ठान्ने परिपाटीको शुरुवात भयो । विस्तारवादको प्रक्रियाबाट एकीकृत नेपाल त बन्यो तर सबै समुदायलाई तत्कालीन राज्य सत्ताले समान व्यवहारचाहिँ गर्न सकेन। नागरिकबीचको समानताको दूरी घटाउन सकेन। विभेदरहित राज्य बनाउन सकेन। यसको प्रतिफल मधेसीलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन थालियो । मधेसको भूमिलाई स्वदेशी र त्यहाँका बासिन्दालाई विदेशी सम्झिने यहाँको वास्तविक समस्या हो। भाषा, संस्कृति, रहनसहन कुनै पनि समुदायको मौलिक चिनारी हो। गोरखा राज्यले बहुभाषिक, बहुसांस्कृतिकजस्ता विशेषतायुक्त भएका राज्यहरूलाई त आफ्नो अधीनमा ल्यायो तर ती विशेषताहरूको संरक्षणचाहिँ गर्न सकेन ।

केही दिनअगाडिको घटना हो । हामी पाँचजना साथीहरू कीर्तिपुरको एउटा क्याफेमा चिया पिउन पस्यौं । त्यहाँका वेटरले तपाईंहरू इन्डियन हो ? भनेर प्रश्न गरे । हामीमध्येको एकजनाले किन भनेर प्रतिप्रश्न गर्‍यो । तपाईंहरूको भाषा तमिलजस्तै छ, त्यही भएर भन्ने उत्तर आयो । हामी त्यति बेला मैथिली बोल्दै थियौं । जबकि मैथिली र तमिलबीच कुनै शाब्दिक समानता छैन । मधेसीलाई भारतीय देख्नु कुनै नयाँ कुरा होइन । त्यसैले हामी त्यो कुरालाई मन्थनको विषय बनाएनौं । लगभग त्यहाँ एक घण्टा बसिसकेपछि पैसा तिर्न क्यास काउन्टरमा जाँदा एकजनाले फेरि त्यही प्रश्न दोहोर्‍यायो, ‘तपाईंहरू इन्डियन हो ?’ किन भनेर सोध्दा तपाईंहरू हिन्दी बोल्दै हुनुहुन्थ्यो, त्यही भएर भन्ने उत्तर फर्कायो । हामीलाई भारतीय ठान्ने ती क्याफेका कर्मचारीलाई दोष दिन मिल्दैन । मधेसी असली नेपाली होइनन् भन्ने कुरा एक किसिमको मिथ्या बुझाइजस्तो भइसकेको छ । उक्त मिथ्यालाई चिर्न नसक्नु नयाँ पुस्ताको कमजोरी हो । यो आफैँ सिर्जित भएको समस्या होइन । तत्कालीन राज्य संयन्त्रले योजनाबद्ध ढंगले आचारित गरेको व्यवस्थाबाट उब्जिएको समस्या हो । राज्यमा एउटा राष्ट्रिय भाषा निर्धारण गर्नु, एउटा राष्ट्रिय पोशाक निर्धारण गर्नु, कुनै एक भाषालाई मात्र शिक्षा र सरकारी कामकाजको भाषा बनाउनु एकल राष्ट्रको प्रभुत्व स्थापित गर्नको निम्ती गरिएको सचेत प्रयास हो भन्न सकिन्छ । तत्कालीन राज्यसत्ताको घातक षड्यन्त्र हो यो ।

लगभग पन्ध्र वर्षअगाडिको कुरा हो । त्यति बेला म तेह्र वर्षको थिएँ । मधेसबाट भर्खरै धरान गएको थिएँ । कक्षा पाँचमा धरानको एउटा प्राइभेट स्कुलमा भर्ना भएँ । विद्यालय गएको एक महिनाजति भएको थियो । एउटा साथीले ‘ओई भैया होमवर्क गरिस् भने होमवर्क कापी देन’ भन्यो । मैथिलीमा दाइलाई भैया भन्छ । यो मैथिली–नेपाली मिश्रित वाक्य शुरूमा मेरो निम्ति सामान्य थिएन । आफ्नै उमेरका साथीहरूले भैया अर्थात् दाइ भन्दा शुरूमा ताजुब लाग्यो । मधेसीलाई बोलाउँदा भैया भनिन्छ भन्ने कुरा त्यो दिन थाहा पाएँ । त्यसपछि कक्षामा नामले भन्दा पनि भैया, धोती, फोरम, इन्डियनजस्ता शब्दबाट सम्बोधित हुन थालँे । म तिनीहरूको नजरमा नेपाली ठहरिन । त्यति बेला म तेह्र वर्षको थिएँ । साथीहरू मेरै उमेरका थिए । तिनीहरूको नजरमा नेपाली हुनलाई गोरो छाला भएको हुनुपथ्र्यो । ढाका टोपी लगाउने खाले हुनुपथ्र्यो । शुद्ध नेपाली बोल्न जान्ने हुनुपथ्र्यो । ममा त्यस्तो कुनै योग्यता थिएन । पछि विद्यालय परिवर्तन गरेँ। त्यहाँ पनि त्यस्तै वातावरण पाएँ।

२०५७ सालमा भारतीय कलाकार ऋतिक रोशनले आफूलाई नेपाल र नेपाली मन नपरेको भन्ने तथ्यहीन कुरा नेपालमा जबर्जस्तरूपले फैलियो । तर उनले त्यस्तो कहिले कतै भनेका थिएनन् । त्यो झुटो सूचनाले नपालमा ठूलै दंगा निम्त्यायो । भारतीय कलाकारले त्यसो भन्यो भनेर शुरूमा केही युवाहरूले ऋतिक रोशनको फिल्मको पोस्टर जलाउनुको साथै नराबाजी गरे । पछि त्यसले उग्ररूप लियो । मधेसीलाई भारतीय सम्झेर कैयौं मधेसीलाई कुटपिट गरियो । त्यो घटनाले कैयौं मधेसीलाई विद्रोही बनायो । कैयौं पढाइ छोडेर पहिचानको मुद्दा बोकी राजनीतिमा होमिए। कैयौंमा आफ्नै देशप्रति घृणा जाग्यो । कैयौंमा आफ्नै राष्ट्रप्रति शंका उब्जियो । डा. सिके राउत अहिले सांसद हुन् तर कुनै बेला उनी छुट्टै देश बनाउन चाहन्थे। अलगावाद उनको त्यो बेलाको राजनीतिक एजेन्डा थियो। राउत त्यस्तो पथकतावादी मुद्दा किन उठान गरे होलान् भन्ने प्रश्नको उत्तर खोज्न खासै कठिन छैन। उनी राजधानी नआएसम्म मधेसीमाथि गरिने विभेदको असली रुपबाट निकै टाढा थिए। काठमाडौं आएपछि विभेदले उनलाई पनि राम्रैसित घेर्‍यो। ऋतिक रोशन काण्ड हुँदा उनी काठमाडौंमै पढ्दै थिए। मधेसीहरूलाई कुटपिट गरेको, मधेसीको घर जलाएको दृश्य उनले आफ्नै आँखाले हेरे। त्यस बेला साथीहरूबाट थोरबहुत उनी पनि हेपिए। त्यो घटनाले उनलाई विभेदको असली रूप देखायो । त्यहीँदेखि उनमा विद्रोहको भावना जाग्यो ।

काठमाडौंमा अहिले पनि मधेसीलाई धोती, भैयाजस्ता शब्द सुनेर बस्नुपरेको छ । कतिको नजरमा मधेसी अझै पूर्ण नेपाली हुन सकेका छैनन् । मधेसी समुदायका नेताहरूले मधेसको कुनै मुद्दा उठाउनेबित्तिकै तिनलाई भारतीय वा भारतको इशारामा चलेको भनेर गाली गर्छन् । कतिले राजेन्द्र महतोको राष्ट्रियतामाथि अहिले पनि शंका गर्छन् । उनलाई बिहारी भनेर गाली गर्छन् । उनलाई अपमान गर्छन् । यो पूरै मधेसी अपमान हो । मधेसी बिहारी होइनन् । मधेसका धर्तीपुत्र हुन् । कतिले मधेसमा भारतीयलाई नागरिकता बाँड्दै छ भनेर हल्ला फैलाउँछन् । यो सब मधेस र मधेसीलाई बदनाम गर्ने दुस्प्रयास हो । शुद्ध नेपाली बोल्ने मात्र नेपाली हुने कथित सोच भएकाहरू मधेसीलाई गैरनागरिक र नेपाली बोल्ने गैरनागरिकलाई नेपाली ठान्छन् । भारतीय नेपाली भाषीलाई नेपाली र मधेसीलाई गैरनागरिक ठान्ने संस्कृति एकल राष्ट्रवाद हाबी भएको कुराको प्रमाण हो।

भोक मेटिएपछि मानिस पहिचानको आवश्यकताको महसुस गर्छ। धोती लगाउने कालो वर्णका मधेसी अहिले पनि काठमाडौंमा मजाको पात्र बन्छन् । मैथिली, भोजपुरी, अवधी बोल्ने मधेसी अझै पनि कतिको नजरमा नेपाली ठहरिँदैनन् । मधेसी पहिचानलाई विदेशी पहिचान देख्ने पात्रका कारण मधेसी अझै पनि दोस्रो दर्जाको नागरिक भएको महसुस गर्छन् ।

मधेसलाई विभेद गर्ने संस्कृति एकाएक आएको होइन। नयाँ नेपालको स्थापना भएदेखि नै त्यसको बीज गाडियो। त्यहीँदेखि राज्यले मधेसलाई उपेक्षा गर्न थाल्यो। राज्यले मधेसलाई रक्षाभन्दा पनि विभेद बढी गर्‍यो। मधेसको मलिलो माटोलाई माया गर्ने तर त्यहाँका आदिवासीलाई विदेशीसरह हेर्ने राज्यको त्यो विभेदित परिपाटीले मधेसीलाई भयरहित नागरिक हुन दिएन । त्यसको अवशेष अझै पनि बाँकी नै छ।

अहिले पनि काठमाडौंमा यात्रा गर्दा डरको भारी बोकेर यात्रा गर्नुपर्छ । को कति बेला धोती, भैया भनेर थर्काउँछ भन्ने कुराको डर अझै हुन्छ । कुटाइ खानेसम्मको डर हुन्छ । आफूलाई अझै सुरक्षित महसुस गर्न सकेको छैन । कुनै पनि विभेद चलनचल्तीमा एकचोटि आइसकेपछि त्यसको निर्मूल हुन निकै समय लाग्छ । कहिलेकाहीँ नहुन पनि सक्छ । अवशेषको रूपमा सदाका लागि रहिरहन्छ । मधेसीले भोगेको विभेदको इतिहास पनि त्यस्तै छ।

मधेसलाई विभेद गर्ने संस्कृति एकाएक आएको होइन । नयाँ नेपालको स्थापना भएदेखि नै त्यसको बीज गाडियो । त्यहीँदेखि राज्यले मधेसलाई उपेक्षा गर्न थाल्यो । राज्यले मधेसलाई रक्षाभन्दा पनि विभेद बढी गर्‍यो । मधेसको मलिलो माटोलाई माया गर्ने तर त्यहाँका आदिवासीलाई विदेशीसरह हेर्ने राज्यको त्यो विभेदित परिपाटीले मधेसीलाई भयरहित नागरिक हुन दिएन ।

मधेसीले आफ्नो पहिचानको मुद्दालाई राजनीतिक एजेन्डा बनाउँदा पनि कतिले मधेसीलाई राष्ट्रिय विरोधीको खेमामा राखेर हेर्न थाल्छन् । तत्कालीन तराई कांग्रेस र सद्भावना पार्टीले संघीयता र पहिचानको मुद्दा उठाउँदा निकै आलोचित हुने गरेको थियो । पहिलो र दोस्रो मधेस आन्दोलनको कारण देशमा संघीयताको शुरूवात भयो । मधेस विद्रोह पहिचानको विद्रोह थियो । सबै पहिचानवादीको लडाइँ थियो त्यो । तर राज्यले त्यसलाई दबाउन खोज्यो । धेरै मधेसी मारिए । पहिचान देऊ भन्दा गोलीले दागियो । राज्यले विभेद गर्ने तरिका त फेर्‍यो तर विभेद रोकेन । कैयौं मधेसीको सहादतपछि आठ जिल्ला मधेस बन्यो । थोरै भए पनि मधेसले पहिचान पाएको अनुभूति गर्‍यो ।

अन्त्यमा, विभेद गर्नेहरूको लागि केही शब्द– हामीलाई पनि भयरहित नागरिक भएर बाँच्न दिनुस् । तपाईंहरूजतिकै खाँटी नेपाली हामी पनि हौं । मधेसको इतिहास खोतल्नुस् । हामी पनि तपाईंहरूजतिकै पुरानो र शुद्ध नेपाली हौं भन्ने कुराको उत्तर पाउनुहुन्छ । नेपाली बोल्ने मात्र नेपाली होइन । नेपालमा सयौं भाषा बोलिन्छ, ती अन्य भाषीहरू पनि नेपाली नै हुन् । मधेसीलाई गैरनागरिक सोचेर तत्कालीन राज्यले गरेको गल्ती नदोहोर्‍याउनुस् । दौरा–सुरुवाल लगाउने मात्र नेपाली होइन, धोती लगाउने मधेसी पनि नेपाली नै हुन् भन्ने कुरामा ध्यान दिनुस् ।