गृह सचिवलाई नै पत्र बुझ्न २४ घण्टा

आधा दर्जन सचिवहरूलाई पछि पार्दै दुवाडी बने गृहसचिव

झण्डै २४ घण्टापछि सरुवा पत्र बुझेका नवनियुक्त गृह सचिव गोकर्णमणि दुवाडी शुक्रबार राति गृह मन्त्रालयमा पद बहाली गर्दै
3.1k
Shares

– अन्य सबै निर्णय भने बिहीबार राती नै बाहिरिएका थिए
–शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहमा विशेष जोड दिने प्रतिवद्धता
–चुनौतीका चाङ नै चाङ

काठमाडौं ।

निकै संवेदनशील मानिएको गृह मन्त्रालयमा नयाँ गृहसचिव ल्याउने विषय यसपटक निकै पेचिलो बन्न पुग्यो। कडा प्रतिस्पर्धाका बीच राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीले गृहसचिवमा बाजी मार्नुभएको छ। प्रतिस्पर्धामा रहनुभएका झण्डै आधा दर्जन सचिवहरूलाई पछाडि पार्दै दुवाडी गृहसचिव बन्न सफल हुनुभएको हो।

यद्यपि, बिहीबारको मन्त्रिपरिषद् बैठकले गृहसचिवमा दुवाडीलाई ल्याउने निर्णय गरेको भए पनि नयाँ गृहसचिवले पत्र बुझ्न भने झण्डै २४ घण्टा नै कुर्नुपर्‍यो। बिहीबार साँझ भएको निर्णयले पूर्णता पाउन शुक्रवार साँझसम्म झण्डै २४ घण्टा नै कुर्नुपरेको थियो । मन्त्रिपरिषद्ले गरेका अन्य कतिपय नियुक्तिलगायतका निर्णय भने बिहीबार राती नै सार्वजनिक भएका थिए ।

२४ घण्टापछि पत्र बुझ्नुभएका गृहसचिव दुवाडीले शुक्रवार साँझ नै गृह मन्त्रालयमा पुगी पदबहाली गर्दै कार्य प्रारम्भ गर्नुभएको छ । तत्कालीन गृहसचिव एकनारायण अर्याल १५ भदौमा मुख्य सचिव भएपछि गृहमन्त्रालय सचिवविहीन रहँदै आएको थियो ।
कडा प्रतिस्पर्धाका बीच गृहचिव बन्न सफल हुनुभएका दुवाडी समकालीन सचिवहरूमध्ये इमान्दार र कुनै विवादमा नपर्नुभएका वरिष्ठ सचिवको रूपमा रहनुभएको छ। उहाँले यसअघि लामो समयसम्म निर्वाचन आयोगको प्रशासनिक नेतृत्वमा रहेर सफलतापूर्वक काम गरिसक्नुभएको छ।

यसै गरी उहाँले भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा समेत काम गरिसक्नुभएको छ । गृह मन्त्रालयकै कुरा गर्दा मन्त्रालय मातहत सप्तरी र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरी उहाँले गृह प्रशासनको अनुभवसमेत लिइसक्नुभएको छ । यद्यपि, गृहप्रशासनमा धेरै प्रकारका चुनौतीहरू रहेका छन् । उहाँ चुनौतीका चाङबीच गृहसचिव बन्नुभएकाले गृह प्रशासनलाई अब्बल बनाउन उहाँले धेरै नै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

दुवाडीको गृहसचिवमा निर्णय भए पनि त्यसलाई अन्तिम रूप दिन झण्डै २४ घण्टा नै लाग्यो । स्रोतका अनुसार गत बिहीबार साँझ ५ बजे बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले गृहसचिवमा दुवाडीकै प्रस्ताव ल्याउनुभएको थियो तर पनि अन्य प्रस्तावमा फटाफट निर्णय गरेको मन्त्रिपरिषद्ले तत्काल सो प्रस्तावलाई केही समय छलफलको विषय बनाएको थियो । यसको कारण हो गृहसचिवमा अन्य केही सचिवहरूको निरन्तरको दौडधूप, केही शक्तिकेन्द्रसँग निकटता राख्दै आफ्नो पक्षमा माहोल बनाइहाल्न पाइन्छ कि भन्ने योजना र सोच । ‘यतिसम्म कि केही शक्तिकेन्द्रहरू गृहमन्त्रीले दुवाडीलाई सचिवमा ल्याउन गरेको प्रस्तावलाई निष्क्रिय पारिहाल्न सकिन्छ कि भनेर रातदिन चलखेलमा लागेका थिए, उनीहरूकै कारण बिहीबार गृहसचिव नियुक्तिको निर्णय मन्त्रिपरिषद्मा रोकिन पुगेको थियो तर उनीहरूको योजना पूरा हुन सकेन । ’ स्रोतले भन्यो ।

गृहसचिवको रेसमा अन्य सचिवहरू हरि मैनाली, अर्जुन पोखरेल, कृष्णहरि पुष्कर, विनोदप्रकाश सिंह, नारायणप्रसाद शर्मा दुवाडी, मुकुन्द निरौलालगायत रहेका थिए । यीमध्ये अधिकांश सचिवहरूको कुनै न कुनै शक्तिकेन्द्रसँग सम्बन्ध रहेकाले उनीहरू अन्तिम समयसम्म पनि सोही शक्ति केन्द्रमार्फत् नै गृहसचिव बन्ने अन्तिम कसरतमा लागेकाले दुवाडीको निर्णय सार्वजनिक हुन केही समय लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

केही सचिवहरू केही व्यापारी तथा उच्च राजनीतिक नेतृत्वसँग नेक्सस राख्दै गृहसचिव पद आफ्नो पोल्टामा पार्न लागे पनि उनीहरू सफल नभएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका प्रवक्तामार्फत् शुक्रवार दिउँसो २ बजेतिरै बिहीबारको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेको थियो । सो निर्णयमा पनि गृहसचिवको निर्णय उल्लेख थिएन । तर, ४ बजेपछि गृहसचिवको पत्र बनेलगत्तै सो निर्णय मन्त्रिपरिषद् बैठकको निर्णयमा समावेश गरिएको थियो ।

स्रोतका अनुसार गृहसचिव बन्न सफल हुनुभएका दुवाडीलाई केही समयअघि नै गृहमन्त्री लेखकले बचन दिइसक्नुभएकाले दुवाडी गृहसचिव बन्ने कुरामा करिब करिब ढुक्क रहनुभएको थियो यद्यपि, अन्य केही सचिवहरू शक्ति केन्द्रकहाँ दौडिएको थाहा पाउनुभएका उहाँ कतै माहोल बिग्रन्छ कि भन्नेमा सचेत र सर्तक पनि रहनुभएको बताइन्छ । बिहीबार राती दुवाडी आफैंले नेपाल समाचरपत्रसँग मन्त्रिपरिषद्बाट के भयो भन्ने बारेमा केही भन्न नसकिने र पिक्चर क्लियर भइनसकेको बताउनुभएको थियो। दुवाडीले शुक्रवार दिउँसो अबेरमात्रै गृहसचिवको पत्र बुझ्नुभएको थियो । गृहसचिवको पत्र बुझेलगत्तै उहाँले साँझ नै गृह मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको थियो ।

शक्ति केन्द्रसँग निकटता हुने र शक्तिशाली निकायको रूपमा रहेकाले गृहमन्त्रालयमा आउन अधिकांश सचिवहरू इच्छुक हुने गर्छन् र सोही अनुसार दौडधूप पनि गर्ने विषय सामान्य रहेको सरकारी अधिकारीहरूको भनाइ छ । ‘गृहमन्त्री बन्न राजनीतिक नेतृत्वको जति आकर्षण हुन्छ र दौडधूप चल्छ, गृहसचिव बन्न पनि प्रशासनिक क्षेत्रमा त्यतिकै आकर्षण हुन्छ र उस्तै दौडधूप चल्छ, यो स्वाभाविक हो ।’ गृह मन्त्रालयकै एक अधिकारीले भने।

अधिकारीहरूका अनुसार गृहमन्त्रालय धेरै हिसाबले अन्य मन्त्रालयभन्दा सर्वैसर्वा मन्त्रालय हो । अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेको विषय गृह मन्त्रालयले हेर्ने भएकाले यसले झण्डै झण्डै अवशिष्ट अधिकार पाएको छ । यसका साथै शक्ति केन्द्रसँग निकट सम्बन्ध राख्न पाइने, तीनवटै सुरक्षा निकाय हाँक्न पाइने, देशको सीमा अध्यागमनमा पहुँच राख्न पाइने, सुरक्षाकर्मीहरूबाट निरन्तर सलामी खान पाइने हुँदा छुट्टै रोवरवाफ बढ्ने भएकाले पनि गृहसचिव बन्न सचिवहरूको दौडधूप चल्ने गरेको बताइन्छ ।

कडा प्रतिस्पर्धाका बीच गृहसचिव बन्नुभएका दुवाडीले शुक्रवार पदबहाली गर्ने क्रममा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न, सुशासन कायम गर्न र विधिको शासन स्थापित गर्न आफू दृढ संकल्पित भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै उहाँले सबैलाई नतिजा र परिणाम निस्कने गरी काम गर्न आग्रह गर्नुभयो । गृहसचिव दुवाडीले मुलुकको शान्ति सुरक्षा र सुशासन कायम गर्ने सबालमा गृह मन्त्राल र मातहतका निकायको महत्वपूर्ण भूमिका हुने भएकाले सोहीअनुसार सबै जना परिचालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गृहसचिव दुवाडीले गृहमन्त्रालयको ५१ वटा कार्य जिम्मेवारी रहेको र अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका काम र जिम्मेवारी गृह मन्त्रालयको भएकाले सो जिम्मेवारी पूरा गर्न गृह प्रशासनमा आवद्ध सबैजना दत्तचित्त भएर कार्य क्षेत्रमा खट्नुपर्ने बताउनुभयो । उहाँले आफू काम र परिणाममा जोड दिने र त्यसैका आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

गृह मन्त्रालयमा केही दिनदेखि सचिव पद रिक्त रहँदै आएकाले कर्मचारी व्यवस्थापन भद्रगोलजस्तै बन्न पुगेको छ । सहसचिव र उपसचिवलगायत गरी झण्डै दुई दर्जन उच्च अधिकारीहरूले लामो समयदेखि जिम्मेवारी पाउन नसक्दा हाजिर गर्न र त्यतिकै फर्कन विवस छन् । उनीहरू अहिले बरण्डा शाखामा बस्न बाध्य भएकाले नयाँ सचिवले तत्काल उनीहरूको व्यवस्थापन गर्नुपर्ने देखिएको छ । यसै गरी उहाँले सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँची जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएकाले तत्काल ती जिल्लामा प्रजिअहरू पठाउनुपर्ने देखिन्छ ।

गृहसचिवका १५ योजना, निर्देशन र प्रतिवद्धता
–शान्ति सुरक्षा कायम गर्ने प्रमुख दायित्व भएकाले सोहीअनुसार सबैजना परिचालित हुनुपर्छ
– मुलुकको सुशासन कायम गर्न गृह मातहतका सबै जना दत्तचित्त भएर खटौं
–विपद् व्यवस्थापन र पूर्व तयारीमा अग्रसर हुनुपर्छ
–गृहमन्त्रालयलको ५१ वटा कार्य जिम्मेवारी भएकाले सोहीअनुसार सबैजना गम्भीर भएर काममा लागौं
–विकास व्यवस्थापनमा उचित सहजीकरण गरिने
–सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिइने
–प्रधानमन्त्री र मन्त्रीको आवश्यक निर्देशनको कार्यान्वय गरिने
– सरकारको सय दिने कार्ययोजनालाई नतिजा दिने गरी कार्यान्वयन
–सबैले पेशागत मर्यादा राखेर काम गरौं
–आफू टिमवर्कमा काम गर्ने भएकाले सबैको सहयोग आवश्यक पर्ने
–पुरस्कार र दण्डको उचित व्यवस्था गरिने
–गृह प्रशासनमा काम गर्नेहरू इन्नोभेटिभ र सिर्जनात्मक हुनुपर्ने
–आफू सबैको सहयोग र सल्लाहमा अघि बढ्ने
–गृह प्रशासनले परिणाम आउने गरी काम गर्नुपर्ने
–कसैमाथि कुनै प्रकारको भेदभाव नगरिने, कामको सम्मान गरिने

यस्ता छन् नयाँ गृहसचिवका दायित्व र चुनौती
–कानुनी राज्य स्थापना गर्न सशक्त पहल गर्ने
–सरकारी सेवालाई प्रभावकारी बनाउन भूमिका खेल्ने
–शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउने
–राजनीतिक नेतृत्वलाई गलत गर्न नदिने, गलत कामको साक्षी बस्न नहुने
–हडपिएको सार्वजनिक जग्गा खोज्ने र अतिक्रमण हटाउने
–विभिन्नखाले तस्करीको जालो च्यात्नुपर्ने
–गृह प्रशासनको मनोबल उच्च बनाउनुपर्ने
–गृह प्रशासन सुधारको नयाँ रोडम्याप बनाउनुपर्ने
–भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने
–कालोबजारी गर्नेमाथि कठोर कदम चाल्नुपर्ने
–देशव्यापी बजार अनुगमनलाई समन्वयत्मक रूपमा निरन्तर अघि बढाउने
–कारागार सुधारलाई वैज्ञानिक बनाउने
–मन्त्रालयको ५१ वटा कार्य जिम्मेवारीलाई उचित कार्यान्वयन गर्ने
–विपद् व्यवस्थापन र पूर्व तयारीलाई चुस्त दुरुस्त बनाउनुपर्ने
–गृह प्रशासनमार्फत् आम जनतालाई सुशासन, विकास र सेवा प्रवाहको प्रत्याभूति दिलाउने
–सबै विदेशी नागरिकको अभिलेख व्यवस्थित बनाई अवैध गतिविधिको निगरानी गर्ने
–विकासे मन्त्रालय र ठेकेदारबीच रहेका विभिन्न अपवित्र साँठगाँठलाई निर्मूल पार्ने