श्रीकृष्णले शिर छेदन गरेपछि लाखे जात्रा सम्पन्न

6.86k
Shares

धादिङ ।

धादिङ बेसीका नेवार समुदायले गाई जात्रा तथा रक्षाबन्दनको दिनदेखि सुरु गरेको लाखे जात्रा (लाखेनाच) को आज शनिवार विधिवत रुपमा समापन भएको छ  ।

 मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु गरिएको थियो ।

हरेक वर्ष जनैपूर्णीमा (रक्षाबन्धन)को दिन देखि  तिजको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे जात्रा शनिबार सकिएको हाे । भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई शिर छेदन गरी बध गरेसँगै अन्त्य भएको हो । 

भगवान श्रीकृष्णले भयंकर राक्षसी भुतलाई बासुरी बजाएर मायाँजालमा पारेर बध गरिएपछि लाखे मारिएको विश्वास गरिन्छ । राक्षसले जनतालाई दुख नदेओस् भनेर लाखे जात्रा निकालेर यसकाे अन्त्य हरेक वर्ष गर्ने गरिन्छ । 

झिंगु नेवाः समाज धादिङको अगुवाइमा सुरु भएको जात्राको आज शनिवार लाखे मारेर समापन गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

नेवार समुदायको आस्था र परम्परागत संस्कृतिको प्रतिविम्बको रुपमा परिचित लाखे नाच परिचित छ । विभिन्न कला र संस्कृतिमध्ये धादिङबेसी बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौँदेखि चल्दै आएको मौलिक, सांस्कृतिक  पहिचान हो ।

 लाखेनाचको प्रदर्शनले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।विसर्जन गर्ने क्रममा जात्रामा सहभागीहरूलाई टीका लगाई प्रसाद वितरण गरिएको छ । अन्य समयमा रोक लगाइएको तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुन समेत सहभागीहरूलाई खुवाएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन् । लाखे निकाल्ने दिनदेखि लाखे विसर्जनका बिचमा गाइजात्रा, रोपाइ जात्रा, इन्द्र जात्रा लगायतका पर्वहरु मनाइएको हो ।

लाखेको सांस्कृतिक महत्त्व 

राजा गुणकाम देवको पालादेखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पालादेखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरी लाखे नाँँच नाच्ने गरिएको पाइन्छ । काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । धादिङमा वि स २०६२ सालमा नेवार समुदायको आधिकारिक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा लाखे जात्रा सञ्चालन हुदैं आएको छ ।

लाखे नाचको विशेषता

लाखे नाच लाखे जात्राको प्रमुख आकर्षण हो। यो नाचमा सहभागी पात्रले राक्षसको रूप धारण गर्छन्। जसका लागि ठूलो र डरलाग्दो मुखुण्डो, रातो वा कालो रङको विशेष पोसाक, र विशाल आकारका माला तथा अन्य आभूषण प्रयोग गरिन्छ। लाखेले गरेको आक्रामक नाचका माध्यमबाट दुष्ट शक्तिहरूलाई परास्त गरिन्छ भन्ने मान्यता छ।

लाखे नाचको विशेषता भनेको यसको भव्य र अद्वितीय प्रस्तुति हो। लाखे पात्रले गाउँको भित्रिभागसम्म हिँड्दै मानिससँग आन्तरिक संवाद गर्दै डर र उत्सुकता उत्पन्न गराउँछ। लाखेको नृत्य शैली आक्रामक, उत्तेजित र निकै गतिशील हुन्छ, जसले जात्रामा एक अलग र रहस्यमय माहौल सिर्जना गर्छ।