गृहसचिव दुवाडीको पदबहाली : शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहमा विशेष जोड दिने प्रतिवद्धता

–गृहसचिवले उठाएका महत्वपूर्ण १५ सवाल यस्ता छन्


काठमाडौं ।

नवनियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले शुक्रबार नै गृहमन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको छ । पदबहाली गर्दै गृह सचिव दुवाडीले मुलुकको शान्ति सुरक्षा र सुशासन कायम गर्ने सबालमा गृहमन्त्राल र मातहतका निकायको महत्वपूर्ण भुमिका हुने भएकाले सोही अनुसार सबै जना परिचालन हुनुपर्ने बताउनुभयो ।

पदबहालीको क्रममा बोल्दै गृहसचिव दुवाडीले गृहमन्त्रालयको ५१ वटा कार्यजिम्मेवारी रहेको र अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका काम र जिम्मेवारी गृहमन्त्रालयको भएकाले सो जिम्मेवारी पुरा गर्न गृहप्रशासनमा आवद्ध सबै जना दत्तचित्त भएर कार्यक्षेत्रमा खट्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले कामको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिने दृढता व्यक्त गर्नुभयो । दुवाडीलाई सरकारले लामो रस्साकस्सीबीच गृहसचिव बनाएको थियो । गृहसचिवको प्रतिस्पर्धामा रहेर आधा दर्जन बढि सचिवहरुलाई पछि पार्दै दुवाडीले गृहसचिवमा बाजी मार्नुभएको हो ।

दुवाडी निजामती प्रशासनमा कुनै विवादमा नपर्नुभएका स्वस्च्छ छविका प्रशासक हुनुहुन्छ । उहाँबाट गृहप्रशासन सुधारको आशा गरिएको छ ।

पदबहालीका क्रममा गृहसचिवले उठाएका महत्वपूर्ण १५ सवाल
–मुलुकको सुशासन कायम गर्न गृहप्रशासनको महत्वपूर्ण भुमिका
–शान्ति सुरक्षा कायम गर्ने प्रमुख दायित्व भएकाले सोही अनुसार सबै जना परिचालित हुनुपर्ने
–विपद् व्यवस्थापन र पुर्व तयारीमा अग्रसर हुनुपर्ने
–गृहमन्त्रालयलको ५१ वटा कार्यजिम्मेवारी भएकाले सोही अनुसार सबै जना गम्भीर हुनुपर्ने
–विकास व्यवस्थापनमा उचित सहजकिरण गरिने
–सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिइने
–प्रधानमन्त्री र गृहमन्त्रीकाे निर्देशनको कार्यान्वय गरिने
–सय दिनको कार्ययोजना तत्काल बनाउनुपर्ने
–सबैले पेशागत मर्यादा राखेर काम गर्नुपर्ने
–आफु टिमवर्कमा काम गर्ने भएकाले सबैको सहयोग आवश्यक पर्ने
–पुरस्कार र दण्डको उचित व्यवस्था गरिने
–गृह प्रशासनमा काम गर्नेहरु इन्नोभेटिभ र सिर्जनात्मक हुनुपर्ने
–आफु सबैको सहयोग र सल्लाहमा अघि बढ्ने
–गृह प्रशासनले परिणाम आउने गरी काम गर्नुपर्ने
–कसैमाथि कुनै प्रकारको भेदभाव नगरिने, कामको सम्मान गरिने