गृहमन्त्री लेखक र विश्व बैंक पदाधिकारीबिच भेटवार्ता


काठमाडौं ।  गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेनसहितका पदाधिकारीबिच भेटवार्ता भएको हो । उनीहरुबिच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा लगानीबारे छलफल भएको थियो ।

२०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताए । 

विश्व बैंकले नेपाललाई ऋण दिँदा पुरा गर्नुपर्ने विभिन्न कार्य मध्ये पूर्वकार्य गर्नु बाँकी रहेकोको सिस्लेनले चासो राख्नु भएको थियो । ‘ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । यो ढिला भयो । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौं,’ उनले भने । 

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नु काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेसम्म विश्व बैंकले गरेको योगदानका लागि धन्यवाद दिए । 

विपद् व्यवस्थापनका लागि ऋण भन्दा पनि बढी अनुदान सहयोगका लागि गृहमन्त्री लेखकको जोड थियो । ‘जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनर्निर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौं ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्यो,’ उनले भने ।