विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो : प्रधानमन्त्री ओली


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाएरनपाएको अब सरकारले अनुगमन गर्ने उनले बताए ।

सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।

दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैर आवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने छन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ ।

शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति बिकट हिमाली जिल्लाका विद्यार्थी लगायत ७ वटा लक्षित समुहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रबृत्ति प्रदान गरिएको छ ।

माथि उल्लेखित छात्रवृति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाव गरी ससर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यस सम्बन्धि कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ ।