वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडक बन्द, तिज मनाउन हिडेका यात्रुलाई सास्ती

3.85k
Shares


म्याग्दी ।

गए राति परेको वर्षासँगै खसेको पहिरोले हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम अवरुद्ध भएको छ ।

वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, कुनौटे र अन्नपूर्ण–७, महभीर खण्ड आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोमसम्म कुल ७६ किलोमिटर दूरी रहेको बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्ड वर्षात्को समयमा पहिरो खसेर पटकपटक अवरुद्ध हुँदै आएको छ ।

सडकभन्दा माथिबाट ढुङ्गा, माटो र गेगरसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउन बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । सडक अवरुद्ध भएको ठाउँमा पहिरोको जोखिम कायमै रहेकाले अवरुद्ध सडक खुलाउन समस्या भैरहेको छ ।

बेनी–जोमसोम सडकको विभिन्न पाँच ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएकोमा अहिलेसमम तीन ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको र बाँकी दुई ठाउँमा पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका लागि छुटेका सवारीसाधनहरु बीच सडकमा नै रोकिएका छन् । कमजोर भू–बनोट, भूमिगत जलप्रवाह र सडक स्तरोन्नतिको कार्य जारीरहेको अवस्थामा वर्षा हुँदा भू–स्खलन भई छिनछिनमा पहिरो खस्ने गरेको सडक योजनाका प्राविधिकहरु बताउँछन् ।

यता पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडक पनि वर्षासँगै पहिरो खसेपछि विभिन्न चार ठाउँमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीर, मंगला–२, बाबियाचौरको सिम र लाम्पाटा तथा मालिका–६, दरबाङको बाङ्गेभीर भन्ने ठाउँमा सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन पूर्वाधार विकास कार्यालय म्याग्दीसँग पहल गरिएको छ ।

सडकभन्दा माथिबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा अवरुद्ध सडक खुलाउन भने समस्या भैरहेको प्रहरीले जनाएको छ । बेनीदेखि दरबाङसम्म कुल २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकको घुमाउनेभीर तथा बाङ्गेभीर पहिरोको उच्च जोखिममा पर्छ । पहिरोले बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध बनेपछि तिज पर्व मनाउन जानेहरुलाई आवतजावतमा सास्ती भएको छ । अवरुद्ध सडकमा पहिरोको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाएर आवतजावत गर्न आग्रह गरिएको छ । रातको समयमा परेको भारी वषाले सडकमा पहिरो खसेको छ भने दिउँसोको समयमा चर्को घाम लाग्ने तथा राति भारी वर्षा हुने क्रम भैरहेकाले पहिरोको जोखिम बढेको हो ।

उत्तर र दक्षिणको छिमेकी मुलुकहरु चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नेपालको सबैभन्दा छोटो दूरीको सडक मानिन्छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडक गण्डकी प्रदेशको लाइफलाइनको रुपमा लिने गरिएको छ । यसैगरी बेनी–दरबाङ सडक पश्चिम म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने काम गर्छ ।

म्याग्दीको पश्चिम भेगका तीनवटा पालिका हुँदै जलजला–ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी–दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ । छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरुले समेत बेनी–दरबाङ सडकको रुट प्रयोग गर्ने गर्दछन् । बागलुङ–बुर्तिबाङ भएर पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा छोटो दूरीमा पर्ने भएकाले म्याग्दीको बेनी–दरबाङ सडकलाई लिने गरिन्छ ।