चोभारमा पुष्प तथा फलफूल बजारको काम तत्काल पुरा गर्न कृषि मन्त्री अधिकारीकाे निर्देशन


काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् ।

२०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री अधिकारी शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेका थिए । ११औ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवन बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजिकरण गर्नका लागि तयार रहेको बताए । चोभार रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुबै लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।


२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि २०८०चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औँ पटक म्याद थप भएको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्न झन्डै एक साता मात्र समय बाँकी छ । तर, पूर्व सहमति अनुसार अझै १३ प्रतिशत काम पुरा हुन सकेको छैन भने समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।

लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषि मन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका हुन् ।