गृह सचिव बन्न किन हुन्छ मरिहत्ते ?

सचिवहरूकै तीव्र दौडधुप र शक्तिकेन्द्रको चलखेल बढेपछि सकस

11.84k
Shares

काठमाडौं ।

गृह मन्त्री बन्न  राजनीतिक नेतृत्वको जति आकर्षण हुन्छ ,गृह सचिव बन्न पनि  प्रशासनिक क्षेत्रमा त्यतिकै आकर्षण छ ।  गृहमन्त्री हुन राजनीतिक नेतृत्वमा जति दौडधुप चल्छ प्रशासनिक क्षेत्रमा पनि गृह सचिव बन्न  त्यतिकै दौडधुप चल्ने गर्छ । 

अहिले त्यस्तै भएको छ । बिहीबार साँझदेखिको गृह सचिवको  दौडधुप शुक्रवार दिउसो सम्म जारी छ । 

 बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको गृह सचिव नियुक्ति गर्ने विश्वास गरिए पनि सचिवहरूकै दौडधुप, विभिन्न शक्तिकेन्द्रको चलखेलका कारण सरकारले गृह सचिव नियुक्तिलाई शुक्रवार दिउसो सम्म पनि  टुंगाउन सकेको छैन । गृहमन्त्री रमेश लेखक जिल्ला बाहिरको भ्रमण सकेर बिहीबार साँझ अबेर मात्रै मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुभएको थियो ।

गृहमन्त्रीले  गृह सचिव कसलाई बनाउने भन्ने बारेमा प्रशस्त छलफल र तयारी गर्न नसक्नु भएकाले बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह सचिव छनौट गर्न असफल भएको बताइएको छ । यद्यपि गृह सचिवमा प्रधानमन्त्रीको समेत केही रुचि रहेकाले गृहमन्त्री एक्लैले चाहँदैमा गृह सचिव बनाउन नसक्ने परिस्थिति सिर्जना भएको थियो । ‘गृहमन्त्रीले पनि प्रशस्त गृहकार्य गर्नुभएको पाइएन, प्रधानमन्त्री र गृहमन्त्री  बिच यस विषयमा गम्भीर छलफल र समन्वय भएको नदेखिएकाले गृह सचिव नियुक्तिमा ढिलाइ भएको हो । ’स्रोतले नेपाल समाचारपत्र सँग भन्यो ।

मन्त्रिपरिषद् बैठकले बिहीबारकै मन्त्रिपरिषद्को निर्णयमा गृह सचिव नियुक्ति हुने र त्यसका लागि मन्त्रिपरिषद्ले  नै गृह सचिवको नामको टुंगो लगाउने अधिकार गृहमन्त्रीलाई नै दिने निर्णय गरेको थियो । सो निर्णय  अनुसार गृहमन्त्रीले गृह सचिव छनौटका लागि   प्रधानमन्त्रीसँग आवश्यक समन्वय र छलफल गरिरहनुभएको बताइएको छ । स्रोतका अनुसार गृह सचिव बन्न सचिवहरु गोकर्णमणि दुवाडी, नारायण प्रसाद शर्मा दुवाडी, कुष्णहरि पुष्कर,  हरि मैनाली, विनोद  प्रकाश सिंह,अर्जुन पोखरेल  लगायत प्रतिस्पर्धामा रहनुभएको छ ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री सँग समन्वय गरेर गृह सचिव छनौट गर्ने अधिकार गृहमन्त्री लेखकलाई दिए पनि लेखकले निर्विकल्प गृह सचिव छान्न सक्नुभएको छैन । यद्यपि शुक्रवार दिउसो सम्मको घटनाक्रम अनुसार गृह सचिवका   प्रमुख दाबेदारका रूपमा गोकर्णमणि दुवाडी, नारायण प्रसाद शर्मा दुवाडी, कृष्णहरि पुष्कर,  अग्रपंक्तिमा देखिनुभएको बताइएको छ । मन्त्री लेखकले  गोकर्णमणि दुवाडीको नाममा सहमति खोज्ने प्रयास गरिरहेकाले  गृह सचिवमा उहाँकै बढी सम्भावना देखिएको बताइएको छ । 

यसै गरी गृह सचिव बन्न हरि मैनाली, अर्जुन पोखरेल , विनोद प्रकाश सिंह लगायतको पनि दौडधुप जारी नै रहेको बताइएको छ । सरकारले गृहमन्त्री नियुक्तिमा ढिलाइ गरिरहँदा त्यसले राम्रो सन्देश भने गएको छैन । प्रधानमन्त्री र गृहमन्त्रीले यो विषयलाई तत्काल टुंगोमा पु¥याउनुपर्ने आवश्यकता देखिएको एक मन्त्रीले बताए ।

‘गृह सचिवमा यस्तो मरिहत्ते  हुनु र सरकारले  समयमा नै  गृह सचिव नियुक्त गर्न नसक्नुले सरकार कमजोर भएको सन्देश जान सक्छ, यो राम्रो होइन, प्रधानमन्त्री र गृहमन्त्री संवेदनशील बन्नुपर्छ । ’ती मन्त्रीले नेपाल समाचारपत्रलाई भने । 

किन छ गृह सचिवमा आकर्षण ? 

गृहमन्त्रालय धेरे हिसाबले अन्य मन्त्रालय भन्दा सर्वेसर्वा मन्त्रालय हो । अन्य मन्त्रालयको कार्य विभाजनमा नपरेको विषय गृह मन्त्रालयले हेर्ने भएकाले  यसले झन्डै झन्डै अवशिष्ट अधिकार पाएको छ ।यसैका कारण पनि गृह सचिव बन्न सचिवहरूको दौडधुप चल्ने गर्छ । शक्तिकेन्द्रसँग  निकट सम्बन्ध राख्न पाइने, तीन वटै सुरक्षा निकाय हाँक्न पाइने, देशको सीमा, अध्यागमनमा पहुँच राख्न पाइने भएकाले पनि गृह सचिव बन्न सचिवहरूको दौडधुप चल्ने गरेको हो ।

यसै गरी देशका ७७ वटै  जिल्लाका प्रमुख जिल्ला अधिकारीको खटनपटनमा समेत गृह सचिवकै महत्त्वपूर्ण भूमिका रहने गर्छ । यसै गरी गृह सचिव भएपछि निरन्तरको सलामी खान पाइने , रवाफ बढ्ने र छुट्टै फुर्तीफार्ती गर्न पाइने भएकाले पनि यसका लागि सचिवहरूको बढी दौडधुप चल्ने गर्छ । साथै मन्त्रालयबाट विभिन्न आर्थिक सहायता   समेत वितरण  गर्न पाइन्छ । यस्तै प्रहरी, व्यापारी  लगायतका  विभिन्न निकायबाट  आर्थिक लाभ समेत हुने भएकाले पनि गृह सचिवमा बढी आकर्षण हुने गरेको बताइएको छ । 

गृहका साथै सुरक्षा निकायको सरुवा, बढुवामा पनि धेरै पदहरूमा गृह सचिवको   महत्त्वपूर्ण भूमिका रहन्छ । आइजिपी, एआइजीको बढुवामा पनि कुनै न कुनै किसिमले गृह सचिवको भूमिका महत्त्वपूर्ण हुने र त्यसबाट गृह सचिव लाभान्वित हुन  सक्ने भएकाले गृह सचिव मा बढी दौडधुप हुने गरेको  बताइएको छ । यद्यपि अपवादमा आउन सक्ने इमानदार र नैतिक वान सचिवका हकमा भने यो लागू हुन नसक्ने गृहकै अधिकारीहरूको भनाई छ । 

धेरै जिम्मेवारी भएकाले पनि आकर्षण 

नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ ले गृहमन्त्रालयलाइ अन्य मन्त्रालयको कार्य विभाजनमा नपरेका विषय हेर्ने सहित ५१ वटा कार्य जिम्मेवारी दिएको छ । यो अन्य मन्त्रालयको तुलनामा सर्वाधिक धेरै  कार्य जिम्मेवारी हो ।  यी कार्य जिम्मेवारी बहन गर्दा विभिन्न शक्तिकेन्द्रहरूसँग निकट सम्बन्ध राख्न पाइने र त्यसले आफ्नो स्वार्थमा समेत  मद्दत पुग्न सक्ने भएकाले पनि गृह सचिव बन्न बढी दौडधुप हुने  गरेको बताइएको छ । यस्ता छन् गृह सचिवकै कमान्डमा मन्त्रालयले   बहन गर्नुपर्ने ५१ वटा कार्य जिम्मेवारी यस्ता छन् …

यस्ता छन् गृह सचिवकै कमान्डमा हुने कार्यहरू:

१. आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्था सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन र नियमन

२. विशिष्ट व्यक्ति, महत्त्वपूर्ण स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोक मार्गको सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा प्रबन्ध

३. संघ र प्रदेशसम्बन्धी कानुन, सुपरिवेक्षण र समन्वय

४. अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन

५. अपराध अनुसन्धान र अपराध अनुसन्धानको अभिलेख

६. अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय समन्वय तथा सहयोग

७. सुपुर्दगीसम्बन्धी कानुन, सन्धि, सम्झौता र कार्यान्वयन

८. नागरिकता सम्बन्धी नीति, कानुन, कार्यान्वयन र नियमन

९. पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी कानुन

१०. उमेर, नाम र जात सच्याउने सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन

११. हातहतियार, खरखजाना तथा बिस्फोटक पदार्थको प्रयोगसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन, नियन्त्रण नियमन

१२. यातना पीडित सम्बन्धी नीति, कानुन, मापदण्ड, समन्वय र नियमन

१३. निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन सम्बन्धी नीति, कानुन र मापदण्ड

१४. अभियुक्त, थुनुवा र कैदी अन्तर प्रदेश स्थानान्तरण सम्बन्धी

१५. शरणार्थी मामिला सम्बन्धी नीति, कानुन र व्यवस्थापन

१६. सम्पत्ति प्राप्ति, जग्गा प्राप्ति, अधिग्रहण र मुआब्जा सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन

१७. चिठ्ठा तथा जुवा नियन्त्रण सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन

१८. विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन

१९. राष्ट्रिय विपद् कोष स्थापना सञ्चालन तथा प्रादेशिक विपद् कोषमा सहयोग र समन्वय

२०. सजाय, माफी, मुल्तबी र परिवर्तन

२१. निर्वाचन तथा जनमत संग्रह

२२. सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन

२३. इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी संगठनहरुसँगको सम्पर्क र समन्वय

२४. मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन

२५. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग र समन्वय

२६. अन्तर्राष्ट्रिय सीमा, सीमा स्तम्भको सुरक्षा, सीमा प्रशासन तथा अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा

२७. सशस्त्र विद्रोह, आर्थिक तथा सङ्गठित अपराध, आतङ्ककारी क्रियाकलाप एवं अवैध संघसंस्थाहरुको गतिविधि नियन्त्रण र बारुदी सुरुङ्गको निवारण

२८. सार्वजनिक चासो र महत्त्वका सूचना सङ्कलन, आदानप्रदान, विश्लेषण, उपयोग र संरक्षण

२९. राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन

३०. विदेशी नागरिकको प्रवेश, उपस्थिति, गतिविधि तथा प्रस्थानको व्यवस्थापन, नियमन, नियन्त्रण र अभिलेखीकरण

३१. अध्यागमन

३२. अत्यावश्यक वस्तु वा सेवाको आपूर्ति समन्वय;

३३. उपाधि, सम्मान तथा विभूषण र सुशोभन

३४. द्वन्द्व पीडित तथा विस्थापित व्यक्तिहरुको राहत तथा पुनर्स्थापना

३५. आर्थिक सहायता

३६. लागु औषध नियन्त्रण

३७. धार्मिक विषय, तीर्थस्थान र तीर्थयात्री

३८. कल्याण धन र बेवारिसी धन

३९. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराधको नियन्त्रण

४०. सार्वजनिक चन्दा सङ्कलन नियमन र नियन्त्रण

४१. गृह प्रशासन (कारागार, शान्ति सुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत) विषयक राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय र सम्पर्क

४२. निर्वाचन आयोग

४३. नेपाल पहरी

४४. सशस्त्र प्रहरी बल, नेपाल

४५. प्रहरी कल्याण

४६. प्रहरी कितावखाना

४७. सार्वजनिक विषयसँग सम्बन्धित विवाद, घटनाको जाँचबुझ र अनुसन्धान

४८. सवारी नियन्त्रण तथा सरकारी सवारी साधनको व्यवस्थापन र समन्वय

४९‍. मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय

५०. मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्चालन र नियमन

५१. अन्य मन्त्रालयको कार्य विभाजनमा नपरेका विषयहरु