वाम एकताको विषयमा एमाले–माओवादीबीच मतभेद

2.82k
Shares

काठमाडौं ।

२०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्रबीच चुनावी तालमेलबाट पाएको संसद्को करिब दुईतिहाइ सिट सम्हाल्न नसकेर फुटेका एमाले र माओवादीबीच कम्युनिस्ट एकताको विषयमा ठूलो मदभेद देखिएको छ। सत्ताप्राप्तिको मूलभूत राजनीतिक जोडघटाउमा लागेर पटक पटक एकता र टुटफुटको इतिहास रचेका उनीहरूले वामपन्थी एकताको विषयमा पक्ष र विपक्षमा बहस चलाइरहेका हुन्।

सत्तारुढ नेकपा (एमाले) वामपन्थी पार्टीहरूबीच कुनै मोर्चाबन्दी नहुने प्रष्टीकरण दिँदै आएको छ। यता, सत्ताबाहिर पुगेको नेकपा माओवादी केन्द्रले भने बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यकता औंल्याएको छ । वि.सं. २००६ सालदेखि २०१९ सम्म एउटै कम्युनिस्ट शक्तिका रूपमा रहे पनि तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्टहरू दर्जनौं समूहमा विभाजित भएको राजनीतिक इतिहास साक्षी छ।

त्यसयता पनि पटक पटक एकता र विभाजनका शृङ्खलाहरू पार गर्दै आएका कम्युनिस्ट पार्टीहरू अहिले दर्जन बढी समूहमा विभाजन छन् । यद्यपि, नेपालको संसदीय राजनीतिको मूलधारमा रहेका एमाले र माओवादी पनि सत्ता र प्रतिपक्षमा छ । नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई आश्वस्त पार्दै वामपन्थी पार्टीहरूबीच कुनै मोर्चाबन्दी नहुने प्रस्ट पारेको छ । बुधबार सम्पन्न पोलिटब्युरो बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आगामी चुनाव एक्लै लड्ने बताउनुभयो ।

बैठकमा वामपन्थीका नाममा कुनै मोर्चा बन्छन् कि भन्ने विभिन्न कोणबाट कुरा आए पनि त्यो सम्भव नरहेको अध्यक्ष केपीशर्मा ओलीले बताउनुभएको गौतमको भनाइ छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले अब कांग्रेस पनि एक्लै चुनाव लड्ने ठाउँमा पुगेकाले एमालेका लागि एक्लाएक्लै प्रतिस्पर्धाको मौका आएको बताउनुभएको जानकारी दिनुभयो । बैठकपछि उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भनेको छ । एमाले हिजो पनि एक्लै गठबन्धनसँग लडेको र आज पनि एक्लै चुनाव लड्छौं । आफ्नो नीति तथा कार्यक्रम लिएर वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन ।’

माओवादीसँगको चुनावी एकता र पार्टी एकीकरणपछि भएको फुटको घाउलाई अझै मल्हम पट्टी गर्न नसकेको स्मण गर्दै एमाले नेताहरूले कसैको बहकाउमा हतार गरेर कम्युनिस्ट एकता भनेर हिँड्न नसकिने बताएका छन् । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले नेपालमा कम्युनिस्ट एकता आवश्यक भए पनि अहिलेको परिवेश, नेपालको अवस्था र कम्युनिस्ट भन्ने राजनीतिक दलहरूको चरित्रले वामपन्थी एकताको नारा बोकेर हिँड्ने अवस्था नभएको बताउनुभयो । डेढ वर्षअघि चार दलीय कम्युनिस्ट घटकबीच बनेको समाजवादी मोर्चामा समेत नरहेको एमालले वामपन्थी एकताको विषयलाई प्रथमिकता नराखेको नेताहरूले बताएका छन्।

उक्त समाजवादी मोर्चा भने अहिले पनि कायमै छ । सो मोर्चामा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बाहिरिए पनि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव समुहको नेकमा माओवादीले मोर्चा धानेका छन् । यद्यपि, मोर्चाका कुनै पनि गतिविधिहरू सक्रिय छैनन्। पूर्वसभामुख समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन जरुरी रहेको बताउनुभएको छ।

सापकोटाले बिहीबार एक कार्यक्रममा भन्नुभयो–‘हामीले फेरि एक पटक बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्ने छ । हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक महसुस गरेका छौं ।’

कांग्रेससँगको सत्ता सहकार्यलाई केही समय जोगाउन पनि एमालेले यो विषयमा प्रवेश गर्न नचाहेको कतिपय वाम बुद्धिजीवीहरू बताउँछन् । तर, गत पार्टी विभाजन यता माओवादीसँग निकै चिडिएको एमाले २०७९ को निर्वाचनपछि नजिकिएर सत्ता सहकार्य गरेको थियो।

पछि एमालेसँगको सम्बन्ध तोडेर माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगकै सहकार्यलाई अघि बढाए पनि फेरि गत फागुन २१ देखि असार मसान्तसम्म एमाले–माओवादीबीच सत्ता सहयात्रा भएको थियो । यसरी हेर्दा बिचार सिद्धान्त र एजेन्डाको लडाईंमा एकता वा फुट भन्दा पनि सत्ताप्राप्तिकै मूल विषय भएकाले कम्युनिस्ट पार्टीबीच अहिले एकता हुने सम्भावना रहेको वाम विश्लेषककहरूको भनाइ छ ।

यद्यपि, केही समयका लागि साना कम्युनिस्ट घटकबीच कार्यगत एकता हुने र त्यसलाई पार्टी एकताजस्तो देखाएर सत्ता बार्गेनिङको एउटा औजार बनाउने बाहेक वैचारिक सैद्धान्तिक र जनजीविकाका सवालमा खासै उपलब्धि नहुने उनीहरूको तर्क छ ।