प्रेमीले आगो लगाइदिएपछि युगान्डाकी ओलम्पियन रेबेटाको मृत्यु


काठमाडौँ । 

युगान्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उनको मृत्यु भएको हो ।

३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन् । आइतबारको आक्रमणमा उनी ७५ प्रतिशत जलेको र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । 

केन्यामा बस्ने रेबेटालाई चर्चबाट फर्किँदै गर्दा आक्रमण भएको थियो । रेबेका उत्तरपश्चिमी केन्यामा बसेर प्रशिक्षण लिइरहेकी थिइन् । स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लागेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

युगान्डा एथलेटिक्स फेडरेसनले लेखेको छ- ‘आज बिहान हाम्रा एथलिट मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो । उनी घरेलु हिंसाको सिकार भइन् । हामी त्यस्ता कार्यको भर्त्सना गर्दछौँ र न्यायको माग गर्दछौँ ।’