प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे – महासचिव पोखरेल


काठमाडौं ।

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

उनले भने- ‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ । प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

महासचिव पोखरेलले आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको स्पष्ट गरे । 

उनले भने- ‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौँ वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर, दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ । नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । ’