पल एकसाथ कान्छा र रागव बनेपछि…


काठमाडौं ।

नायक पल शाह भोलि शुक्रबारबाट रिलिजमा आउने फिल्म रावायणमा पहिलोपटक नेगेटिभ र पोजेटिभ दुवैथरी भूमिकामा एकसाथ देखिँदैछन्।

लभर ब्वाईको छवि बनाएका पलले रावायणको नेगेटिभ क्यारेक्ट कान्छाका लागि आफूले देखे चिनेका दाइहरूसँग केही समय संगत नै गर्नुपर्‍यो। ‘मलाई गुण्डा स्टाइलले हास्न आउँदैन थियो। त्यसका लागि पूजार सार्कीको सुटिङमा पोखरामा हुँदा देखिरहेका र चिनिरहेका यस्ता दाइहरूसँग हिँडे। २ वर्ष वीरगन्जमा बसेर तराई टिभीमा टेक्निसियनका रुपमा काम गरेकाले र सिराहामा पनि धेरै साथी भएकाले त्यहाँ गइरहने भएकाले तराईको रहनसहन र हाउभाउ मलाई थाहा थियो। साथीका दाइहरू पनि कान्छा जस्तै क्यारेक्टरका थिए। त्यसकारण पनि त्यो क्यारेक्टरमा ढाल्न मलाई असहज भएन’ तर एउटै फिल्ममा नेगेटिभ कान्छा र पोजेटिभ रागव दुई क्यारेक्टर गर्दा भने पललाई गाह्रो भएछ। नायक शाहले सुनाए ‘नेगेटिभ क्यारेक्टर गरेको एकै छिनमा पोजेटिभ क्यारेक्टर गर्दा मुडदेखि गेटअप सबै परिवर्तन गर्नुपर्ने हुन्थ्यो। अर्को क्यारेक्टर भित्र पस्न निकै गाह्रो हुन्थ्यो। फेरि सिंगल फ्रेममा दुईजनाको संवाद हुँदा त्यो जस्तो गाह्रो केही हुँदो रहेन छ। कान्छाले रागवलाई हिर्काउँदा, कुटाइ खाँदा त्यही स्टाइलमा लड्नु पर्यो। फेरी तुरुन्तै रागव बन्नुपर्थ्यो। रागव बनेर कान्छालाई हिर्काउँदा रिस देखाउनुपर्थ्यो।’

निर्देशक सुदर्शन थापाले पललाई रावायणको चरित्र बारे सुनाउँदा शुरुमा गर्न सक्छु र जस्तो भएको रहेछ। बाल्यकालमा हेरेको रामायणको रावण सम्झँदै कलिउयुगको रावण बन्न त्यो क्यारेक्टरको अध्ययन गरेपछि र कान्छा क्यारेक्टरकै लागि वर्कशप गरेपछि भने सहज भएको शाह सुनाउँछन्।

अर्का कलाकार प्रमोद अग्रहरीले यो फिल्ममा आलम नामक क्यारक्टरका साथ मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन्। ‘यो फिल्ममा शुरुमा मैले काल्का क्यारेक्टर गर्ने गरी एग्रिमेन्ट भएको थियो। तर डाइरेक्टर सुदर्शन थापाले त्यो क्यारेक्टर गर्ने कोही पनि क्यारेक्टर मैले भेटिनँ भनेपछि म आलम बन्न सहमत भएँ। मेरो लागि काल्का, आलम अथवा सबै क्यारेक्टर स्क्रिनमा आउँछन् भने पावरफूल नै लाग्छ। चाहे उसको दृश्य एउटा मात्र होस् या फिल्मभरी नै’, प्रमोदले भने।

लभस्टोरीका लागि रुचाइएका निर्देशक सुदर्शन थापाले रावायणमा एक्सन बेस्ड प्रेमकथा पस्केका छन्। ‘म लभस्टोरीको फिल्ममा भुलिरहेको थिएँ। जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन भइरहेको छ, त्यस्तो परिवर्तन म आफ्नो कथामा देखाउन चाहन्थें। नेपालमा प्रेमकथा र कमेडी फिल्म चलेको पनि धेरै समय भइसक्यो। दर्शकलाई फरक स्वाद दिनुपर्छ भन्ने लागेर अहिले एक्सन बेस्ड लभस्टोरी फिल्म बनाएको हुँ’ सुदर्शन भन्छन् ‘हामीले रामायणमा रामको कथा मात्र पढ्यौं, हेर्‍यौ र सुन्यौँ। त्योभित्र रावणको पनि त कथा थियो होला नि। जुन कुरामा हामीले चासो नै दिएनौं। अहिलेको समयमा रावणजस्तो मान्छेको कथा र प्रेम पनि छ भन्ने एंगलबाट यो फिल्म बनाएँ।’

उनी रावायण हेरेपछि रावणप्रतिको दृष्टिकोण परिवर्तन हुने दाबी गर्छन्। ‘रावणबाट यो फिल्म प्रभावित छ। रावण भनेको पुरुषार्थी, शक्तिशाली, ज्ञानी, वैज्ञानिक र सवै चिजबाट भरिपूर्ण व्यक्ति हो। तर रावणले सीतालाई हरण गर्नु नै उसको गल्ती थियो। नत्र त रावणलाई सबैले मानेकै हो नि। रावण आफैंमा नेगेटिभ होइन। रावायण यसकै कथा हो’ सुदर्शन सुनाउँछन्।