राजमति गीत अब नेपाली भर्सनमा


काठमाडौं ।

नेपाल भाषाको कालजयी गीत राजमति कुमती जिकेवस पिरती अब नेपाली भर्सनमा आएको छ। करिब साँढे २ सय वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुँदै पहिलोपटक करिब १ सय १५ वर्ष पहिले भारतको कलकत्तामा औपचारिक रुपमा रेकर्ड गरिएको कालजयी गीत राजमती नेपाली भाषामा पुनः लेखन, संगीत र एरेन्ज गरी बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले राजमतीको नेपाली भर्सन सार्वजनिक गरेका हुन्। नेपालको पहिलो गायक सेतुराम प्रधानले १९६५ सालताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमतीसहित १४ गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए। नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो अवसर पनि यही थियो। यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा तयार पारी सार्वजनिक गरिएको हो।

साढे दुईसय वर्षदेखि आजसम्म उत्तिकै सर्वप्रिय बन्न सफल गीत अझ संसारभरका नेपाली भाषीमाझ पु¥याउने उद्देश्यले नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले जनाएको छ। जनक वाग्लेको संवादबाट शुरु हुने फिल्मी शैलीको गीतको भिडियो सय वर्ष अगाडिको कथावस्तुअनुसार नै तयार पारिएको र सोहीअनुरुप भिडियो निर्माण गरिएको कम्पनीले जनाएको छ।

सागर खनाल र सोनी लगुनका साथमा पवन केसी, प्रचतकुमार खेन, प्रतीक्षा शाह, संगीत अधिकारी, रेश्मा श्रेष्ठ, सुरेन्द्र खड्का, रोमन डंगोल, रोजिना कार्की, सुनयमान श्रेष्ठ, राम गिरी, कृष्णमंगल श्रेष्ठ, रामकृष्ण चौलागाईंलगायतका कलाकारको अभिनय रहेको भिडियोमा कोरियोग्राफी नारायण रिजाल, कन्सेप्ट र निर्देशन पहिलो नेपाली महिला छायाकार सवनम मुखिया, छायांकन दीपक वज्राचार्य र सम्पादन अरुण शर्माको रहेको छ। गीत रश्मी प्याकुरेलले निर्माण गरेकी हुन्।

कार्यक्रममा प्रमुख अतिथि अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली संगीत क्षेत्रमा राजमति निकै महत्वपूर्ण गीत भएको चर्चा गर्दै यस्तो ऐतिहासिक गीतलाई नेपाली भर्सनमा तयार पारिनु राम्रो काम भएको बताए। गीतको भिडियोकी निर्देशक शवनम मुखियाले नेपाल भाषाको लोकप्रिय गीतलाई नेपाली भाषामा ल्याउ“दा कस्तो होला भन्ने कौतुहलता यसको नेपाली भर्सन तयार भएपछि पूरा भएको बताइन्।

कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो। त्यसै गरी पत्रकार विजयरत्न तुलाधरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार र व्यवसायी फुपु तेञ्जिङ शेर्पालाई राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट पुरस्कृत गरिएको छ।