आज इन्द्रजात्राको लिङ्गो लिन जाँदै, व्यवस्थापन समितिलाई भ्याइनभ्याई

940
Shares

काठमाडौं ।

इन्द्रजात्रा आउँनै लाग्दा इन्द्रजात्रा व्यवस्थापन समितिलाई भ्याइनभ्याई छ। विगतको तुलनामा यो वर्ष थप व्यवस्थित बनाउने योजनाका साथ लागिपरेका व्यवस्थापन समितिले एक महिनाअघिबाट तयारी थालेको छ। यो महिनाको आज लिङ्गो लिन गएपछि शुरू भएको मानिन्छ। इन्द्रजात्राको मूल समारोह समितिको अध्यक्ष गौतम शाक्य हुनुहुन्छ।

जात्राको बाहिरी व्यवस्थापन गर्न गणपतिलाल श्रेष्ठको संयोजकत्वमा एक दर्जन उपसमिति कार्यरत छन्। जात्राको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा बाहिरी समितिले लिएको छ । ‘रुट व्यवस्थापनदेखि रथयात्रा हुँदै जात्रा व्यवस्थापन गर्ने जिम्मा हाम्रो काँधमा छ’ –व्यवस्थापन समितिका संयोजक गणपतिलाल श्रेष्ठले भन्नुभयो । उहाँका विगतभन्दा यो वर्ष फरक रूपमा मनाउनेछौं। यो वर्षको इन्द्रजात्रा सांस्कृतिकमय हुनेछ ।

इन्द्रजात्रा व्यवस्थापनमा जुटेका सबैजना काममा व्यस्त भइसकेका छन् । समितिमा ३१ गुठी, ७२ वटा संघसंस्था र ३३ प्रशासनिक कार्यालयले सहयोग गरेको छ । सबै गुठीको आआफ्नै जिम्मेवारी हुनेछ । विशेष गरी गुठी संस्थान, काठमाडौं महानगरपालिका हनुमानढोका कार्यक्रम कार्यालय र समितिले विशेष पहल गरेको छ । जात्रा व्यवस्थापन गर्न सबै निकाय लागिपरेका छन् । यो वर्षको जात्रामा रथयात्रा दिउँसो २ बजेबाट शुरू हुनेछ । जात्रालाई व्यवस्थित गर्न दिउँसो रथयात्रा गर्न लागेको समितिको भनाइ छ ।

विगतमा जस्तै यो वर्ष पनि रकम जुटाउन हरेक वर्ष ताकेता गर्नुपरेको छ । गत वर्ष पनि त्यस्तै भएको थियो । यो वर्ष पनि त्यस्तै अवस्था देखिएको छ । सरकारले इन्द्रजात्रा मनाउन काठमाडौं महानगरपालिकामार्फत् १३ लाख ९२ हजार दिने गरेको छ । ७ वर्षदेखि पाउने गरेको रकम लिन हरेक वर्ष कहिले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय त कहिले महानगरको चाकडी गर्नुपर्ने अवस्था रहेको व्यवस्थापन समितिले जनाएको छ ।

इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले यो वर्ष पनि त्यस्तै अवस्था आएको बताउनुभयो । ‘राष्ट्रिय चाड मनाउन महानगरपालिकाको किन कन्जुस्याइँ गर्छ ?’ –उहाँको प्रश्न थियो । जतिसुकै गुनासो भए पनि यो वर्षको इन्द्रजात्रा भव्य बनाउने तयारीमा समिति लागेको छ । इन्द्रजात्रा व्यवस्थापन कस्तो भइरहेको छ भन्ने विषयमा नेपाल समाचारपत्रले समितिअन्तर्गत उपसमितिका संयोजकसँग गरेको कुराकानी ः

गौतमरत्न शाक्य
संयोजक, व्यवस्थापन समिति

यो वर्षको जात्रा विगतजस्तै भव्य हुनेछ । हामी सबै समिति तयारीमा जुटिसकेका छौं । सबैभन्दा दुःख लाग्दो कुरा यात्रा व्यवस्थापन गर्न विगत ५ वर्षदेखि आर्थिक अभाव भएको छ । यो वर्ष पनि त्यस्तै छ । हेरौं आगामी वर्ष यस्तो नहोला । कामपा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार, गुठी संस्थानलगायत सरोकारवाला निकायले आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । हामी जात्रालाई दिगो बनाउन चाहन्छौं । तैपनि उचित व्यवस्थापन हुन सकेको छैन । हामीलाई राष्ट्रिय पर्वलाई बेवास्ता गरेको जस्तो भान हुन थालेको छ । हामी मुलुककै सांस्कृतिक साख जोगाउन ऋण लिएर भए पनि इन्द्रजात्रालाई भव्य बनाउँछौं । त्यसका लागि मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । महानगरको बजेटमा राखेको छ कहिले रकम आउँछ थाहा छैन ।

गणपतिलाल श्रेष्ठ
संयोजक, रथाजात्रा बाहिरी क्षेत्र व्यवस्थापक

३१ गुठी सहभागी हुने रथयात्रा व्यवस्थापन गर्न सहज छैन । तैपनि विभिन्न ८ वटा समितिको सहयोगमा बाहिरीक्षेत्रको सम्पूर्ण व्यवस्थापन गरिरहेका छौं । बाहिरीक्षेत्र भन्नाले जीवित देवता कुमारी, गणेश र भैरवको पूजा र परम्पराबाहेक सम्पूर्ण जिम्मेवारी मेरै समितिले लिएको छ । जात्रा व्यवस्थापन गर्न समस्या भएपछि तत्काल समाधान गर्न सक्ने क्षमता भएका कारण सहज रूपमा सम्पन्न गर्ने आशा लिएका छौं । जात्राको दुई दिन झोँछेमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छौं । जात्रालाई व्यवस्थित गर्न नेपाल प्रहरी, स्थानीय गुठी, संघसंस्था र सरकारी निकायसँग नियमित सम्पर्क जारी राखेका छांै । समग्रमा हरेक वर्ष व्यवस्थित रूपमा जात्रा सम्पन्न हुँदै गएको छ । यो वर्ष पनि भव्य र सभ्य इन्द्रजात्राको परिचय दिनेछौं ।

दीपकप्रसाद श्रेष्ठ
संयोजक, दशअवतार नाच

दश अवतार नाच सञ्चालन गर्न सबै तयारी पूरा गरेका छौं । जात्रालाई मर्यादित र व्यवस्थित बनाउन सबै प्रकारको तयारी थालेका छौं । रुट व्यवस्थापन शुरू गरेका छौं । सबै गुठीसँग निरन्तर छलफल जारी राखेका छौं । विश्वभर परिचय बनाइसकेको राष्ट्रिय पर्वलाई विशेष रूपमा सञ्चालन गर्न सबै तयारी थालेका छौं । हामीले यो आशा राखेका छौं, यो वर्षको जात्रा भव्य हुनेछ ।

दीपक महर्जन
संघसंस्था व्यवस्थापन

जात्रालाई व्यवस्थित गर्न सबै टोलका संघ संस्थासँग व्यापक छलफल गरेका छौं । सबै संघसंस्थाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । इन्द्रजात्राको दिन रुट व्यवस्थापन गर्न सबै निकायसँग समन्वय गरेका छांै । वैकल्पिक मार्ग प्रयोग गर्ने विषयमा व्यापक छलफल गरेका छौं । शान्ति सुरक्षाको बारेमा सबै तयारी गरेका छौं । यो वर्ष विगतभन्दा समयमै रथ तान्ने भएकाले सो विषयमा जात्राको सहयोगी सबै संघसंस्थासँग निरन्तर छलफल गरेका छौं ।

अमित वज्राचार्य
प्राविधिक, कामपा

इन्द्रजात्रा शुरू हुनुअघि बाटो, सडकबत्ती, टेलिफोन, केवल तारको अवस्थाका बारेमा अध्ययन गरेका थियौं । रथयात्राअघि हरेक वर्ष बाटो र ढल मर्मत गर्नुपर्छ, बिजुलीको पोल, तारको व्यवस्थापन गर्नुपर्छ । कुन दिन कहाँ रथ तानिन्छ सो क्षेत्रको बाटोको अवस्थाबारे जानकारी लिएर तत्काल मर्मत गर्ने मेरो जिम्मेवारी हो । पेशाले म कामपा हनुमानढोका कार्यालयका कर्मचारी हुँ । हरेक वर्ष रथदेखि बाटो मर्मतसम्मको जिम्मेवारी मेरो काँधमा छ, सोहीअनुसार काम अघि बढाएको छु । यो वर्ष रथ तान्ने रुटको बाटोदेखि बत्ती र ढल सबै काम सम्पन्न गरिसकेका छौं ।

बालकृष्ण महर्जन
कुमारीको रथ व्यवस्थापक

कुमारी रथ यात्राको दिनमा रथ व्यवस्थापन गर्न निकै समस्या देखिन्छ । जीवित देवीको रथ यात्राको दिन रथ व्यवस्थापन गर्नु गाह्रो विषय हो । तैपनि व्यवथापन समितिको लगातारको अनुभव र कामले गर्दा समस्या पर्लाजस्तो छैन । हामीले करिब ३ सय स्वंसेवकको घेराभित्र रथ तान्ने व्यवस्था गरेका छांै ।

रवि तण्डुकार
ट्राफिक व्यवस्थापक

इन्द्रजात्राको मूल समस्या ट्राफिक व्यवस्थापन हो । यसलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्ने गरेको छ । तैपनि मेरो लामो समयको अनुभवका कारण यसलाई सामान्य रूपमा लिएका छौं । जात्रा मनाइने सबै टोलटोलमा ट्राफिक रुटका बारेमा जानकारी गराइसकेका छौं । विभिन्न स्थानमा ब्यानर राख्नेछौं । रुटका बारेमा सञ्चारमाध्यममा जानकारी दिनेछौं । तपाईंजस्ता सञ्चारकर्मीले ट्राफिक व्यवस्थापनको बारेमा समाचार सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वास लिएका छांै । जात्राको अवधिभर ट्राफिक व्यवस्थापन गर्न सयौंको संख्यामा स्वयंसेवक र ट्राफिक प्रहरी परिचालित हुनेछन् । विगतको तुलनामा यो वर्ष ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनेछौं ।


इन्द्रजात्राको साइत
–भदौ २० वनयात्रा, बिहान १० बजेर ४७ मिनेट
–वृक्षकर्तन भदौ २० गते राती ८ बजेर २७ मिनेट
–योसी नगरप्रवेश २६ गते बिहान १० बजेर ३२ मिनेट
–इन्द्रध्वजउत्थान ३० भदौ २०८१, बिहान ८ बजेर २६ मिनेट
–३१ गते ५०४ कन्या कुमारी पूजा बिहान ८ बजेदेखि
–असोज १ गते जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा, तल्लोटोल
–२ गते येःन्यां पुन्ही माथिल्लो टोल
–५ गते नानिचा यात्रा बीचको टोल
–५ गते शनिबार राती १० बजेर ३१ मिनेटमा इन्द्रध्वज पतन