अचाक्ली मूल्य वृद्धिले सर्वसाधारणलाई छाक टार्नै धौधौ

सरकारको छैन वास्ता

1.03k
Shares

–चामलमा अत्यधिक मूल्यवृद्धि
–प्याजको मूल्य झन्डै तेब्बर
–आलुमा पनि चरम कालोबजारी

काठमाडौं ।

बजारमा दैनिक उपभोग्यवस्तुको अस्वाभाविक रूपमा मूल्य वृद्धि भइरहेको छ। चर्को मूल्यवृद्धिले उपभोक्ताहरू मारमा पर्र्दै आइरहेका छन्। न्यून आय हुने श्रमिक मजदुरहरूले त बिहान र बेलुकीको छाक टार्नै समस्या परिरहेको भन्दै गुनासो गरिरहेका छन्। यसरी सर्वसाधारणहरू पीडित बनिरहँदा सम्बन्धित सरकारी निकायले भने अचाक्ली मूल्यवृद्धि रोक्न खासै पहल गर्न सकेको देखिँदैन।

सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने खाद्यान्न, खानेतेल र तरकारीजस्ता वस्तुको भाउ बढेपछि कैयौँको जीवनयापन कष्टकर बनिरहँदा सरकार रमिते बनेको छ। बजारमा साउन मसान्तसम्म ९५ रुपियाँमा पाउने स्टिम जिरा मसिनो चामल भदौ महिना ११० रुपियाँ पुगेको छ।

त्यसै गरी प्रतिकेजी तराई चिउरा ९५ को १०५, रहर दाल ३०० को ३२०, काँचो तोरीको तेल २२० को २३०, चिनी ११० को ११५, आँटा ७० को ७५, प्याज ६० को १६०, आलु ५० को ७२, अण्डा प्रतिगोटा १५ को २२ पुगेको छ ।


स्रोतः नेपाल खुद्रा व्यापार संघ

सरकारी अधिकारीहरूले मूल्य नियन्त्रण तथा त्यसलाई स्थिर राख्न प्रयासरत रहेको बताउने गरे पनि तथ्यगत रूपमा भने निष्क्रिय देखिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीले भारतले चामलको आयातमा २० प्रतिशत कर लगाएकाले चामलको मूल्य वृद्धि हुन पुगेको र त्यसलाई घटाउने विषयमा भारतसँग सकारात्मक छलफल भइरहेको बताउनुभयो । उहाँले कूटनीतिक रूपमा भारतसँग भएको छलफल प्रगतिउन्मुख भएकाले चाँडै नै मूल्य घट्न सक्ने बताउनुभयो ।

बजारमा चामल दाल, प्याजजस्ता वस्तुमा मूल्य आकाशिएको छ । जसले गर्दा साधारण उपभोक्तको ढाड सेकिएको छ । आफू साहुको घरमा घरेलु काम गर्ने बताउने शंखमूल बस्ने अम्बिका पौडेलले मूल्यवृद्धिका कारण बाँच्न गाह्रो भएको र अब दशैंमा घर गएपछि उतै बस्ने बताउनुभयो । उहाँले हामी सर्वसाधारण जनताका लागि बोल्ने कोही नभएको र चामल, दाललगायतम अचाक्ली मूल्य बढ्दा घरमा कहिले थोरै खाएर सुत्ने गरेको पीडा व्यक्त गर्नुभयो ।

त्यसै गरी मूल्य बढाउन मुख्य भूमिकामा आयातकर्ता र थोक व्यापारी रहेको खुद्रा व्यापारीले आरोप लगाएका छन् । नेपाल खुद्रा व्यापार संघका अमूलकाजी तुलाधरले मूल्य बढाउन खुद्रा व्यापारीको कुनै भूमिका नरहेको बताउनुभएको छ । उहाँले आयातकर्ता र थोक व्यापारीका कारण मूल्य बढेको बताउनुभयो । तर, नेपाल खाद्य किराना थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने आयातमै मूल्य बढेकाले समस्या भएको बताउनुभयो । उहाँका अनुसार आयातकर्ताले २ देखि ३ प्रतिशत नाफा लिई खाद्यान्न बिक्री गर्ने गरेका छन् ।

अहिले भारतबाट सामान ल्याउँदा सरकारलाई ९ दशमलव ५ प्रतिशत कर तिर्नुपर्ने र दलहनमा भने यस आर्थिक वर्षदेखि सरकारले १० प्रतिशत कर लगाएको छ । चामलमा पनि केही महिनायता प्रतिबोरा ७ सयसम्म मूल्य बढेको छ । जुन भारतको चुनावअगाडि भारतले निर्यात गर्ने चामलमा २० प्रतिशत कर लिएको हुनाले मूल्य बढेको दाबी व्यापारीहरूले गरिरहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी किन चाहियो ?

सरकारले उपभोग्य वस्तुको कालोबजारी र अराजकता नियन्त्रण गर्न भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडजस्ता संस्थामा वर्षेनी करोडौं लगानी गरेको छ । तर, बजारमा मूल्य बढ्दा भने कानमा तेल हालेर बसेको छ। यस्ता संस्थाले नेपाललाई चाहिने खाद्यवस्तु मौज्दात र वितरणमा ध्यान दिन सकेको छैन । सरकारका विभिन्न निकायले अत्यावश्यक वस्तुमा मूल्य वृद्धि, कालोबजारी हुन लाग्दा आफैंले व्यवस्थापन गर्ने गरी प्रभावकारी काम गर्न सकेको छैन ।