निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्नेछ- मुख्यसचिव अर्याल


काठमाडौँ । 

नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाई तथा शुभकामना दिँदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । 

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए ।

अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए । समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वयन एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए । 

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलीकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । 

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्ने बताए । 

परिसंघका उपाध्यक्षद्वय वीरेन्द्र राज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा. घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिए ।