सूर्य नेपालकाे प्रायोजनमा हुने लिटेररी फेस्टिवलप्रति एक्सन नेपालको ध्यानाकर्षण


काठमाडौं ।

साहित्य केन्द्रित कार्यक्रम भनेर सात महिना अगाडी पोखरामा गरिएको नेपाल लिटरेचर फेस्टिवल देखि अब हुने भनिएको काठमाडौं कालिंगा लिटेररी फेस्टिवलको आयोजकले साहित्यकारहरूलाई जनस्वास्थ्यलाई गम्भीर हानी पुर्‍याउने सुर्तीजन्य पदार्थका उत्पादक सामु घुँडा टेकाएका छन् ।

सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले भारतीय राष्ट्र कविले त्यहाँका तत्कालीन प्रधानमन्त्री नेहरुलाई राजनीति र साहित्यकारको सम्बन्ध र साहित्यबीच सम्बन्ध र बलको विषय उद्धृत गर्दै कलिंगा लिटरेरी फेस्टिवलमा नजान आग्रह गरेको छ ।

एक्सन नेपालका कार्यक्रम संयोजक पामिर गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हजारौँ मानिसहरूको ज्यान बचाउने उद्देश्यले ल्याइएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने कानुनको कार्यान्वयनमा सरकार कमजोर देखिएको छ। यसका कारण अपराधी उद्योगहरूलाई आफ्नो गतिविधिहरूलाई तीव्र बनाउन र बढाउन थप सहज भएको छ। कलिंगा लिटेररी फेस्टिवललाई सूर्य नेपालको प्रायोजकत्व त्यही आफ्नो वैधानिकतालाई छाप लगाउने रणनीतिले प्रेरित गरेको कुरामा दुई मत छैन । तर सुर्ती उत्पादकको ब्यानर मुनि बसेर वा बसाएर साहित्यका बहु आयामिक विषयमा छलफल गराउनु वा गरिनु विडम्बनापूर्ण छ’ विज्ञप्तिमा अगाडी भनिएको छ, ‘राजनीति डगमगाउँदा देश र बृहत्तर लोक कल्याणका लागि कलम र आवाज उठाउने साहित्यलाई काठमाडौँ कलिंगा लिटेररी फेस्टिवलका आयोजकले जनस्वास्थ्यमा गम्भीर हानी पुर्‍याउने सुर्तीजन्य पदार्थका उत्पादक सामु घुँडा टेकेका छन् । नाम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरूको ठुलो दबाब र लडाइँपछि बनेका कानुनहरूकै भद्दा मजाक हुने गरी र आफ्नो सामाजिक उत्तरदायित्वको समेत प्रवाह नगरी सुर्तीजन्य पदार्थ उत्पादकको प्रचारका लागि लोगोसहित कार्यक्रम गरिनु हास्यास्पद छ।’

एक्सन नेपालले  यस्तो सुर्ती उद्योगको ब्यानर मुनि कुनै कार्यक्रम आयोजना नगर्न र त्यसमा सामेल नहुन समेत आयोजक तथा सार्वजनिक निकायका व्यक्तित्व, लेखक पत्रकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट संसारमा हरेक वर्ष ८० लाख भन्दा बढी व्यक्तिहरुको ज्यान जाने गरेको छ।

नेपालमा मात्रै यसको प्रयोगका कारण बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी अपराधी उद्योग (सीन इन्ड्रस्टी भनिने गरिएको हो । सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौँको अनुसन्धानहरूले देखाएका छन् ।

यस कारण अधिकांश देशहरूले सुर्ती उद्योगहरुलाई कुनै पनि प्रकारको विज्ञापन प्रवर्द्धन र प्रायोजनमा प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुन र नियमावली तथा निर्देशिकाले यस्तो कार्य गर्न प्रतिबन्ध गरेको छ।