बिदाको दिन ओपीडी सञ्चालन गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति


काठमाडौं ।

नेपाल चिकित्सक संघ (एनएमए)ले बिदाको दिनमा समेत ओपीडी चलाउने सरकारको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा बहिरंग सेवासमेत प्रवाह गर्नुपर्ने निर्णयका विषयमा भाद्र १८ गते विज्ञप्ति निकाल्दै निर्णय अव्यवहारिक तथा अवैज्ञानिक भएको बताएको हो।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले २०८१ भद्र ७ गते स्वास्थ्य मन्त्रलयललाई ‘स्वास्थ्यसम्वन्धी सेवा प्रवाह गर्ने सम्बन्धमा’ २०८० पुस १२ गतेको मन्त्री परिषदको निर्णय तथा २०८० माघ २९ गतेको गृह मन्त्रालयको सुचना उद्घृत गर्दै पत्राचार गरेको थियो।

उक्त पत्रमा भनिएको छ “प्रस्तुत विषयमा संवत् २०८१ सालमा दिइने सार्वजनिक विदासम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८०/९/१२ को निर्णयबमोजिम खण्ड ७३ सङ्ख्या ५४ नेपाल राजपत्र भाग ५ मा मिति २०८०/१०/२९ गते प्रकाशित गृह मन्त्रालयको सूचना १ को प्रकरण १० सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोबमोजिम अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा अब उपरान्त नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम उल्लिखित उपप्रकरण १०.१ को खण्ड (न)बमोजिम सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय, प्रचारप्रसार र अनुगमन गर्ने व्यवस्थाको लागि अनुरोध गर्दछ।‘


यसै बिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत विश्व भन्धु रेग्मीले हस्ताक्षर गरी भाद्र ७ गतेको प्रधानमन्त्री कार्यालयको पत्रलाई उद्घृत गर्दै सम्पूर्ण अस्पतालहरुलाई स्वास्थ्यसम्बन्धी सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनु हुन यस मन्त्रालयको मिति २०८१।०५।१६ को निर्णयानुसार भन्दै भाद्र १६ गते पत्राचार गरिएको थियो।

परिचय शिर्षकको पत्रमा भनिएको “प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च।न। ३२२७७५, मिति २०६१।०५।०७ को पत्रानुसार स्वास्थ्य सम्बन्धी सेवा प्रवाह सम्बन्धमा २०८१ सालमा दिईने सार्वजनिक विदा सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०५०/०९/१२ को निर्णय बमोजिम खण्ड (७३) सङ्ख्या ५४ नेपाल राजपत्र भाग ५ मा मिति २०८०/१०/१२ गते प्रकाशित गृह मन्त्रालयको सूचना १ को प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था)को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सम्बन्धी सेवा ९बहिरङ्ग सेवा समेत० प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोही बमोजिम स्वास्थ्यसम्बन्धी सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनु हुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णयानुसार अनुरोध छ।“

त्यसैगरी भाद्र १७ गते २०८१ सालका बिदाका दिन समेत लेखि ती दिनमा सेवा संचालन गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हस्ताक्षर गर्दै अस्पतालहरुलाई पुनः पत्रचार गरेका छन्। उक्त पत्रमा भनिएको छ “ सर्वसाधारणको सुविधाका लागि माथि उल्लेखित विदाका दिनहरुमा समेत स्वास्थ्य सम्बन्धी सेवा बहिरंग सेवा समेत सञ्चालन गर्नुहुन प्रादेशिक र स्थानीय तहका अस्पताल तथा स्वास्थ्य संस्था लगायत सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ।“

एनएमएले भने उक्त निर्णयको समन्वय, प्रचारप्रसार र अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। महासचिव डा सन्जिब तिवारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरुमा समेत बहिरंग सेवा संचालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौं।‘

अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ। कम दरबन्दी तथा ज्यादै न्यून सुविधामा समेत २०७२ सालको भूकम्प तथा कोभिड १९ महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान जोखिममा राखी अनवरत रूपमा अहोरात्र सेवामा खटेको कुरा सबैलाई अवगत छ, विज्ञप्तिमा भनिएको छ।