सहकारी छानबिन समितिको म्याद १५ दिन थपियो


काठमाडौँ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिंदै थियो ।

मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताएका थिए। काम तीव्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि भदौ २२ गते समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने उनले बताए ।

सहकारी बचतकर्ताको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरुको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएको हुँदा थप समय मागको प्रस्ताव गर्ने भनी समितिको बैठकबाट निर्णय समेत भएकाले १५ दिन समय थप गरिदिन थापाले प्रतिनिधिसभा समक्ष प्रस्ताव राखेका थिए ।