पूजा पत्रकार बनेपछि…


काठमाडौं ।

नायिका पूजा शर्मा आगामी शुक्रबार रिलीजमा आउने आफूद्वारा निर्मित फिल्म रावायणमा पत्रकारको भूमिकामा देखिँदैछिन्। यो भूमिकामा अभिनय गर्दा ‘ओहो बिर्सिसकेछु यार भन्ने फिलिङस्’ आएको पूर्वसञ्चारकर्मी रहेकी उनले बताइन्।

फिल्ममा आउनुअघि एक टेलिभिजनमा सञ्चारकर्म गरिरहेकी पूजा थ्री लभर्सबाट बे्रक पाएपछि सञ्चारकर्मबाट अभिनयतिर मोडिएकी थिइन्। ‘सञ्चारकर्ममा ग्याप करिब १०/१२ वर्ष नै भयो। त्यसैले यो फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा कन्सस भएँ। यस्तो रोलमा काम गर्दा पुरानो सम्झना आउँदो रहेछ। ओहो बिर्सिसकेछु यार भन्ने फिलिङ आउँदो रहेछ’ नायिका शर्मा सुनाउँछिन् ‘यो फिल्म मैले अहिलेसम्म गरिरहेकोभन्दा फरक थियो। म क्यारेक्टरकै लागि नियमित समाचार हेर्थे, को कसरी बोल्छ हेर्थें।’

पूजाका अनुसार रावायणको कथा उनकै कारण बढ्छ। ‘रावायणमा जे जति घटना हुन्छन्, ती सबैको कारण मै हुन्छु। फिल्ममा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौँ’ आफूलाई उत्कृष्ट मेकरका रुपमा अघि बढाउने सोचमा रहेकी उनी भन्छिन् ‘रावायणबाट म कलाकारभन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु। म यसपटक मेकरका रुपमा मात्र फोकस छु। एउटै फिल्ममा कलाकार र निर्माता भएर काम गर्दा डबल प्रेसर हुँदो रहेछ। अर्को पटक कि म कलाकार हुन्छु कि मेकर मात्रै। किनभने कलाकार र निर्माता दुवैको जिम्मेवारी लिँदा फिल्मको सेटमा अभिनय गरिरहे पनि के भयो, कसो भयो भन्ने चिन्ता थपिइरहेको हुन्छ।’

उता कलाकार प्रकाश शाह साङ्लोपछि रावायणमा फरक चरित्रमा देखिँदैछन्। तराई मूलको काल्का चरित्रमा देखिने उनी फरक चरित्र निर्वाह गर्ने चाहना रावायणले पूरा गरेको बताउँछन्। उनका अनुसार काल्का चरित्र कालको पनि काल हो।

‘मलाई प्रमोद अग्रहरी दाईको आलम चरित्रका लागि कुरा गरिएको थियो। स्क्रिप्ट पढेपछि म काल्कामा लोभिएँ। किनकी यो चरित्र जति शक्तिशाली छ, त्यो चरित्र निर्वाह गर्न त्यति नै चुनौतीपूर्ण पनि थियो’ कैलाली, टीकापुरका उनी भन्छन् ‘म पश्चिमको ठकुरी, तर फिल्मको क्यारेक्टर चाहिँ टिपिकल भोजपुरी छ। निर्देशक सुदर्शन थापा दाईसँग सहकार्यको कुराकानीपछि चरित्रकै लागि काठमाडौंबाट वीरगन्ज गइहालें। त्यसपछि थप भाषा बुझ्न परासी निस्किएँ। क्यारेक्टरकै लागि तीन महिनासम्म दाह्रीजुँगा र कपाल काटिनँ। कपाल पनि स्थानीयकै जस्तो बनाएँ। मुख धुने, नुहाउने काम गरिनँ। मेरो जीवन र करियरमा यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा म ढुक्क छु।’

प्रकाश सुटिङपछि समेत काल्का चरित्रबाट बाहिर निस्कन उत्तिकै गाह्रो भएको सुनाउँछन्। ‘फिल्मको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो। मैले हातले मुसेर खाना खान पाएको थिइनं। चम्चीले मात्र खाएको थिएँ। तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनं। पूरै बिरामी भएको थिएँ’ प्रकाशले सुनाए।

फिल्मका छायाँकार सौरभ लामाले रावायणका लागि एक वर्षदेखि तयारी गरेको बताए। उनले दर्शकलाई साउथ फिल्म हेर्ने बानी भएकाले रावायणमा त्यस्तो फ्लेभर दिइएको बताए।

‘अहिले साउथको फिल्म हेर्ने बानी लागेको छ। हामीले नर्मल खिचे जस्तो हुँदैन। नेपालमा नभएको चिजलाई फिल्ममा देखाउनका लागि खिचाईमा नयाँ प्रयोग गर्यौं। मैले यसमा लाइटको एउटा प्याटर्न निकालें। गर्मी मौसममा छायांकन गर्नुपर्ने भएकाले वार्ममा जोनजीको मिक्स गरेर टोन तयार पारें। फिल्ममा पलको डुब्लिकेटको फेस खिच्न झन्डै ३५ वटा क्यामरा प्रयोग गरियो। फेसको मुभमेन्ट खिच्नकै लागि यति धेरै क्यामरा प्रयोग गरिएको थियो’ सौरभ सुनाउँछन् ‘फिल्ममा सबैभन्दा गाह्रो भनेकै एकै पात्रको दुई दृश्य खिच्नु हो। फिल्ममा पल कान्छा र रागव चरित्रमा छन्। उसले रागव हुँदा जे जे गर्यो, कान्छा हुँदा त्यो गर्दैन। उसको डिफरेन्ट मुभमेन्ट खिच्न महंगो क्यामरा पनि प्रयोग गरेका थियौँ। किनभने ऊ हरेक दिन परिवर्तन हुन्थ्यो। सिमिलर राख्न, उसको लुक्स मेन्टेन गर्नलाई मात्रै हामीले अर्को मान्छे राखेका थियौ“। पछि त्यो मान्छे रिमुभ गरेर पललाई नै ज्वाइन गरायौँ। पलको टाउको मात्र काटेर जोड्ने काम गरेका छैनौँ।’

सुदर्शन थापाद्वारा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी, सुहान श्रेष्ठलगायतले अभिनय गरेका छन्।