सांस्कृतिक विद्रोह : युवा पुस्तालाई झस्काइरहने भदौ १८

9.02k
Shares

ललितपुर ।

ललितपुरको रातो मच्छिन्द्रनाथ तान्ने क्रममा पाटनमा कर्फ्यु नै निम्त्याउने गरी झडप भएको भोलि मंगलबारबाट चार वर्ष पूरा हुनेछ। सुरक्षा व्यवस्थापनको हिसाबले केन्द्रीय सरकारलाई समेत चुनौती दिने गरी २०७७ भदौ १८ गते बिहीबार भएको झडप कसैको निम्ति पनि प्रिय थिएन, न पूर्वनियोजित नै थियो। यसले सधैं ललितपुरेलाई झस्काइरहन्छ।

अप्रत्याशित रूपमा घटेको घटनाले समुदायमा धार्मिक, सांस्कृतिक चेतलाई अझ ह्वात्तै बढाइदियो। धार्मिक र सांस्कृतिक विश्वासले गर्दा भेला हुन रोक लगाइएकोलाई सो घटनाले चुनौती दिएको थियो।

सो घटना समुदायको धार्मिक र सांस्कृतिक विश्वासको ठोस अभिव्यक्ति थियो । यद्यपि, यसलाई तत्कालीन अवस्थामा प्रशासनले स्वीकार गरेको थिएन । पछि यसको अन्तरनिहित कारण, सन्दर्भलाई केलाउन थालिएपछि सांस्कृतिक संवेदनशीलताको रूपमा बुझ्ने र बुझाउने जनमत बलियो बन्दै गएको थियो । त्यसमा विशेष सामाजिक सञ्जालमार्फत् जात्रा, पर्व र संस्कृतिको प्रवर्द्धन गर्ने युवा अभियन्ता जमातको सशक्त भूमिका रहेको थियो । उनीहरू यस घटनालाई युवापुस्ताको सांस्कृतिक विद्रोहका रूपमा स्मरण गर्न रुचाउँछन् ।

त्यो घटनाले गर्दा चार वर्षयता प्रहरी, प्रशासन, गुठी संस्थानले आआफ्नो भूमिकामा समुदायको धार्मिक, सांस्कृतिक संवेदनशीलतालाई बढीभन्दा बढी मुखरित गर्दै लगेका छन् । समुदायस्तरमा पनि यसका असर विविध स्वरूपमा देखा पर्दै गएको विषय अझै पनि चर्चा परिचर्चाको विषय बनिरहेको छ ।

घटनाको कारण र असरलाई केलाउँदै प्रशासन संयन्त्र र समुदायले त्यसबाट सिकेको सिकाइ लागू गर्ने दायरा रथयात्राको विषयमा मात्र सीमित छैन । ललितपुरमा हुने विभिन्न धार्मिक, सांस्कृतिक पर्व, जात्रामा पनि समुदायको चिन्ता, चासोप्रति गम्भीरता देखाउँदै लगेको त्यति बेलाको घटनालाई नजिकबाट नियाल्नेहरूको बुझाइ रहेको छ ।

सरोकारवालाले समुदायको धार्मिक र सांस्कृतिक सरोकारलाई बेवास्ता गरेमा जनता चुप लागेर बस्दैनन् भन्ने सन्देश प्रवाह गरेको अभियन्ता पृथबिन्दु महर्जनले बताउनुभयो । झडपपछि प्रहरीले नियन्त्रणमा लिएका अभियन्ता महर्जनलाई आठौं दिनमा रिहाइ गरिएको थियो । अभियन्ता महर्जनले भन्नुभयो– ‘युवावर्गको संघर्ष, प्रदर्शनले, जात्रा, पर्व सञ्चालन गर्ने, व्यवस्थापनमा खटिने जोकोही भए पनि जनताप्रति जवाफेदही र उत्तरदायी हुनुपर्दछ भन्ने बोध गराएको छ । यो एउटा किसिमको सांस्कृतिक विद्रोह भने पनि हुन्छ ।’

त्यही दिन बिहान ११ बजे रथयात्राको बारेमा निर्णय गर्न सरोकारवालासहित गुठी संस्थान केन्द्रीय कार्यालयमा अन्तिमपटक निर्णायक बैठक बस्ने तय भएको थियो । सरोकारवालालाई दबाब दिने उद्देश्यले अभियन्ता महर्जनको अगुवाइमा पुल्चोकमा मच्छिन्द्रनाथको रथ सामुन्ने शान्तिपूर्ण धर्ना कार्यक्रम चलिरहेको थियो । सामाजिक सञ्जालको माध्यमबाट त्यसको जानकारी पाएर स्वस्फूर्त रूपमा ती युवाहरू त्यहाँ जम्मा भएका थिए । गुठी संस्थानमा बिहान ११ बजे बोलाइएको बैठक पनि १ बजेको लागि स¥यो भन्ने सूचना आउनेबितिक्कै धर्नामा भेला भएका युवावर्गको सरोकारवालाप्रति भरोसा टुटेको थियो । पटकपटक बैठक बस्ने अनि निर्णय नगर्ने स्थितिले हैरानी भएका युवाहरू अन्तिम निर्णायक भनेर बोलाइएको बैठक पनि निर्णायक नभएपछि आक्रोशित हुँदै रथ तान्न शुरू गरेका थिए ।

रथ तान्ने खोजेको भिडियो सामाजिक सञ्जालबाट धमाधम लाइभ गरिएपछि करिब आधा घण्टा अवधिमा हजारौं युवाहरू स्वस्र्फूत रूपमा रथ तान्न पुल्चोकमा आएका थिए। त्यसको दुई घण्टापछि प्रहरीसँग झडप भएको थियो । जनजीवन पूरै तनावग्रस्त बनेलगत्तै त्यसको भोलिपल्ट शुक्रवार कफ्र्यू हुने आदेश जारी गरिएको थियो। प्रशासनले एक सातासम्म रथवरपर निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले लकडाउनको समयमा सयौं मानिसहरूको भीडकाबीच रथ तान्ने संलग्न हुनेलाई अराजक, उच्छश्रृंखल तत्वको संज्ञा दिएको थियो।

रथ तान्नुपूर्व गर्नुपर्ने धार्मिक विधिविधान नगरी रथ तानिएकोमा आपत्ति जनाउनेहरूको दृष्टिमा रथ तान्नेहरूलाई अराजक ठहरिएको थियो। त्यसले गर्दा २०७७ भदौ १९ गते शुक्रवार कफ्र्यूको दिन प्रहरीले रथ तान्ने युवाहरूलाई घरघरमै गएर धरपडक गरेको थियो। यस क्रममा अभियन्ताहरू यादवलाल कायस्थ, रवि शाक्य, असोज महर्जन, रविन शाक्यलगायत एक दर्जनभन्दा बढी अभियन्तालाई पक्राउ गरिएको थियो।

सांस्कृतिक अभियन्तालाई पक्राउ गरिएको भन्दै जनस्तरबाट व्यापक दबाब प्रदर्शनपछि प्रहरीले तारिखमा रिहा गरेको थियो। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६६ अन्तर्गत राष्ट्रसेवकलाई गैरकानुनी भेला रोक्न काम गर्दा बाधा अवरोध गरेको आधारमा मुद्दा चलाइएको थियो ।

‘बरु कोरोना महामारी बिर्सिसकेको होला । त्यो झडपपछि तरङ्ग अझै बिर्सिएका छैनन् । त्यसलाई बिर्सिनु पनि हुन्न । कोरोना महामारी त्यसमाथि लकडाउनको समेत परबाह नगरी सामाजिक सञ्जालका माध्यमबाट सयौं मानिसहरू पुल्चोकमा किन आएका थिए भन्ने प्रश्नको उत्तरभित्र परम्परादेखि चल्दै आएको धार्मिक, सांस्कृतिक परम्पराप्रतिको आस्था निहित रहने छ । त्यस भावनालाई कतै खेलवाड पो गर्न लागेको हो कि भनेर संशय सामाजिक सञ्जालमार्फत् छताछुल्ल भइरहँदा पनि निर्णयकर्ताहरूले त्यसलाई आश्वस्त तुल्याउनसमेत आवश्यकता नठान्नु नै त्यो घटनाको अन्तरनिहित कारण हुन्’ –त्यस घटनालाई नजिकबाट नियालेका अधिवक्ता राजु शाक्यले भन्नुभयो ।

लकडाउनको समयमा कोरोना महामारी नियन्त्रणको शर्तमा प्रशासनले नागरिक स्वतन्त्रतासमेत केही बन्देज लगाएको थियो। त्यसले गर्दा रातो मच्छिन्द्रनाथको महास्नानदेखि रथारोहणको सम्मको प्रक्रियामा प्रशासनको निर्णायक भूमिका थियो। परम्परामा बढी नै प्रशासनीकरण भएको महसुस गरिएको थियो। कतिपय सरकारी निकायहरूले यसलाई सहज रूपमा लिएका थिए भने कतिले दोहोरो भूमिका निर्वाह गरेका थिए।

स्थानीय तह गैर जिम्मेवार देखिएका थिए। त्यसप्रति सम्बद्ध गुठीयारहरूलाई पटक्कै चित्त बुझेको थिएन। यही अवस्थाका बीच महिनौं दिनसम्म चलिरह्यो । तर, रथयात्राको सम्बन्धमा झडप हुनुअघिसम्म रथयात्राको बारेमा ठोस निर्णय आउने प्रतिक्षामा थिए । कतैबाट निर्णय नआएपछि स्वस्फूर्त रथ तान्ने घटनाले आफ्नो धार्मिक विश्वास, परम्परा, सांस्कृतिक भावनामाथि कुल्चिँदा चुप लागेर बस्दैनन् भन्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको अभियन्ता रवि शाक्यको भनाइ रहेको छ ।

गुठी संस्थान, रथ निर्माणदेखि लिएर, मच्छिन्द्रनाथको महास्नान, रथारोहण, रथ तान्ने सबै कार्यमा स्रोत, साधन, जनशक्तिको परिचालन र व्यवस्थापनमा भूमिका निर्वाह गर्ने राज्यको इकाइ हो । तत्कालीन समयमा घटेको त्यो घटनाले यी कार्यमा संस्थानलाई अझ गम्भीर र थप जिम्मेवार बनाएको संस्थानका पूर्वप्रशासक किरण शाक्यले बताउनुभयो । धार्मिक, सांस्कृतिक कार्यका माध्यमबाट संस्थान र समुदायको भावनासँग कति गहिरो गरी जोडिएका रहेछौं भन्ने फेरि एकचोटि संघन रूपमा महसुस गराएको संस्थानको निर्वतमान प्रशासक शाक्यको भनाइ रहेको छ ।

त्यो घटनापछि गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । चार वर्षयता रथयात्राको समयमा सुरक्षा चुनौतीलाई ध्यानमा राखेर जिल्ला प्रहरी परिसरले सुरक्षा योजना तयार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै आएको प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिनुभयो । ‘त्यसका साथै सरोकारवाला, गुठीयारबीच समन्वय र छलफललाई उच्च प्राथमिकता दिँदै आएका छौैं । समुदायको धार्मिक विश्वास र परम्पराप्रअति अपनत्वलाई उच्च सम्मान गर्दै आएका छौं’ –परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक खनालले भन्नुभयो ।

त्यो घटनाको सिकाइको रूपमा चार वर्षपछि नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी साझा संयन्त्रण निर्माण भएको छ। विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाई क्रियाशील ती संगठनहरूको संस्थागत प्रतिनिधिमूलक संगठनको रूपमा यल नेवाः समाजको स्थापना गरिएको हो।

झडपको घटनापछि ती संगठनलाई आआफ्नो परम्परागत जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, सँगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराइदिएको समाजका अध्यक्ष विनोद ताम्रकारले बताउनुभयो। ‘झडप नकारात्मक घटना हो। यसले समुदायमा अझ एकताको भाव बनाउन उत्प्रेरित गर्नु सकारात्मक उपलब्धि हुन्’ – अध्यक्ष ताम्रकारले भन्नुभयो ।