कांग्रेस केन्द्रीय समिति बैठक : सभापति देउवामाथि झड्का, गठबन्धनप्रति टिप्पणी

3.38k
Shares

काठमाडौं ।

आगामी ०८४ को चुनावी सरकारको नेतृत्व गर्नेगरी नेकपा एमालेसँग सत्ता सहकार्य गर्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले झड्का दिनुभएको छ।

पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले गत असार १७ को सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीपछि बन्ने कांग्रेस नेतृत्वको सरकारमा आफू नगई अरू कोही नेतालाई पठाउन प्रस्ताव गरेर देउवामाथि झड्का लगाउनुभएको हो। ज्योतिषको भविष्यवाणीअनुसार पनि सातपटक प्रधानमन्त्री हुनुपर्ने नेता देउवा पाँचपटकमात्रै प्रधानमन्त्री बन्नुभएको व्यक्ति हो।


गत असार १७ को मध्यरातमा भएको नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहयात्राको सहमतिअनुसार दुई वर्षपछि आफैंले सरकारको नेतृत्व गर्नेगरी एमालेलाई सहयोग गर्नुभएका देउवाको विपक्षमा आएको उक्त प्रस्तावले पार्टीभित्र तरंग उत्पन्न भएको छ। यद्यपि, देउवा र उहाँ निकटस्थ नेताहरूले यसलाई स्वीकार गर्न सक्ने अवस्था छैन।

महामन्त्री शर्माको एक्जिट पोलिसी अनुसार दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटकभन्दा बढी सांसद बन्ने नपाउने व्यवस्था पार्टीमा लागू गर्ने प्रस्ताव अघि सार्नुभएको थियो । उक्त प्रस्ताव केन्द्रीय समितिको बहुमतले अस्वीकृत भएपछि यो विषयलाई संविधान संशोधनकै बेला फेरि छलफलमा ल्याउनेगरी पछि हटाइएको महामन्त्री शर्मा निकटका नेताहरूले बताएका छन्।

उहाँको प्रस्ताव हटाए पनि नेता शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– ‘एमालेसँगको ७ बुँदे समझदारीबमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले एकताबद्ध भएर साथ दिनुपर्छ। तर, त्यसपछि सभापति देउवाले आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउनुपर्छ त्यसको तयारी गर्नुस् ।’

महामन्त्री शर्माले केही नेताहरूको नामै लिएर यसअघि भन्नुभयो– ‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरू प्रतिनिधिसभामा हुनुहुन्छ, जो अनुभवी र दक्ष पनि हुनुहुन्छ। डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री प्रस्ताव गर्न सकिन्छ।’ उहाँहरूमध्ये कसैलाई पनि प्रधानमन्त्री बनाउने हो भने सभापतिको त्याग पनि देखिने र समकालीन नेतालाई न्याय र कदर हुने उहाँको तर्क छ।

यसले ०८४ पछि नयाँ अनुहारलाई अवसर आउने शर्माले बताउनुभयो । नित्यकर्म र त्याग जोडिँदा मात्रै राजनेता हुने उल्लेख गर्दै महामन्त्री शर्माले अरू सबै गरिसकेको अब त्याग गर्न बाँकी रहेको बताउनुभयो । ‘देउवाको नेतृत्वमा–कमैया मुक्ति, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद् विघटनविरुद्ध आन्दोलन भए सफलता हासिल भयो’, शर्माले थप्नुभयो– ‘यी सबै कर्मका लागि उहाँले प्रशंसा र बधाई पाउनुपर्छ ।’ तर, उहाँको तर्कप्रति संस्थापन पक्षका अधिकांश नेताहरूले टिप्पणी गरेका छन् ।

अर्का महामन्त्री गगन थापाको चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव भने पारित भएको छ । चुनावी गठबन्धन नगरी आफ्नै शक्तिमा चुनाव लडेर पहिलो पार्टी बनाउनेगरी सांगठनिक गतिविधि गर्नुपर्ने, भ्रष्टाचारका कसैलाई छुट नदिने, आम नागरिकका पक्षमा काम गर्ने गरी पार्टी अघि बढ्नुपर्ने उहाँको प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको थापाका स्वकीय सचिव सविन मुडभरीले जानकारी दिनुभयो । यद्यपि, पार्टी सभापति देउवा भने यो विषयमा पनि मौन हुनुहुन्छ । उहाँले समानुपातिक व्यवस्था रहुन्जेल कुनै दलको बहुमत आउने अवस्था नरहेकाले कोही न कोही पार्टीसँग चुनावी तालमेल गर्न सकिने कुरालाई राजनीतिक छलफलकै एजेन्डाभित्र राख्नुभएको छ । उहाँले समानुपातिक समावेशी व्यवस्था रहेसम्म एकल पार्टी बहुमत आउन नसक्ने बताउनुभयो।

सोही कारण कोही न कोही दलसँग मिलेर गठबन्धन बनाउनुको विकल्प नभएको बैठकमा स्पष्ट पार्दै सभापति देउवाले भन्नुभयो– ‘समानुपातिक निर्वाचन प्रणाली रहिरहेको यो अवस्थामा कुनै पनि पार्टीको बहुमत आउने छैन । अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’ सभापति देउवाले वर्तमान सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको भन्दैै वर्तमान गठबन्धनको विपक्षमा नलाग्न पनि अनुरोध गर्नुभएको छ ।

पार्टी बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)सँग मिलेर सरकार बनाउँदा कांग्रेसका लागि चुनौती थपिएको टिप्पणी गर्नुभएको थियो । त्यसमा पनि सभापति देउवाले गठबन्धनको विपक्षका नलाग्ने निर्देशन दिनुभएको छ। कांग्रेसकै सहयोगमा बनेको ओली नेतृत्व सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले २०८४ को निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पार्टीले जोखिम उठाएपछि आफूहरू खुकुरीको धारमाथि यात्रा गरिरहेको बताउनुभएको थियो।

सभापति देउवाले त्यसको खण्डन गर्दै प्रधानमन्त्री ओलीकोे प्रशंसा गर्नुभयो । बैठकमा बोल्दै देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै भन्नुभएको थियो–‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भन्नुभयो–‘दुःख गरेको राम्रो मान्छे हो उहाँ ।’